Comments Add Comment

‘मनाङको परफेक्ट म्याच’

१५ माघ, काठमाडौं ।  मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता अनि संकटा क्लब साविक उपविजेता । बुधबार एन्फा कम्प्लेक्समा यी दुईबीचको खेल भयो । मनाङ संकटालाई हराउँदै उपाधि रक्षा अभियान बलियो बनाउन चाहन्थ्यो । संकटा मनाङलाई रोक्दै अंक तालिकामा सुधार गर्न चाहन्थ्यो ।

तर एउटा टिमको मात्र लक्ष्य पूरा भयो । मनाङले ३-० को शानदार स्कोरमा खेल जित्यो अनि ३ अंक जोड्दै उपाधि होड बलियो बनायो ।

एन्फा कम्प्लेक्सको एस्टो टर्फमा भएको खेलमा मनाङले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गर्‍यो । खेल अवधीभर मनाङले संकटामाथि दबाब समेत बनाएको थियो । संकटाले पनि केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । मनाङले पहिलो हाफमा दुई मिनेटमा दुई गोल गरेको थियो ।

४२ औं मिनेटमा मनाङका अन्जन विष्टको प्रहार रोक्न खोज्दा संकटाका अमित तामाङले आत्मघाती गोल गरे । त्यसको अर्को मिनेटमा अन्जनले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे । दोस्रो हाफमा मनाङका लागि निशान सुब्बाले एक गोल थपे ।

यस सिजनको पाँचौ जितपछि मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले यो लिगकै उत्कृष्ट खेल भएको प्रतिक्रिया दिए । ‘आज एकदमै परफेक्ट म्याच भयो । हामीले ८ खेलपछि भनेको जस्तै म्याच खेल्यौँ हरेक एंगलबाट’ प्रजापतिले भने । उनले एन्फा कम्प्लेक्सकै मैदानमा प्रशिक्षण गर्न पाएको भए अझ राम्रो हुने बताए । मनाङे त्यो मैदानमा एक दिन मात्र प्रशिक्षण गरेको उनको भनाइ थियो ।

यो जितपछि मनाङलाई उपाधि रक्षा अभियानमा धेरै फाइदा पुग्ने उनले बताए । ‘यसले सहयोग गर्छ । खेलाडीहरुलाई मोटिभेट हुन्छ’ प्रजापतिले भने ‘हामी डाउन हुनुभएन । अझ राम्रो खेल्नुपर्छ । अझै म्याच छ । जित्नेगरी खेल्नुपर्छ ।’

यस सिजन अपराजित रहने एक्लो टिम बनेको मनाङले ९ खेल खेल्दा पाँच खेल जितेको छ भने ४ खेल बराबरी गरेको छ । ९ खेलबाट १९ अंक जोडेको मनाङले शीर्ष स्थानमा त्रिभुवन आर्मीसंग अंकदूरी १ मा झारेको छ ।  मनाङले पराजित गरिसकेको बर्मीले यस सिजन ६ खेल जित्दा २ खेल बराबरी गरेको थियो । आर्मीको एउटै मात्र हार मनाङसंग नै थियो ।

उता संकटाका प्रशिक्षक विजय महर्जनले दुई मिनेटमा दुई गोल खानुनै दुर्भाग्य भएको बताए । ‘४० मिनेटसम्म हामीले राम्रो खेलिरहेको थियौँ । त्यसपछिको ५ मिनेटमा दुई गोल भयो । त्यही नै हाम्रो लागि ब्याडलक भयो’ महर्जनले भने ‘हामी मानसिक रुपमा डिस्टर्ब भयौँ । २ गोल खानु नै खेलको टर्निङ प्वाइन्ट भयो । चाँडै दुई गोल भयो र घाटा लाग्यो ।’

उनले आगामी खेलहरुमा अब राम्रो खेल्ने प्रयास गर्ने बताए । ‘हामी आउने खेलमा कडा प्रतिस्पर्धा गर्नेछौँ । खेल्न आएपछि राम्रो खेल्नुपर्छ’ उनले भने ।

गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो भएको संकटाले यस सिजन सोही लय देखाउन सकेको छैन । ९ खेलबाट ३ जित ३ बराबरी र ३ हारको नतिजासहित संकटा १२ अंक जोडेर नवौं स्थानमा छ । समान अंक भएपनि एनबरटी र जावलाखेल संकटाभन्दा अगाडि छ ।

तस्वीर : आर्यन धिमाल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment