Comments Add Comment

रोजगारीका लागि ठूला उद्योग स्थापनाको आवश्यकता : गणेश तिमिल्सिना

१५ माघ, बुटवल । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले देशमै उत्पादन वृद्धि गरी रोजगारी सृजना गर्नुपर्ने बताएका छन् । उनले उत्पादन वृद्धिको लागि ठूला-ठूला उद्योगको स्थापना गर्न आवश्यक रहेको बताए ।

रुपन्देहीको देवदह व्यापार संघको छैठौं राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको बुधबार उद्घाटन गर्दै उनले रोजगारी सिर्जनाका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले लुम्बिनी विकास कोषले लुम्बिनीको मात्र भन्दा पनि बुद्धसँग सम्वन्धित ऐतिहासिक स्थलहरुको एकीकृत विकास गर्नुपर्ने बताए ।

लुम्बिनी विकास कोषले गौतम बुद्धको मावली स्थल देवदह, कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम लगायतका स्थलहरुको उत्खनन, संरक्षण र प्रवद्र्धन गरी आन्तरिक तथा वाह्य पर्यटन भित्र्याउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

छायामा रहेको देवदहको समग्र विकासको लागि तीनै तहका सरकारले ध्यान दिनु पर्ने भन्दै उनले लुम्बिनी आएका पर्यटकलाई देवदह आउने वातावरण बनाउनु पर्ने बताए ।

नेपाली कांग्रेस प्रदेश ५  का सेचतक निर्मला क्षेत्रीले देवदहको विकासका लागि सरकारको ध्यान नपुगेको बताइन् ।

देवदह ऐतिहासिक हिसावले पनि महत्वपूर्ण रहेकोले कृषि, पर्यटन र उद्योगको विकासका लागि पहल गर्ने उनले बताइन् ।

प्रदेशसभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

व्यापार संघ तथा छैठो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव मूलआयोजक समितिका अध्यक्ष कोषबहादुर गुरुङ्गले मेलालाइ सबैको साथ जरुरी रहेको बताए ।

कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, व्यापार संघ देवदहका अध्यक्ष गणेश खाती लगायतले बोलेका थिए । मेला शुभारम्भ अघि देवदहको खैरेनी देखि र्‍यालीको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment