Comments Add Comment

प्रवल मृत्यु प्रकरण थप रहस्यमय, पोस्टमार्टम रिपोर्टबाट खुलेन कारण

१६ माघ, विराटनगर । विराटनगर– २ तीनपैनीका लेखा परीक्षक प्रवल घिमिरेको मृत्युको कारण पोस्टमार्टम रिपोर्टमा पनि नदेखिएपछि घटना थप रहस्यमय बनेको छ ।

माघ ७ गते मंगलबार सिंघिया खोलामा घोप्टो परेको अवस्थामा शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले पोष्टमार्टम रिपोर्टमा पनि मृत्युको कारण नदेखिएको बताएको छ ।

मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण नखुले पनि फोक्सोमा पानी जमेको देखाएको छ ।

फोक्सोको पानी खोलाको हो वा अन्यन्त्रको भन्ने विषयमा परीक्षणका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको उनले बताए । प्रहरीले शवको भिसेरा जाँचका लागि पनि पठाएको छ । भिसेरा रिपोर्ट आएपछि थप कारणहरु खुल्ने प्रहरी उपरीक्षक अधिकारीले बताए ।

चौतर्फी दवाव तर नतिजा आएन

थोरै पानी भएको खोलामा घोप्टो परेको अवस्थामा शव भेटिएपछि आफन्त र स्थानीयले हत्या भएको दाबी गर्दै आएका छन् । सामान्य अवस्थामा पुग्न नसकिने उक्त स्थानमा घिमिरेलाई हत्या गरी फालेको स्थानीयको दाबी छ । प्रहरी उपरीक्षक अधिकारी शंकास्पद धेरै कारण भए पनि अनुसन्धानका लागि समय लाग्ने बताउँछन् ।

घटनाको निस्पक्ष छानविन गर्न माग गर्दै मंगलबार जनप्रतिनिधीको नेतृत्वमा स्थानीय, आफन्त र लेखा परीक्षकहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए ।

प्रवलका आमा सीतादेबी र बुबा कृष्ण आफ्ना छोराको मृत्यु सामान्य नभएको दाबी गर्छन् । अघिल्लो दिन साथीसँग गएका प्रवल भोलिपल्ट विहान खोलामा मृत अवस्थामा भेटिएका थिए । सँगै बसेका व्यक्ति सकुशल घर फर्कनु र प्रलवलाई भने आधा बाटोमा नै छाड्नु शंकास्पद भएको उनीहरुको भनाइ छ ।

घिमिरे मृत्यु प्रकरणमा शंकास्पद भनिएका विराटनगरका व्यावसायी नन्दकिशोर राठी, अरुण राठी, झापा सताक्षीधामका विनय कर्ण,उर्लाबारीका अनिल चाण्डक, मुन होटल सञ्चालक विजयराज प्रसाई, अशोक अटल, नन्दकिशोर राठीका सवारी चालक पशुपति खड्का, चाण्डका सवारी चालक चन्द्रबहादुर दर्जी माथि अनुसन्धान गरिरहेको प्रहरी प्रमुख अधिकारीले बताए ।

आठ वर्ष यता लेखा परीक्षकको काम गर्दै आएका घिमिरे ६ माघ बेलुका उद्योगी नन्दकिशोर राठीले बोलाएपछि उनलाई भेट्न गएका थिए ।

राठीसँगै आमाज बेकरी क्याफेबाट भाटभटेनी सुपरमार्केट हुँदै होटल मुन पुगेका थिए ।

मुन होटलमा विराटनगरका सुन पसल सञ्चालक अरुण राठी, अशोक अटल र अन्य व्यक्तिसँग भेट भएपछि एउटै टेबुलमा बसेर खानपान गरेका थिए । त्यहाबाट लोटस बार पुगेका थिए ।

बारबाट उर्लाबारीका अनिलको गाडीमा लिफ्ट मागेर आएका घिमिरे विराटनगर मेनरोड स्थीत वडा प्रहरी कार्यालय अगाडि उत्रिएका थिए । घर जान भन्दै हिँडेका उनी मंगलबार बिहान सिंघिया खोलामा मृत अवस्थामा भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment