Comments Add Comment

त्रिकोणात्मक सिरिज खेल्न नेपाल आइपुग्यो अमेरिकन टोली

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न अमेरिकन टोली नेपाल आइपुगेको छ । यही बुधबारदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने सिरिजमा घरेलु टोली नेपालसहित अमेरिका र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।

सिरिज माघ २२ देखि २९ गतेसम्म हुनेछ ।

अमेरिकन टोली भारतको मुम्बईमा प्रशिक्षण र ३ दिन अभ्यास खेल खेलेर नेपाल आइपुगेको छ । सिरिजमा तीन टोलीबीच एकापसमा दुई–दुई खेल हुनेछ ।

अमेरिकी क्रिकेट टिम एक दशकपछि नेपाल आएको हो । सन् २०१० मा नेपालमै भएको डिभिजन ५ मा खेल्न अमेरिका पछिल्लो पटक काठमाडौं आएको थियो। डिभिजन ५ को फाइनलमा नेपालले अमेरिकालाई हराएर उपाधि जितेको थियो । तर लिग चरणमा नेपाल र अमेरिकाबीचको खेलमा नेपाली दर्शकले अभद्र व्यवहार गर्दा आईसीसीले अनुसन्धान नै गर्नुपरेको थियो । दर्शकको खराब व्यवहारपछि नेपाल भग्यमानी बन्दै सिंगापुरलाई रनरेटमा पछि पारेर फाइनल पुगेको थियो ।

लिग चरणको अन्तिम खेल अमेरिकाले जितेमा सीधै फाइनल पुग्ने थियो । नेपाल विजयी भएमा भने नेपाल र सिंगापुर फाइनल पुग्ने थियो । तर नेपाल पराजित भएको खण्डमा अमेरिका फाइनल पुग्थ्यो भने फाइनल पुग्ने दोस्रो टिमको निर्णय रनरेटमा हुन्थ्यो। यस्तो अवस्थामा नेपाल अमेरिकासँग हार्न लागेपछि नेपाल दर्शकले ढुंगा र बोतल मैदानमा फालेर खेललाई डिस्टर्व गरेका थिए । त्यसपछि ओभर घटाइएको खेलमा अमेरिका विजयी भए पनि नेपालले सिंगापुरलाई रनरेटमा पछि पारेको थियो ।

त्यस घटनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको नराम्रो छवि बन्यो। साथै नेपालले आईसीसीको धेरै अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्ने अवसर पनि गुमाएको थियो ।

त्यसबेला खेलेको कुनै पनि खेलाडी अहिले अमेरिकन टिममा छैनन् । अहिलेको अमेरिकी टिममा भारत, वेष्ट इन्डिजदेखि दक्षिण अफ्रिका र अष्ट्रेलियाका खेलाडीहरू समेत छन् । नेपाली टिममा भने सन् २०१० मा डिभिजन खेलेका ४ खेलाडी अझै छन् । जसमा कप्तान ज्ञानेन्द्र मल्ल, निवर्तमान कप्तान पारस खड्का शरद भेषवाकर र विनोद भण्डारी छन् ।

सन् २०२३ को ओडिआई विश्वकपको रोडम्यापको रूपमा समेत रहेको यस विश्वकप लिग २ मा नेपालले पहिलो सिरिज खेल्न लागेको हो । यसअघि नै दुई सिरिज खेलिसकेको अमेरिका ८ खेलबाट १२ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा छ । अर्को टोली ओमान ८ अंकसहित चौथो स्थानमा छ । नेपालले खाता खोल्न बाँकी छ ।

यस्तै, सन् २०१८ मा पहिलो पटक ओडीआई मान्यता पाएपछि नेपालले घरेलु मैदानमा ओडीआई सिरिज खेल्न लागेको यो पहिलो पटक हो । समग्रमा भने नेपालको यो तेस्रो ओडीआई सिरिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment