Comments Add Comment

नेकपा बैठकमा भाग लिन मन्त्री हिँडेपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

असम्बन्धित मन्त्री दिन्छन् संसदमा जवाफ, प्रतिपक्ष रुष्ट

१७ माघ, धनगढी । नेकपा केन्द्रीय समिति बैठकमा सहभागी हुन मन्त्री हिँडेपछि सुदूरपश्चिम प्रदेशसभाको शुक्रबारका लागि तय बैठक स्थगित भएको छ ।

सुदूरपश्चिम प्रदेशसभाकाे शुक्रबारका लागि बाेलाइएकाे बैठकमा एफएम रेडियो र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई विषयगत समितिमा लैजाने कार्यसूची थियो । तर आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह नेकपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन काठमाडौं हिँडेपछि बैठक स्थगित गरिएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नआउने भएपछि बैठक स्थगित गरिएको सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए । धामीका अनुसार, अर्को बैठक आगामी आइतबारका लागि डाकिएको छ ।

बैठक स्थगित गर्ने संसद् सचिवालयको निर्णयप्रति कांग्रेसले भने असन्तुष्टि जनाएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले महत्त्वपूर्ण विषयमा छलफल चलिरहँदा  मन्त्री नै अनुपस्थित हुनु उपयुक्त नभएको बताए ।

‘यस्तो महत्त्वपूर्ण विषयमा मन्त्रीहरू नहुनु ठीक होइन,’ उनले भने, ‘सरकारले सदनलाई महत्त्व दिइरहेको छैन ।’

यसअघि पनि ‘रेडियो एफ.एम र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ मन्त्री शाह नहुँदा भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले दिएका थिए । कानूनमन्त्री मात्रै होइन, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अनुपस्थित हुँदा बुधबारको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्योग, पर्यटन, वन तथा वातावरणका दुई विधेयक प्रदेशसभामा टेबल गरेका थिए ।

मन्त्री सुवेदीले विधेयकमात्रै टेबल गरेनन्, विधेयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ पनि दिएका थिए । यसप्रति प्रतिपक्षी दलले असन्तुष्टि जनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment