
२० माघ, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाका एक व्यक्ति लागूऔषध गाँजा मुद्धामा धरौटीमा छुटेर फेरि गाँजा कारोबारमै लागेको पाइएको छ । पटेर्वासुगौली गाउँपालिका-१ मलाही टोल बस्ने ४५ वर्षीय उमेश सहनीले लागूऔषधको कारोबारलाई निरन्तरता दिएका हुन् ।
आइतबार राति छापामारी गर्दै प्रहरीले सहनीको घरबाट नगद र १० किलो गाँजा बरामद गरेको छ । प्रहरी टोली पुगे लगत्तै सहनी भने भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सहनीको घरबाट १ लाख ४८ हजार नेपाली रुपैयाँ, २० हजार भारतीय रुपियाँ र १० किलो गाँजा बरामद भएको प्रहरी निरीक्षक कुशल कुमार बर्तौलाले जानकारी दिए ।
‘सहनीको घरमा लागूऔषध गाँजाको अवैध कारोवार हुँदैछ भन्ने बिशेष सूचनाको आधारमा हामी गएका थियौं,’ प्रहरी निरीक्षक बर्तौलाले भने, ‘प्रहरी टोली आएको थाहा पाएपछि सहनी सुटुक्क भागेछन् । खानतलासी गर्दा घर नजिकैको चर्पी छेउमा लुकाएर राखेको अवस्थामा १० किलो गाँजा, १ लाख ४८ हजार नेपाली रुपैयाँ र भारु २० हजार फेला पर्यो ।’
बरामद गरिएको लागूऔषध गाजा र रकम जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको र सहनीको खोजी भइरहेको उनले बताए । यसअघि सहनी विरुद्ध प्रहरीले ०७६ बैशाख ९ गते पर्सा जिल्ला अदालतमा लागूऔषध गाँजा मुद्धा दर्ता गरेको थियो । पर्सा जिल्ला अदालतले मागे बमोजिम ६ लाख धरौटी बुझाएर उनी तारिखमा रिहा भएका थिए । लागूऔषधकै मुद्धामा तारेखमा रिहा भएर सहनीले पुनः उही काम गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4