Comments Add Comment

प्रदेश २ मा सशस्त्रका १९ वटा बीओपी थपिँदै

ठाउँ नपाउँदा स्थापनामा समस्या

१६ माघ, वीरगञ्ज । सशस्त्र प्रहरीले सीमा सुरक्षा बल थप्ने तयारी गरिरहेको छ । जसअन्तर्गत बाराको दक्षिण झिटकैया, धनुषाको जनक नन्दिनी गाउँपालिका-१ इनर्वामा सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट ‘बीओपी’) स्थापना भइसकेको छ ।

पर्साको मिर्जापुर, बाराको बेनौली, सप्तरीमा बोधेबसाईन लगायत अन्य १५ स्थानमा बीओपी स्थापना गर्ने तयारी भइरहेको छ । तर सशस्त्र प्रहरीले उचित स्थान पाउन सकेको छैन ।

बाँकी बीओपी स्थापनाका लागि स्थानीय तहसँग समन्वय भइरहेको बाहिनीमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले जानकारी दिए ।

‘प्रदेशको विभिन्न जिल्लामा १९ वटा बीओपी थप्न लागिएको हो २ वटा स्थापना भइसकेको छ, पर्सालगायतका जिल्लाबाट ठाउँ भेटिएन भन्ने कुरा आएको छ,’ डीएसपी खड्कालेे भने, ‘सरोकारवाला निकायसँग समन्वय गरेर बाँकी पनि छिट्टै स्थापना गर्छौ ।’

भारतसँग ४ सय ६४ कि.मी. खुल्ला सिमाना भएको प्रदेश नं २ मा यसअघि ५० वटा बीओपी छन् । १९ वटा थप्ने तयारी सशस्त्र प्रहरीले गरेको छ । प्रतिबीओपी ६.७२ कि.मी. क्षेत्रको जिम्मेवारी हुँदा सीमा सुरक्षामा अझ प्रभावकारिता आउने बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याल बताउँछन् ।

उनले प्रदेश नं २ मा सीमा तथा सीमा स्तम्भहरुको सुरक्षा, सीमा क्षेत्रहरुमा हुने अबैध चोरी, निकासी, तस्करी र अबैध हातहतियार तथा लागूऔषध ओसारपसार नियन्त्रणसँगै शान्ति सुरक्षालाई प्राथमिकतामा राखी काम भइरहेको र उपलब्धि पनि हाँसिल भएको दाबी गरे ।

उनले भने, ‘बर्दीधारी सुरक्षाकर्मी र विनाबर्दीका नागरिकवीचको सम्बन्धमा सुधार नआइकन सीमा सुरक्षा, अपराध नियन्त्रण एवं रोकथाम गर्न सकिन्न । त्यसैले हामीले आन्तरिक शुद्धीकरणमा जोड दिएका छौं ।’

‘नो म्यानस ल्याण्ड’ बाट घर टहरा हटाइयो’ 

सशस्त्र प्रहरीले दशगजा (नो म्यानस ल्याण्ड) पहिचान अभियान अन्तर्गत रौतहटमा ३२ किलो मिटर दशगजा खाली गरेको छ । भारतीय सशस्त्र सीमा बलसँगको सहकार्य र समन्वयमा दशगजामा रहेका घर, टहरा खेती आदि हटाइको हो ।

नमूना सफा दशगजा बनाउने उद्देश्यले बारा मटिअर्वाको दशगजा क्षेत्रमा निर्माण गरिएका १९ वटा घर टहरा हटाईएको सशस्त्र प्रहरी बल प्रदेश २ बाहिनीले जनाएको छ ।

त्यसैगरी बेचबिखनका लागि भारततर्फ लैजाँदै गर्दा १५ जना महिला तथा केटाकेटीलाई उद्धार गर्नुको साथै उक्त कार्यमा संलग्न ९ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

६ महिनामा २१ करोडको समान बरामद

सशस्त्र प्रहरीले प्रदेश २ बाट ६ महिनामा २१ करोडभन्दा बढीको अबैध समान बरामद गरेको छ ।

सशस्त्र प्रहरीको २ छिन्नमस्ता बाहिनी र मातहत कार्यालयले आर्थिक वर्ष ०७६/७७ को साउनदेखि पुससम्ममा २१ करोड २२ लाख ६ हजार २ सय ८२ रुपैयाँको अवैध समान बरामद गरेको हो ।

कार्यालयले दिएको जानकारी अनुसार ६ महिनामा ११ लाख ४५ हजार ३ सय ४३ रुपैयाँको १२६.६५ ग्राम सुन, ६३ लाख १९ हजार १४७ रुपैयाँको १०३.४६५ के.जी. चाँदी, ३२ लाख ९ हजार ३ सय १० रुपैयाँको एक हजार १०१.७ घनफिट काठ, स्रोत नखुलेको अबैध रकम ६९ लाख ७८ हजार ७ सय ५५ र अन्य अबैध सामाग्रीहरु १९ करोड ४५ लाख ५३ हजार ७ सय २७ रुपैयाँको बरामद भएको छ ।

अघिल्लो आ.ब. ०७५/०७६ को सोही अवधिमा भन्दा ९ अर्ब २३ करोड ५३ लाख ३९८ रुपैयाँको बढी समान बरामद भएको छ । जुन अघिल्लो वर्षको भन्दा २९.७८ प्रतिशतले बढी देखिन्छ ।

त्यसैगरी सशस्त्र प्रहरीले पेस्तोल १० थान, १२ बोरको बन्दुक १ थान, भरुवा बन्दुक ४ थान गरी कुल १५ थान बन्दुक, २५ वटा राउण्ड गोली, ६ वटा क्याप, बारुद १५० ग्राम, लागू औषध गाजा २९८.४३ के.जी., चरेश ६१ के.जी., ब्राउन सुगर २ प्याकेट र अन्य लागूऔषध १४ हजार १६९ थान बरामद गर्नुको साथै अवैध क्रियाकलापमा संलग्न ७४ जनालाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment