Comments Add Comment

वुहानबाट नेपालीको प्रश्न : सरकार ! हाम्रो मृत्यु पर्खिएको हो ?

२० माघ, काठमाडौं । चीनको वुहानमा रहेका नेपालीहरुलाई उद्दार त गर्ने भनिएको छ । तर उनीहरुलाई ल्याएर कहाँ राख्ने ? उनीहरु चीनमा भन्दा नेपालमा सुरक्षित हुन्छन् त ? भन्ने प्रश्न कायमै छ । स्वास्थ्य मन्त्रालयले यस्तै प्रश्न सामना गरिरहेको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रबहादुर श्रेष्ठले रेडिमेड जवाफ दिन्छन्, ‘के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं । कहिले नेपाल ल्याउने, कहाँ र कसरी राख्ने भन्ने विषयमा कुनै निर्णय भइसकेको छैन । भएपछि जानकारी दिन्छौं ।’

यो जवाफ यसकारण रेडिमेड हो कि उनी एक सातादेखि यही भनिरहेका छन् । तयारी कहिले पूरा हुन्छ भन्ने प्रश्नमा भन्छन्, ‘समय त लागिहाल्छ नि ।’

००००

गएको एक सातामा कोरोना भाइरसले उथलपुथल गरिसकेको छ । चीनमा मृतकको संख्या तीब्र गतिमा बढिरहँदा कोरोना संक्रमण देखिएको देश र व्यक्तिको सङख्याको ग्राफ पनि उकालो लाग्दो छ । अमेरिका, जापान, कोरियालगायतका देशहरुले चीनमा रहेका आफ्नो नागरिक फिर्ता गरिसकेका छन् । नेपाली विद्यार्थीहरुले उद्दारका लागि सरकारसँग गुहार मागेका छन् ।

तर सरकारले भने उनीहरुलाई उद्दार गरेर ल्याएपछि राख्ने ठाउँसमेत खोज्न सकेको छैन ।

सरकारको कछुवा गति वुहानमा रहेका विद्यार्थी र नेपालमा रहेका उनीहरुका अभिभावकका लागि अत्यासलाग्दो छ । अरु सरोकारवालाले पनि यसलाई निको मानेका छैनन् ।

यो पनि पढ्नुहोस चीनबाट उद्दार गरिने नेपालीलाई कहाँ राख्ने ?

तर, स्वास्थ्य मन्त्रालयको विगतलाई हेर्ने हो भने कछुवा गति यो पहिलो पटक होइन । पछिल्लो वर्षहरुमा केही न केही भाइरल संक्रमण देखिँदै आएको छ र, हरेक पटक राज्य तब मात्र गम्भीर हुन्छ, जब संक्रमणको कारणले महामारीकै रुप लिन्छ, मानवीय क्षति हुन थाल्छ । त्यसको पछिल्लो उदारहण हो, जेठमा धरानबाट फैलिएको डेंगु संक्रमण । धरानबाट सुरु भएको डेंगु दुई महिनामा ५६ जिल्लामा पुग्दासम्म राज्यले यसलाई सम्बोधन गर्न खोजेन ।

जब अस्पतालमा डेंगुको आशंकामा जचाउन पुग्नेहरुको अत्यासलाग्दो लाइन देखिन थाल्यो, मानिस मर्न थाले, बल्ल सरकार ‘फगर गन’ लिएर लामखुट्टे मार्न निस्कियो । नेपालीको सौभाग्य भनौं, जाडो बढेसंगै डेंगु संक्रमण आफैं कम भयो ।

००००

अहिले नेपालमा एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको १० दिन नाघिसक्यो । यो बीचमा कोरोना संक्रमणको आशंका गर्दै अस्पताल पुग्नेको सङख्या १०० नाघेको छ । आशंकामा अस्पतालमै भर्ना भएकाहरु पनि आधा दर्जन नाघिसके । कोरोनाको उच्च जोखिम क्षेत्र वुहानमा १९० विद्यार्थी छन् ।

तर सरकारले न उनीहरुलाई उद्दार गर्न सकेको छ, न त्यहाँ सुरक्षित रहने आश्वस्त पर्न सकेको छ । सौभाग्य भनौं, वुहानमा रहेका नेपालीहरुलाई अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । तर स्वास्थ्य मन्त्रालयको कछुवा गतिका कारण वुहानसहित चीनमा रहेका नेपालीहरु त्रासमा दिन काट्न बाध्य छन् ।

चीनबाट नेपाल ल्याएपछि उनीहरुलाई २ साता छुट्टै क्वारेण्टाइनमा राख्नुपर्छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस सर्ने अवधि २ देखि १० दिन हुने भनेकाले त्यस क्षेत्रबाट आएका मानिसहरुसँग २ सातासम्म अन्य मानिसको सम्पर्क हुन दिनुहुन्न ।

यति व्यवस्थापन गर्नु ठूलो चुनौती नभएको इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाका पूर्वनिर्देशक बाबुराम मरासिनी बताउँछन् । उनका अनुसार चीनबाट नेपालमा ल्याएपछि उनीहरुलाई अस्पतालमै राख्नुपर्छ भन्ने जरुरी हुन्न । त्यसैले उनीहरुमा संक्रमण फैलनुअघि नै उद्दार गरिसक्नुपर्छ ।

उनी ५ वर्ष अगाडिको एउटा उदाहरण दिन्छन् ।

पाँच वर्षअघि पश्चिम अफ्रिकी मुलुकहरुमा फैलिएको इबोला भाइरसको त्रास संसारभर थियो । शान्ति मिसनमा गएका प्रहरी तथा सेनालाई नेपाल फर्काउनुपर्ने आवाज उठ्न थाले । अन्य देशले उद्दार गर्न थालेपछि नेपालले पनि सेना र प्रहरी फिर्ता ल्यायो ।

उनी भन्छन्, ‘उनीहरुलाई ल्याएर अस्पतालमा राखिएन । टोखाको सैनिक गणमा २१ दिन राखियो । २१ दिन राख्दा कसैलाई इबोला भाइरसको संक्रमण देखिएन ।’

उनीहरुलाई नै इबोला नदेखिएपछि अरुलाई सार्ने कुरा नै भएन । त्यही उदाहरण दिँदै डा. मरासिनी भन्छन्, ‘अहिले पनि त्यस्तै गरे भइगयो नि ।’

यद्यपि महामारीका लागि पूर्वतयारी नगर्ने बानी नेपाली स्वास्थ्य क्षेत्रको पुरानो रोग भएको उनले स्वीकार गरे । तर अहिले चीनको वुहानमा रहेको नागरिकहरुलाई नेपाल ल्याउन सक्नुपर्ने उनको कथन छ । अरु तयारी विस्तारै गरे पनि आपतकालीन अवस्थामा पहिलो प्राथमिकता उद्दार हुनुपर्ने उनको जोड छ ।

उनी प्रश्न गर्छन्, ‘सामान्य अवस्था रहँदा पनि उनीहरुलाई नेपाल ल्याउन किन ढिलाइ ? ’

यसको जवाफ स्वास्थ्य मन्त्रालयसँग छैन । उसले ‘रेडिमेड’ जवाफ दिन्छ- तयारी गरिरहेका छौं ।

००००

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीनले ६ दिनमा नै नयाँ अस्पताल बनायो । नेपालमा असम्भव होला । यो अहिलेको आवश्यकता पनि होइन । डा. मरासिनी भन्छन्, ‘चीनबाट फिर्ता ल्याएपछि उनीहरुलाई घना वस्ती भन्दा पर घर तथा होटल खाली गरेर राख्न सकिन्छ, अस्पताल नै चाहिन्न ।’

यो पनि पढ्नुहोस कोरोना भाइरस : नेपाल सतर्क भए पुग्छ !

त्यति हो भने उद्दारमा देखिएको अलमलले एउटा प्रश्न उठ्छ, के उनीहरुलाई नेपाल ल्याउन सरकारले उचित नठानेको हो त ?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठ भन्छन्, ‘सम्भावित जोखिमलाई हेरेर नै अरु देशले आफ्ना नागरिक फर्काएका हुन्, हामी पनि फर्काउँदैछौ । तर मन्त्रालयले चाहेर मात्र हुँदैन ।’

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले नै भनेका थिए, ‘तत्काल नेपाल ल्याउनुपर्ने अवस्था छैन ।’ अहिले अरु देशले आफ्ना नागरिक फिर्ता लगेपछि दबावमा परेको तर तयारी नभएकाले अलमलिएको प्रष्ट बुझिन्छ ।

यद्यपि प्रवक्ता श्रेष्ठले सम्भावित ठाउँहरुको अध्ययन भइरहेको तर्क गरेका छन् । उनका अनुसार नेपाली सेनाको नवनिर्मित भवन, सशस्त्र प्रहरी क्याम्प, सरकारका केन्द्रीय अस्पतालका हलहरु, इचंगुनारायणमा सुकुम्बासीका लागि बनाइएको आवास, कीर्तिपुरस्थित आयुर्वेदिक अध्ययन केन्द्र र भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रलाई सम्भावित स्थानका रुपमा पहिचान गरिएको छ ।

तर सरकारको अलमलबाट आजित वुहानका विद्यार्थीहरु र उनीहरुका अभिभावकले भने आक्रोशित हुँदै प्रश्न गर्न थालेका छन्, ‘सरकार हाम्रो मृत्यु पर्खिएर बसेको हो ?’

यो पनि पढ्नुहोस नेपालमा कोरोना भाइरस : स्वास्थ्य क्षेत्रको कुरूप पक्ष देखाउने अर्को ऐना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment