Comments Add Comment

सुर्खेत घटनामा टिपरधनीविरुद्ध किटानी जाहेरी दिने तयारी

१५ माघ, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर–४ मा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि उत्पन्न तनाव टिपरधनीविरुद्ध किटानी जाहेरी दिने सहमतिपछि साम्य भएको छ ।

पहिलो पटक ठक्कर दिँदा हात भाँचिएर सडकमा लडेका महावै गाउँपालिका–३ का २० वर्षीय केशवबहादुर सिंहलाई टिपर पछाडि सारेर हत्या गरिएको दाबी गर्दै परिवारले किटानी जाहेरी दिने तयारी गरेको हो ।

यद्यपि, जाहेरी कुन कसूरमा दिने भन्ने निर्क्यौल भइसकेको छैन ।

पीडित परिवार संघर्ष समितिका संयोजक राजन सिंहले भनेका छन्, ‘टिपर ब्याक गरेर २० मिटरबाट लछारी टिपर मालिकको प्रत्यक्ष निर्देशनमा क्रुरतापूर्ण तरिकाले किचेर हत्या गरिएको छ ।’

यो विषय प्रहरी अनुसन्धानले भने पुष्टि गरिसकेको छैन । मंगलबार घटना भएदेखि नै प्रदर्शन जारी रहेकाले अनुसन्धानले गति पाउन नसकेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ ।

बुधबार भएको प्रशासनसँग भएको छलफलमा पीडितले सवारीधनीलाई बोलाउन माग गरेका थिए । तर, सवारीधनी हरि विसी मोबाइल ‘स्वीच अफ’ गरेर सम्पर्कविहीन बनेको अधिकृतहरुको भनाइ छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी पनि भन्छन्, ‘पीडितको माग अनुसार हामीले उहाँलाई बोलाउन खोजेका हौं । तर, उहाँ आउनुभएन । व्यवसायी संघबाट आउनुभयो ।’

विसी छलफलमा उपस्थित नभएपछि परिवारले जाहेरी दिने निष्कर्षसहित संघर्षलाई शान्तिपूर्ण बनाउने सहमति गरेको अधिकारीले पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘सहमतिअनुसार उहाँहरुले यरी चोकमा शान्तिपूर्ण जुलुस निकालेर कोणसभा गर्नुभयो ।’

साथै, संघर्ष समितिले बिहीबार सुर्खेत बन्द गर्ने पनि घोषणा गरेको छ ।

सिंहको मृत्युपछि झडप हुँदा नेपाल प्रहरीका २२, सशस्त्र प्रहरीका ३ जवान र ८ जना सर्वसाधारण घाइते छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्यास प्रहार गरे पनि स्थिति नियन्त्रणमा आएन । त्यसपछि प्रशासनले बुधबार बिहानसम्म कर्फ्यू आदेश नै जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment