
२० माघ, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाका एक व्यक्ति लागूऔषध गाँजा मुद्दामा धरौटीमा छुटेर फेरि गाजा कारोबारमै लागेको पाइएको छ ।
पटेर्वासुगौली गाउँपालिका-१ मलाही टोल बस्ने ४५ वर्षीय उमेश सहनीले लागूऔषधको कारोबारलाई निरन्तरता दिएका हुन् ।
आइतबार राति छापामारी गर्दै प्रहरीले सहनीको घरबाट नगद र १० किलो गाजा बरामद गरेको छ । प्रहरी टोली पुगे लगत्तै सहनी भने भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सहनीको घरबाट एक लाख ४८ हजार नेपाली रुपैयाँ, २० हजार भारतीय रुपैयाँ र १० किलो गाँजा बरामद भएको प्रहरी निरीक्षक कुसलकुमार बर्तौलाले जानकारी दिए ।
सहनीको घरमा लागूऔषध गाँजा लुकाइछिपाइ राखी अवैध कारोबार हुँदैछ भन्ने बिशेष सूचनाको आधारमा छापा हान्दा गाँजा बरामद भएको उनको भनाइ छ ।
‘प्रहरी टोली घर पुगेको थाहा पाएपछि सहनी सुटुक्क भागेछन् । खानतलासी गर्दा घर नजिकैको चर्पी छेउमा लुकाएर राखेको अवस्थामा १० किलो गाँजा, नेरु १ लाख ४८ हजार रुपैयाँ र भारु २० हजार फेला पर्यो,’ उनले भने ।
बरामद गरिएको लागूऔषध गाँजा र रकम जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको र सहनीको खोजी भइरहेको बर्तौलाले बताए ।
यसअघि सहनीविरुद्ध प्रहरीले ०७६ वैशाख ९ गते पर्सा जिल्ला अदालतमा लागूऔषध गाँजा मुद्दा दर्ता गरेको थियो ।
पर्सा जिल्ला अदालतले मागे बमोजिम ६ लाख धरौटी बुझाएर उनी तारिखमा रिहा भएका थिए । लागूऔषधकै मुद्दामा तारेखमा रिहा भएर सहनीले फेरि पहिलेकै काममा लागेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4