Comments Add Comment

खराब आहार-विहार नै क्यान्सरको मूल कारण

हामीकहाँ महिलाहरुलाई विगतमा पाठेघरको मुख र पाठेघरको क्यान्सर हुन्थ्यो, अहिले छातीको क्यान्सर देखिन थालिएको छ । पुरुषमा अण्डकोष, फोक्सो, घाँटी आदिको क्यान्सर देखिएको छ । त्यसबाहेक नेपालीमा देखिने कमन क्यान्सर भनेको छालाको, कलेजोको, रगतको, नाक-कान-घाँटीको, ठूलो आन्द्राको, मलद्वारको हो ।

सामान्य अवस्थामा नै क्यान्सरको परीक्षण गर्नुपर्छ । यसका लागि कुनै क्यान्सर अस्पताल पुग्नुपर्दैन, सामान्य स्क्रिनिङबाटै पनि क्यान्सर छ वा छैन भन्ने सामान्य संकेत मिल्न सक्छ । जस्तो फोक्सोको भिडियो एक्स रे गर्दा त्यहाँ क्यान्सर छ/छैन भन्ने सामान्य संकेत मिल्छ । प्याप स्मियर गर्दा पाठेघरको मुखमा क्यान्सर छ, छैन सामान्य संकेत पाउन सकिन्छ । स्तनमा छामेर पनि क्यान्सर लागे-नलागेको सामान्य संकेत पाइन्छ ।

यसरी सामान्य जाँच गर्दा कुनै संकेत मिलेमा थप परीक्षणका लागि क्यान्सर अस्पताल पुग्न सकिन्छ । ती संकेतकै आधारमा हामीले थप वा विशेष परीक्षण गरेर हेर्छाैं र त्यो क्यान्सर हो वा होइन भन्ने टुंगो लगाउँछौं ।

क्यान्सरको लक्षण पर्खनु हुन्न

क्यान्सरको लक्षण पर्खनु नै ठूलो गल्ती हो । जतिबेला हामी लक्षण हेरेर त्यसको उपचार थाल्छौं, ढिला भइसकेको हुन्छ ।

क्यान्सर एकै किसिमको नहुने भएकाले यसको लक्षण यही नै हुन्छ भन्न सकिँदैन । जस्तो फोक्सोको क्यान्सरको लक्षण अलग हुन्छ, पेटको अलग । मिर्गौलाको अलग हुन्छ, पाठेघरको अलग ।

कतिपयलाई लक्षण देखापर्छ, कतिलाई लक्षण देखा नपर्दै क्यान्सर लागिसकेको हुन्छ । जस्तो एउटा व्यक्तिमा क्यान्सरको कुनै संकेत देखिँदैन, तर परीक्षण गर्दा उनमा क्यान्सर भइसकेको हुनसक्छ ।

त्यसैगरी क्यान्सरको लक्षण अरु थुप्रै रोगसँग मिल्दोजुल्दो पनि हुन्छ । जस्तो निरन्तर खोकी लाग्यो भन्दैमा तपाईंलाई फोक्सोको क्यान्सर छ भनेर भन्न सकिदैन । अरु टिबी वा केही कारणले पनि खोकी लागेको हुनसक्छ ।

पहिलो कुरा त लक्षण पर्खने नै होइन । दोस्रो कुरा, लक्षणकै आधारमा क्यान्सर लागेको भन्ने पनि हुँदैन । त्यसैले क्यान्सर लाग्नसक्छ भन्ने कुरामा सधैं सतर्क रहनुपर्छ, सावधान रहनुपर्छ ।

सुरुवाती चरणमा उपचार संभव

यस चरणमा नै क्यान्सर हो भन्ने थाहा भयो भने उपचार संभव हुन्छ । सजिलो पनि । कतिपय क्यान्सर अत्यन्तै ढिलो विकास भइरहेको हुन्छ । जस्तो पाठेघरको मुखमा क्यान्सर विकास हुने क्रम ८-१० वर्षअघिदेखि नै हुन्छ । यदि ८-१० वर्ष अघि नै पाठेघरको मुखमा क्यान्सर हुने लक्षण देखियो है भन्ने थाहा भएमा सम्पूर्ण उपचार संभव हुन्छ ।

कतिपय क्यान्सर यस्तो पनि हुन्छ जसलाई खास उपचारको जरुरत पर्दैन । शरीरको कुनै भागमा रहेको त्यस्ता क्यान्सरले शरीरका अरु भागलाई प्रभावित बनाउँदैन । त्यस्ता क्यान्सर जीवनभर रहेपनि मान्छे सामान्य नै हुन्छन् । कतिपय क्यान्सरसामान्य रोग जस्तै हुन्छ । सामान्य शल्यक्रियाबाटै उक्त क्यान्सर पूर्णत निर्मूल बनाउन सकिन्छ । यस किसिमको क्यान्सरको उपचारपछि ७-८ दिनमै मान्छे सामान्य दिनचर्यामा र्फकन सक्छ । जस्तो कि पित्त थैली झिकेर फ्याकेजस्तै हो ।

कुनै क्यान्सर शरीरको निश्चित भागमा हुन्छ र त्यो तीव्र रुपमा फैलिएको हुँदैन । यस्तो क्यान्सरको उपचार सजिलो हुन्छ र रोगी पूर्णतः निको हुन्छन् ।

क्यान्सर कहाँ, कसरी र कति फैलिएको छ भन्ने कुरामा नै यी सबै कुरा निर्भर रहन्छ ।

डा. उज्वल चालिसे

क्यान्सरको भयले अस्पताल धाउनेहरु

आफूलाई क्यान्सर भएको अनुमान गरेर आउनेहरुमध्ये धेरैजसोको परीक्षणपछि क्यान्सर नभएको देखिएको छ । क्यान्सर नभएपछि उनीहरु ढुक्क त भए । जाँच गराउनु आए । तर, यसका लागि एउटा संयन्त्र चाहि हुनुपर्छ ।

क्यान्सर लागेको छ, छैन भनी परीक्षण गराउन आउनेदेखि क्यान्सरकै रोगीहरु एकै ठाउँमा राखेर हेर्नुपर्दा त्यति व्यवस्थित हुँदैन । सामान्य क्यान्सरको परीक्षण सर्वसुलभ हुनुपर्छ । सबैतिर हुनुपर्छ । त्यसो भएमा क्यान्सर अस्पतालमा परीक्षण मात्र गराउन आउनेहरुको भिड लाग्दैन र वास्तविक क्यान्सर पीडितहरुले अरु सहज रुपमा उपचार पाउँछन् ।

कतिपय सचेत भएर आएका हुन् । कतिपयलाई भने मनको बाघले खाएको हो । उनीहरुलाई क्यान्सर छैन भन्दा पनि पत्याउँदैनन् । एक जना चिकित्सकको विश्वास नलागेर अरु चिकित्सकलाई पनि भेट्न पुग्छन् ।

खराब आहार-विहार नै मूल कारण

विभिन्न कारणले क्यान्सर लाग्छ । कसैलाई चुरोट पिएर फोक्सोको क्यान्सर लाग्छ भने कसैलाईं काठमाडौंको धूलोले । कसैलाई खराब खानपानले क्यान्सर लाग्छ, कसैलाई वंशाणुगत हिसाबले ।

मूलतः खराब आहार विहार क्यान्सरको कारक मानिएको छ । त्यससँगै हाम्रो पर्यावरण, जीवनशैली आदि पनि क्यान्सरको कारक हुन् । कतिपयलाई भने यसै पनि क्यान्सर हुन्छ । उनीहरुको शरीरको बनावटमा भर पर्छ । कतिपयलाई वंशाणुगत क्यान्सर हुन्छ ।

यदि आफ्ना सन्तानमा तीन जनाभन्दा बढी खासगरी बुवाआमा, हजुरबा, हजुरआमा वा कसैलाई क्यान्सर छ भने उनका सन्तानले अनिवार्य रुपमा क्यान्सरको जाँच गराइरहनु पर्छ ।

जनचेतनाको कमी

हामीसँग स्वास्थ्य सचेतना छैन । स्वास्थ्यप्रति हामी चिन्तित त छौं, तर सचेत छैनौं, सजग छैनौं । यसो हुनुमा हामीकहाँ स्वास्थ्यको पहुँच छैन । सर्वसुलभ छैन । सामान्य अवस्थामा पनि स्वास्थ्य परीक्षण गराउने प्रचलन छैन ।

मुख्य कुरा, जनचेतनाको कमी छ । स्वास्थ्य जागरणको अभाव छ । दोस्रो कुरा, स्वास्थ्य सेवा सहज छैन । यही दुई कारणले धेरैजसो रोग पालेर बसेका छन् । शहरमा मात्र होइन, गाउँको कुना कन्दरासम्म क्यान्सरबारे जनचेतना जगाउनु नै पहिलो आवश्यकता हो । त्यसपछि उपचारलाई सर्वसुलभ र सहज बनाउनुपर्छ ।

क्यान्सर लागेर उपचार गर्नुभन्दा क्यान्सर लाग्न नदिनु नै सर्वोत्तम हो ।

लेखक भक्तपुर क्यान्सर अस्पतालमा ‘रेडिएसन अन्कोलोजी’ विभागका प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment