Comments Add Comment

टिपरको ठक्करले महिलाको मृत्युपछि अवैध क्रसरविरुद्ध आन्दोलन

१७ माघ, गोरखा । अवैध क्रसर उद्योगमा टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि गोरखा नगरपालिका-१० छेपेटार शुक्रबार बिहानैदेखि तनावग्रस्त छ । बिहान दूध बेच्न गएकी गोरखा नगरपालिका-१० अमलापानीकी ५२ वर्षीयामनमाया तामाङलाई ग १ ख ८०२७ नम्वरको टिपरले ठक्कर दिएको थियो ।

ठक्करबाट सामान्य घाइते भएकी तामाङलाई ब्याक गरी किचेर मारेको भन्दै स्थानीयले क्रसरमा रहेका करिब २० वटा टिपर र ६ वटा एक्साभेटरमा तोडफोड गरेका छन् । ठक्कर दिने टिपर जलाएका छन् ।

क्रसरको कार्यालय र मजदुरको आवासको रुपमा प्रयोग भएका भवनहरु पनि तोडफोड गरिएको छ । अवैध रुपमा सञ्चालन भएको उक्त क्रसर बन्द गर्नुपर्ने र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने स्थानीय र पीडित परिवारको माग छ । माग पूरा नभएसम्म शव नउठाउने पीडित पक्षले अडान लिएका छन् ।

क्रसर परिसरमा पीडित परिवार र स्थानीय जम्मा भएर बसेका छन् । केहीबेर अघि प्रहरी र पीडित पक्षबीच विवादसमेत भएको थियो । पीडित पक्षले डीएसपीमाथि हातपातको प्रयाससमेत गरेका थिए । क्रसरमै आएर वार्ता हुनुपर्ने पीडित पक्षले माग राखेका छन् ।

गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘चालकको मान्छे मार्ने नियत देखिएमा ज्यान मार्ने कसूरमा मुद्दा चलाउछौ, पीडित परिवारले क्षतिपूर्ति पाउनुहुन्छ,’ उनले भने, ‘अवैध क्रसरको कुरामा स्थानीय सरकारले संचालन गर्न दिने अधिकार हुन्छ, स्थानीय तहसँग हामी वैध, अवैध के छ फाइलहरु माग्छौं र अध्ययन गर्छाैं ।’

प्रत्यक्षदर्शी भन्छन् – भुइँभरि दूध पोखिएको थियो

महिलालाई किचेर मारेसँगै टिपर चालक घटनास्थल भन्दा केही पर गाडी पार्किङ गरेर भागे । घटना भएको केही समयमै अमलापानीका स्थानीय माधव ठकुरी घटनास्थल पुगेका थिए । त्यहाँ पुगेर देखेको दृश्यबारे उनले अनलाइनखबरलाई यसरी सुनाए :

मेरो छेवेटार बजारमा होटल छ । होटल जान भनेर म बिहान करिव सवा ६ बजे घरबाट निस्किएँ । रिमरिम उज्यालो थियो । घटना भएको ठाउँमा आइपुग्ने बेला लाइट बलिरहेको देखे । लाइट बाल्दै कोही आए होला भन्ने सोचे । तर त्यही पुगेर हेर्दा मान्छे लडिरहेको देखेपछि झस्किए । अनुहार चिन्न सक्ने अवस्था थिएन । सलले मुख ढाकेको रहेछ ।

हिजो राति एक जना मानसिक सन्तुलन गुमाएकी एक महिला गाउँमा हिडिरहेकी थिइन् भन्ने सुनेको थिए, पहिले त त्यही होला भन्ने लाग्यो । तर भुइँमा पोखिएको दूध र लडिरहेको दूधको बोत्तल देखेपछि पक्कै मनमाया हो भन्ने शंका लाग्यो ।

उहाँ सधै बिहान दूध बेच्न छेपेटार जानुहुन्थ्यो । उहाँलाई दूध बेचेर  फर्कदै गर्दा मैले सधै तारा माध्यामिक विद्यालय नजिकै भेट्थे । मनमाया नै हो भन्ने भएपछि मैले घटनास्थल नजिकै घर भएको मान्छेलाई बोलाए ।

त्यसअघि क्रसर नजिकैको पानी ट्याङ्कीमा मुख धुन दुई जना आएका थिए, मैले सहयोगका लागि बोलाएको आएनन् । पछि नजिकै भर भएका मानिसहरु आए । क्रसरको मेनेजर देखेपछि प्रहरीलाई खबर गर्न भन्यौं । अनि एकछिन पछि प्रहरी आयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment