Comments Add Comment

प्यानले बढायो ३० प्रतिशत आयकर असुली

३५ प्रतिशतले बढाउनुपर्ने राजस्व खुम्चियो १३ प्रतिशतमै

१९ माघ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म कूल ११ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ । तर, ६ महिनासम्म आइपुग्दा मात्र ४ खर्ब ५६ अर्ब १९ करोड रुपैयाँ मात्र संकलन सम्भव भएको छ ।

यसवर्ष सरकारले राजस्व संकलनमा करिब ३५ प्रतिशतको वृद्धिदर हासिल गर्नुपर्छ । तर, ६ महिनामा मात्र १३.३ प्रतिशतको वृद्धिदर देखिएको छ । लक्ष्यअनुसार सरकार करीव १ खर्बले पछाडि परिसकेको छ । यसमा मूख्य हिस्सा भन्सार राजस्वको रहेको छ । किनकी यस वर्ष आयात खस्किएको छ भने निर्यात वृद्धि प्रतिशत सकारात्मक छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ६ महिनाको अर्थ बुलेटिन अनुसार ६ महिनामा भन्सार महसुल ७७ अर्ब ९३ करोड उठेको छ । यो रकम गत वर्षको यसै अवधिको तुलनामामा २.२ प्रतिशतले कम हो । गत वर्ष यसै अवधिसम्म ७९ अर्ब ६४ करोड रुपैयाँ भन्सार महसुल उठेको थियो ।

भन्सार राजस्व उल्लेख्य घटेको यस अवधिमा आयकरमा भने उल्लेख्य वृद्धि भएको अर्थमन्त्रालयको तथ्यांक छ । मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार ६ महिनामा आयकर संकलन ३०.३ प्रतिशतले बढेको छ । यस वर्ष सरकारले कूल २ खर्ब ८० अर्ब ३५ करोड रुपैयाँ आयकर संकलनको लक्ष्य राखेको छ । ६ महिनामै आयकरवापत १ खर्ब १२ अर्ब ६० करोड रुपैयाँ संकलन भइसकेको छ । यो रकम अघिल्लो आव २०७५/७६ को यसै अवधिको तुलनामा ३०.३ प्रतिशत धेरै हो ।

अर्थ मन्त्रालयका अनुसार स्थायी लेखा नम्बर लिने करदातामा भएको वृद्धिले व्यक्तिको आयको यथार्थ विवरण सरकारी प्रणालीभित्र प्रविष्टी भएको छ । यसले आयकर वृद्धिमा उल्लेख्य भूमिका खेलेको हो ।

बढे करदाता

सरकारले चालु आर्थिक वर्षको बजेटबाट सबै व्यक्तिको स्थायी लेखा नम्बर (प्यान) हुनुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको थियो । जसअनुसार सरकारको अभियानमा नागरिकको उल्लेख्य सहभागिता देखिँदा त्यसको सकारात्मक असार आय करको असुलीमा देखिएको हो  ।

आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा व्यक्तिगत तथा व्यवसायिक स्थायी लेखा नम्बर र कर कट्टी गर्ने निकायले लिने स्थायी लेखा नम्बर लिने करदाताको संख्यामा ४४.१८ प्रतिशतले वृद्धि भएको छ । यसअवधिमा करकट्टी गर्ने निकायले लिने स्थायी लेखा नम्बरको संख्यामा ३६४.३१ प्रतिशतको वृद्धिदर देखिएको छ ।

व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदातासमेत ८१.८० प्रतिशतले बढेका छन् । ६ महिनाको अवधिमा व्यवसायिक लेखा नम्बर लिने करदाताको संख्यामा १२.२८ प्रतिशतको वृद्धि देखिएको छ । यसले आयकर वृद्धिमा उल्लेख्य भूमिका खेलेको अर्थमन्त्रालयको विश्लेषण छ । ६ महिनामा समग्र राजस्व संकलन घटेको छ । आयात खस्किएका कारण भन्सार विन्दुबाट संकलन हुने राजस्व घटेपनि आन्तरिक राजस्व परिचालनमा उल्लेख्य वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

विवरण अनुसार यस वर्ष कराधारमा उल्लेख्य विस्तार भएको छ । खासगरी स्थायी लेखा नम्बर लिने करदाताको संख्यामा भएको उत्साहजनक वृद्धिले कराधार विस्तारमा भूमिका खेलेको हो ।

६ महिनामा ८ लाख १३ हजार ९ सय ७८ जना नागरिकले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । यस अवधिमा १ लाख ५० हजार ८ सय ७७ जनाले व्यवसायिक स्थायी लेखा नम्बर लिएका छन् ।

यस्तो छ स्थायी लेखा नम्बर लिने करदाताको संख्या

दर्ताको प्रकार २०७६ असारसम्म स्थायी लेखा नम्बर लिएका करदाता २०७६ पुससम्म स्थायी लेखा लेखा नम्बर लिएका करदाता २०७६ पुससम्म स्थायी लेखा नम्बर लिने जम्मा करदाता परिवर्तन (प्रतिशतमा)
व्यवसायिक स्थायी लेखा नं. ११७८३८३ १५०८७७ १३२३०९८ १२.२८
व्यक्तिगत स्थायी लेखा नं. ९९३०८० ८१३९७८ १८०५४३३ ९१.८०
करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नं. ७३७ २६८५ ३४२२ ३६४.३१
जम्मा स्थायी लेखा नम्बर २१७२२०० ९६७५४० ३१३१९५३ ४४.१८

स्रोत : आन्तरिक राजस्व विभाग

आयकरमा उल्लेख्य वृद्धि

नेपालमा व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने प्रावधान अहिले कार्यान्वयनमा रहेको छ । सरकारले व्यवसाय वा आय आर्जनमा संलग्न सबै व्यक्तिले स्थायी लेखा नम्बर लिनुपर्ने प्रावधानलाई चालु आर्थिक वर्षबाट अनिवार्य गरेको हो । आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तब्यमा सरकारले ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर’ को नीति लिएको छ । नीतिअनुसार नेपालमा काम गरिरहेका विदेशी नागरिकले समेत अनिवार्य स्थायी लेखा नम्बर लिनु पर्ने हुन्छ ।

के हो स्थायी लेखा नम्बर ?

स्थायी लेखा नम्बर प्रत्येक करदातालाई पहिचान दिन दिइने स्थायी संकेत अंक हो । यो ९ अकंको हुन्छ । यो संकेत एक पटक लिइसकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण बदली गरेपनि करदाताको संकेत नम्बर भने स्थायी हुन्छ । यो कर तिर्ने प्रयोजनमा काम लाग्छ ।

यसबाहेक कुनै पनि आधिकारिक निकायलाई कर प्रयोजनका लागि आवश्यक परेका सूचना समेत यहाँ भण्डार गरिएको हुन्छ ।

उद्योग, व्यापार, पेशा, व्यवसाय, रोजगारी गर्ने व्यक्तिले समेत आफूले गर्ने कारोबार, बैंकिङ कारोबार, जारी गर्ने बील वीजक, खाता, कागजात तथा आय विवरणजस्ता कर सम्बन्धी सम्पूर्ण विवरणमा प्यान अनिवार्य गरिएको छ ।

यसबाट राज्यको प्रणालीमा आवद्ध भएको पहिचान पनि दिने र नागरिकलाई आफूले प्रत्यक्ष कर तिरेको अनुभूति पनि यो कार्ड लिएपछि हुन्छ । व्यक्ति र कम्पनीले फरक फरक प्यान लिनुपर्छ ।

अहिले आफूले गर्ने कारोबार, बील बीजक, खाता, आय-विवरण, बैंकिङ कागजात तथा कर सम्बन्धी सम्पूर्ण काम गर्दा प्यान अनिवार्य गरिएको छ । राजस्व दाखिला गर्ने समयमा प्यान नम्बर राखियो भने राजस्वको अभिलेख पनि पारदर्शी हुने सरकारको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment