Comments Add Comment

घुम्न गएका नेपाली डाक्टर चीनमा अलपत्र, नेपाली विद्यार्थी फिर्ता ल्याउन माग गर्दै चीनलाई पठाइयो पत्र

कोरोना आशंकित एकजना विराटनगरबाट काठमाडौं रेफर

१८ माघ, काठमाडौं । आजका धेरैजसो पत्रिकाहरु कोरोना भाइरसको त्रास र नेकपा केन्द्रीय कमिटी बैठकमा उठेका विषयमा केन्द्रित छन् ।

कोरोना भाइरसको उदगमस्थल वुहानका विद्यार्थी फिर्ता ल्याउन माग गर्दै नेपाल सरकारले चीनलाई पत्र पठाएको, चीन घुम्न गएका एक नेपाली डाक्टर कोरोना भाइरस प्रभावित क्षेत्रमा अलपत्र परेको, मेडिकल कलेजहरुले फेरि अतिरिक्त शुल्क असुलेको लगायतका समाचारहरु पनि आजका पत्रिकाहरुमा छन् ।

छोरीसहित घुम्न गएका नेपाली डाक्टर चीनमा अलपत्र

नागरिक दैनिकका अनुसार चीन घुम्न गएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन् । चीनले हुपेई प्रान्तको सदरमुकाम वुहानलाई सिल गरेपछि उनी नेपाल फर्कन नपाएका हुन् । झापाको दमकस्थित लाइफलाइन अस्पतालका चिकित्सक समीर डिसेम्बर १० मा सात वर्षीया छोरी स्मारिकालाई लिएर चीन घुम्न गएका थिए ।

कोरोना आशंकित एकजना विराटनगरबाट काठमाडौं रेफर

नागरिक दैनिकमा नै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरस संक्रमणको आशंकामा एकजनालाई काठमाडौंको टेकुस्थित राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रेफर गरेको समाचार छ । धरान निवासी ती बिरामी केहीदिन अगाडिमात्र दक्षिण कोरियाबाट आएका थिए । तीन दिनदेखि उच्च ज्वरोसँगै घाँटी दुख्ने भइरहेपछि उनी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गर्न पुगेका थिए । प्रारम्भिक उपचारपछि उनलाई चिकित्सकहरुले काठमाडौंको टेकुस्थित राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रेफर गरेको समाचारमा उल्लेख छ ।

चीनका नेपाली भन्छन्- कोरोना भाइरस नलाग्दै हाम्रो उद्धार होस्

अन्नपूर्ण पोष्ट दैनिकले कोरोना भाइरस नलाग्दै आफूहरुको उद्धार गर्न चीनस्थित नेपालीहरुले भनेको विषयलाई मुख्य समाचार बनाएको छ । चीनको हुपेई प्रान्तको वुहान आसपास सहरका नेपाली विद्यार्थीहरु १० दिनदेखि कोठाभित्र थुनिएर बस्न बाध्य भएको समाचारमा उल्लेख छ । उद्धारका लागि नेपाल सरकारले प्रयास नगरेको गुनासो उनीहरुको छ ।

‘के सरकारले हामीलाई संक्रमण भएपछि वा हामी मरेपछि लास लैजाने रहेछ ?’, विद्यार्थीले विच्याट समूहमा लेखेका छन्, ‘हामी अहिले बन्दी जीवन बिताइरहेका छौं । भाइरसले कताबाट छुने हो तनावमा छौं । नयाँ वर्षमा लामो बिदामा जोहो गरिएको खाना अब एक-दुई दिनमा सकिन्छ । किन्न जाने अवस्था छैन ।’

चीनका विद्यार्थी फिर्ता ल्याउन माग गर्दै सरकारले पठायो पत्र

कान्तिपुर दैनिकले वुहानका विद्यार्थीहरुलाई फिर्ता ल्याउन माग गर्दै नेपालले चीनलाई पत्र पठाएको समाचार छापेको छ । कान्तिपुरले लेखेको छ, ‘सरकारले नोवल कोरोना भाइरसको उदगमस्थल चीनको वुहानमा रहेका नेपाली विद्यार्थी फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसको सहजीकरणका लागि चीन सरकारलाई पत्र पठाइएको जानकारी दिए । तर फर्किएकालाई आइसोलेसनमा राख्ने व्यवस्था नेपालले सुनिश्चित गरेपछि मात्र चीनले अनुमति दिने छ ।’

मन्त्री ज्ञवालीले विद्यार्थी फिर्ता ल्याएर आइसोलेसनमा राख्न केही अस्पतालमा प्रवन्ध मिलाइरहेको जानकारी दिएको कान्तिपुरले लेखेको छ ।

प्रहरी समायोजन आगामी चैतदेखि, डिएसपीसम्म प्रदेश मातहत

नयाँपत्रिका दैनिकले प्रहरी समायोजन आगामी चैतदेखि हुने समाचार छापेको छ । समाचारमा लेखिएअनुसार प्रदेशमातहतमा प्रहरी नायब उपरीक्षक -डिएसपी)सम्म मात्र रहने छन् । यसैगरी एसपी र एसएसपी केन्द्रबाट खटिने तर प्रदेशको निर्देशनमा चल्ने गरी समायोजन गर्न लागिएको समाचारमा उल्लेख छ । एसपी र एसएसपी पुल दरबन्दीमा राखिने छ । ‘प्रदेश सरकारले तोकेअनुसार नै सेवा-सुविधा पाउने उनीहरु प्रदेशकै निर्देशनअनुसार खटिनुपर्ने छ,’ नयाँपत्रिकाले लेखेको छ ।

मेडिकल कलेजले फेरि असुले अतिरिक्त शुल्क

राजधानी दैनिकले काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेका मेडिकल कलेजले विद्यार्थीहरुबाट पुनः अतिरिक्त शुल्क असुल्न थालेको समाचार छापेको छ । हालसम्म विराटनगरस्थित नोवेल मेडिकल कलेजले २८ लाख रुपैयाँ अतिरिक्त शुल्क लिएको पाइएको समाचारमा उल्लेख छ । यसैगरी नेपालगञ्ज मेडिकल कलेजले ६ लाख तथा काठमाडौं मोडेल कलेज र नेपाल मेडिकल कलेजले समान ४ लाख ३५ हजार अतिरिक्त शुल्क असुलेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment