Comments Add Comment

निकुञ्ज क्षेत्रको भूमिगत विद्युत लाइनमा फेरि पनि समस्या, माडीमा बिजुली बन्द

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको भूमिगत विद्युत लाइन मर्मत गर्दै कर्मचारीहरु । फाइल फोटो

१६ माघ, चितवन । चितवनको माडी नगरपालिका क्षेत्रमा गएरातिदेखि फेरि विद्युत सेवा अवरुद्ध भएको छ । माडीमा विद्युतीकरणका लागि राष्ट्रिय निकुञ्ज क्षेत्रमा बिछ्याइएको भूमिगत लाइनमा समस्या आएपछि विद्युत सेवा बन्द भएको विद्युत प्राधिकरण चनौली सबस्टेशनले जनाएको छ ।

विद्युत लाइन सप्लाइमा अवरोध भएको ठाउँको पहिचान र मर्मतका लागि टोली खटिएको चनौली सबस्टेशनका प्रमुख शिशिर पौडेलले अनलाइनखबरलाई जानकारी दिए । सोमबार पनि भूमिगत लाइनमा समस्या आउँदा माडीमा विद्युत सेवा बन्द भएको थियो । ‘बनाएर आएको एक दिन नहुँदै फेरि समस्या देखियो,’ प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख पौडेलले भने, ‘फल्ट लोकेसन गर्ने मेशिन लिएर जंगल जाँदै छौं, निकुञ्ज, सेनालगायत सबैको सहमति लिएर काम गर्नुपर्ने हुन्छ ।’

माडीमा विद्युत लैजान चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युत लाइन भूमिगत गरिएको छ । त्यसको सात ठाउँमा ज्वाइन्टहरू छन् । ती ठाउँहरुमा नै पटक-पटक समस्या आउने गरेको छ । पटक-पटक विद्युत अवरुद्ध हुँदा माडीका जनताका साथै प्राधिकरणका कर्मचारीहरुले समेत सास्ती भोग्दै आएका छन् ।

‘अहिले त हामीसँग नै फल्ट लोकेट गर्ने मेशिन आएको छ, पहिला त भारतबाट ल्याउनुपर्ने अवस्था थियो, कयौं दिन लाग्थ्यो,’ कार्यालय प्रमुख पौडेलले भने, ‘फल्ट लोकेट गर्ने मेशिनले पनि लामो दूरीमा एक्युरेसी कम हुँदा अलि समस्या हुँदो रहेछ ।’

समस्या पत्ता लागेमा तीन घण्टामा नै विद्युत सप्लाई गर्न सकिने उनले बताए । सोनामिटरको सहायता तथा उच्च भोल्ट पठाएर समेत समस्या पत्ता लगाउन सकिन्छ ।

भूमिगत लाइन विछ्याउँदा नै त्रुटि भएका कारण पटकपटक विद्युत सेवा अवरुद्ध हुने गरेको प्राधिकरणका कर्मचारी बताउँछन् । यसअघि चितवन राष्ट्रिय निकुञ्जले समेत प्राधिकरण कार्यालयसँग भूमिगत विद्युत प्रणाली असफल बन्नुको कारण माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment