Comments Add Comment

सञ्चार माध्यम देश र जनताप्रति निष्ठावान हुनुपर्छ : प्रधानमन्त्री ओली

१७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यम देश र जनताप्रति निष्ठावान हुनुपर्ने बताएका छन् । शुक्रबार नेपाल टेलिभिजनको इटहरी च्यानलको औपचारिक सुभारम्भ गर्दै उनले सञ्चार माध्यमले निराशा फैलाउने र अरुलाई हानी पुर्‍याउने काम गर्न नहुने बताए ।

‘सञ्चार माध्यम देश र जनताप्रति प्रतिवद्ध र निष्ठावान पनि हुनुपर्छ’ उनले भने ‘अरुलाई दुख दिएर, मानहानी गरेर, तेजोबध गरेर, अरुको वैयक्तिक, पारिवारिक, सामाजिक हैसियतमा क्षति पुर्‍याएर देश समृद्ध हुने होइन ।’

प्रधानमन्त्रीले देश सुशासनको बाटोमा रहेका बेला जनतालाई निराश बनाउन नहुने धारणा राखे । ‘यस्तो बेलामा हामीले जनतामा नराम्रो कुरा मात्र पस्किने, निराशातिर जनतालाई धकेल्ने होइन, आशावादिता जगाउने, आत्मविश्वास जगाउने काम गर्न जरुरी छ’ उनले भने ।

सरकारले विगत दुई वर्षमा धेरै महत्वपूर्ण काम गरेको भन्दै प्रधानमन्त्री ओलीले यो कुरा जनतामा सुसूचित गर्ने जिम्मेवारी सञ्चार क्षेत्रकै भएको बताए ।

‘आग्रह, पूर्वाग्रह र दूराग्रहबाट मुक्त भएर उत्तरदायी भूमिका निर्वाह गरेर नेपाली प्रेसले जनताप्रतिको आफ्नो जिम्मेवारी सही ढंगले पूरा गरेको ठहर्छ’ उनले भने ‘नकारात्मकता र पूर्वाग्रहमुक्त स्वतन्त्र र तटस्थ समाचार मार्फत सञ्चार माध्यमले यो भूमिका निर्वाह गर्न सक्छ ।’

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री ओलीले आशंका नगर्न आग्रह गरे । ‘कतिले लोकतन्त्र संकुचित गर्न खोजेको, कतिले देशलाई तानाशाहीतर्फ लैजान खोजेको, कतिले प्रेसलाई अधिकारबाट सीमित गर्न खोजेको, वाक स्वतन्त्रता कुण्ठित गर्न खोजेको निरर्थक चर्चा परिचर्चा गरेका छन्’ उनले भने ‘पूर्ण प्रेस स्वतन्त्रताका लागि सधैं चिन्तित छौं । सरकार त्यसप्रति प्रतिवद्ध छ ।’

सरकार नागरिकका जायज सरोकार गम्भीरतापूर्वक सुन्न र ग्रहण गरेर अघि बढ्न तत्पर रहेको भन्दै यसमा आशंका र द्विविधा नराख्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।

आफूहरु लोकतन्त्रका लागि लडेको भन्दै उनले अनुशासित र अधिकार सम्पन्न व्यवस्था आफूहरुको चाहना भएको बताए । ‘हामीले चाहेको आधुनिक, व्यवस्थित, अनुशासित र अधिकार सम्पन्न व्यवस्था हो, एउटाको अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुँदैन’ प्रधानमन्त्री ओलीले भने ।

सरकारले अधिकारमा कुनै बन्देज र सीमित नगर्ने भन्दै प्रधानमन्त्री ओलीले आफूहरुले संविधान र कानूनको बाटो हिँडाउन मात्र खोजेको जिकिर गरे ।

संसदमा विचाराधीन सूचना प्रविधि विधेयक र मिडिया काउन्सिल विधेयक हिउँदे अधिवेशनबाट पारित गर्ने प्रधानमन्त्री ओलीले बताए ।

‘सञ्चार क्षेत्र युगानुकुल कानूनी संरक्षण र व्यवस्थामार्फत अगाडि बढ्छ, यी विधेयक जनता र राष्ट्रको अपेक्षा र चाहना बमोजिम नै हुनेछ’ उनले भने ‘संविधान कानून हाम्रो निष्ठा र आदर्शअनुसार हुनेछ । यसमा अनावश्यक विवाद र प्रश्न गर्न आवश्यक छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment