Comments Add Comment

सुनसरीको दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो, सबैको सनाखत

१९ माघ, विराटनगर । सुनसरीको इनरुवास्थित तित्रिवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा मृत्यु हुनेहरुको संख्या चार पुगेको छ ।

मृत्यु हुनेमा माइक्रो बसका चालक धादिङको बैरेनी ३ का दीपक खड्का, झापा भद्रपुर ५ की ६५ वर्षीया डोलकुमारी कोइराला, उनका श्रीमान हेमराज कोइराला र झापा चन्द्रगढीकी गरिमा गौतमको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । ९ जनाको गोल्डेन अस्पतालमा, ४ जनाको एपेक्स अस्पतालमा र २ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

झापाबाट काठमाडौं जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हाइस माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७०५ नम्बरको बस आइतबार बिहान सवा ७ बजेतिर सुनसरीको रामधुनी नगरपालिका २ कृषिफर्म नजिक आपसमा ठोक्किएका थिए ।

बस चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

यसैबीच सर्लाहीको गोडैता नगरपालिका ७ मोहनचोकमा शनिबार मध्यराति भारतीय नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका २ का २० वर्षीय उपेन्द्र सोनर र २० वर्षीय राजेन्द्र यादवको मृत्यु भएको हो ।

यसैगरी काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीमा आइतबार बिहान माइक्रो बसको ठक्करबाट एक जना मोटरसाइकल चालक घाइते भएका छन् । घाइते भएका चालक नुवाकोट घर भई हाल कपन बस्ने ३० वर्षीय पूर्णबहादुर तामाङ छन् । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भैरहेको छ ।

आइतबार बिहान ५ बजे तामाङले चलाएको बा २६ प ३५ नम्बरको मोटरसाइकललाई ना ५ ख ३५९ नम्बरको हाइस माइक्रो बसले ठक्कर दिएको थियो । दुवै सवारी साधन र माइक्रो चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment