Comments Add Comment

संगठन विभागको पहिलो एक्सन प्रदेश २ बाट हुन्छ : वामदेव

प्रदेश २ मा नेकपाको केन्द्रीय हस्तक्षेप, दलको नेता हटाउन असन्तुष्ट पक्षको गृहकार्य

२१ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा प्रदेश २ मा पार्टी बिघटनको चरणमा पुगेको रिपोर्टिङ पेश भयो । समूहगत छलफलका क्रममा १५ औं समूहबाट प्रदेश २ मा केन्द्रले हस्तक्षेप नगर्ने हो भने नेकपा धराशायी हुने कुरा उठ्यो ।

प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल मिलेर पार्टीको बिधान, अन्तरपार्टी निर्देशन र निर्णयहरु विपरीत मनपरी गरेको भन्दै तत्काल केन्द्रको हस्तक्षेप हुनुपर्ने माग स्वयं केपी ओली र प्रचण्ड निकटका नेताहरुले पनि गरेका थिए ।

बैठकले अन्तिममा प्रदेश २ को विवाद मिलाउने जिम्मा उपाध्यक्ष वामदेव गौतम नेतृत्वको संगठन विभागलाई दिएको छ । यद्यपि केन्द्रीय कमिटी बैठक समापनअघि जवाफ दिने क्रममा प्रचण्डले प्रदेश २ मा नेताहरुबीच केही विवाद देखिए पनि जनमत नेकपाको बढेको भन्दै उपनिर्वाचनमा महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष जितेको प्रसंग झिकेका थिए ।

प्रदेश २ मा शुरुमा प्रदेश पदाधिकारी चयन गर्दा ओलीनिकट सत्यनारायण मण्डल इन्चार्ज र प्रचण्ड निकट प्रभु साह अध्यक्ष बनाइएका थिए । त्यस्तै नारायणकाजी श्रेष्ठ निकट विश्वनाथ साह सहइन्चार्ज र ओली निकट सुमन प्याकुरेल प्रदेश कमिटीको सचिव मनोनित भए ।

पछि कार्य बिभाजन गर्दा माधव नेपाल निकट नागेन्द्र चौधरी र प्रचण्ड निकट महेन्द्र पासवान सहइन्चार्ज थपिए । चौधरी र पासवानलाई केन्द्रीय सचिवालयले सहइन्चार्जको जिम्मेवारी दिए पनि इन्चार्ज सत्यनारायण मण्डल र अध्यक्ष प्रभु साहले अहिलेसम्म बैठकमा समेत नबोलाएको प्रसंग केन्द्रीय कमिटीमा उठेको थियो ।

केही समयअघि अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेलको उपस्थितिमा प्रदेश कमिटीले बर्दिबासमा सपथग्रहण कार्यक्रम आयोजना गर्न लागेको थियो । तर मात्रिका यादव, रामचन्द्र झा, नागेन्द्र चौधरीलगायतका नेताहरुले सो कार्यक्रम अवैध भएको भन्दै विरोध गरेपछि अन्तिममा प्रचण्ड र बिष्णु पौडेल गएनन् ।

अध्यक्ष र महासचिव नगएपछि सपथग्रहण अघि बढाउन खोज्दा झडपनै भएको थियो । त्यसयता प्रदेश २ मा नेकपाका कुनै पनि भेला बैठक र पार्टीका अन्य गतिविधिहरु हुन सकेका छैनन् । राष्ट्रियसभामा राजपासँगको गठबन्धन जिताउन भने सबै पक्षका नेता खटिएर चुनाव जिताए ।

प्रदेशको मुख्य समस्या भनेको स्थानीय अन्तरबिरोध हो । केन्द्रमा केपी ओली समूहमा रहेका नेताहरु प्रदेशमा बिभाजित भएर एउटा पक्ष माधव नेपाल गुटसँग मिलेको छ । त्यस्तै प्रचण्ड गुटका नेताहरु तीन समूहमा रहे पनि प्रभु साहविरुद्धको लडाइमा एकजुट छन् ।

केन्द्रका गुटका आधारमा हेर्ने हो भने सत्यनारायण मण्डल, रघुवीर महासेठ, श्रीप्रसाद साह, गंगाप्रसाद यादव, धर्मनाथ साह, सरोज यादव गायतका नेता ओली निकट हुन् । तर, प्रदेशको विवादमा श्रीप्रसाद, गंगाप्रसाद , धर्मनाथलगायतका नेता इन्चार्ज मण्डलको विपक्षमा छन् ।

पार्टी संगठननै बिघटनको अवस्थामा पुर्‍याउन प्रदेश इन्चार्ज मण्डलको मुख्य भूमिका रहेकाले आफू विपक्षमा उभिनु परेको केन्द्रीय सदस्य साहले बताए । मण्डल, प्रभु शाह र समुन प्याकुरेल मिलेर पार्टी बिधान र निर्देशन विपरीत पार्टी सदस्यनै नरहेका व्यक्तिलाई प्रदेश कमिटीमा ल्याएको प्रमाणनै केन्द्रीय कमिटीमा पेेश गरिएको उनको भनाइ छ ।

एउटै जिल्ला कमिटीमा यसअघि निर्वाचि २५ जनासम्म सदस्य हटाएर मण्डल प्रभु साह समूहले पार्टी सदस्यसमेत नरहेका अवैधानिक व्यक्तिहरुलाई जिल्ला सदस्य बनाएकाले ती कुनै पनि निर्णय मान्य नहुने उनीहरुले बताएका छन् । रौतहटमा मात्रै माधव नेपाल निकट २५ जिल्ला कमिटी सदस्य हटाइएको छ ।

प्रदेश २ मा तत्कालीन एमालेभित्र माधव नेपाल पक्ष बलियो थियो । तर, पछिल्लो समय ओली पक्षको पनि मण्डल समूहले प्रभु साहसँग मिलेर नेपाल पक्षलाई सिध्याउन खोज्दा समस्या आएको छ । पूर्वमाओवादीमा पनि रामचन्द्र झा,मातृका यादवलगायतका नेताले प्रभु साहको एकलौटीविरुद्ध मोर्चा कसेका छन् ।

अहिले नेकपाको प्रदेश २ मा प्रदेश पदाधिकारीविरुद्ध माधव नेपाल पक्ष एकजुट भएर उभिएको छ भने केपी ओली र पूर्वमाओवादी समूहका आधा जति नेता पनि विपक्षमा छन् । सत्यनारायण मण्डल, रघुवीर महासेठ, प्रभु साह र सुमन प्याकुरेलविरुद्धको मोर्चाबन्दी बलियो रहेको साहले बताए । सहइन्चार्ज विश्वनाथ साह तटस्थ जस्ता देखिन्छन् ।

वामदेवको एक्सन प्रदेश २ बाटै

यसैबीच नेकपा उपाध्यक्ष तथा संगठन विभाग प्रमुखले आफ्नो पहिलो एक्सन प्रदेश २ बाटै सुरु हुने बताएका छन् । कर्णाली प्रदेशका दैलेखे, जुम्ला, सल्यानलगायतका जिल्लाको विवाद समाधानका लागि आग्रह गर्न पुगेका नेताहरुसँग गौतमले पहिले प्रदेश २ बाट समस्या समाधान थाल्ने बताएका हुन् ।

हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी एकताका क्रममा बिभिन्न जिल्लामा उत्पन्न समस्या समाधानको जिम्मा संगठन बिभागलाई दिएको छ । बिभागले सबैभन्दा पहिला प्रदेश २ बाट काम थाल्ने गौतमले बताएका केन्द्रीय सदस्य तथा विदेश बिभाग प्रमुख बिष्णु रिजालले जानकारी दिए ।

प्रदेश २ मा विवादका कारण कमिटीहरुले वैधानिकता समेत नपाएको र सपथग्हण समेत नभएकाले संगठन विभागको ध्यान त्यसतर्फ गएको गौतमले बताए । संगठन बिभागले विधान र पार्टी नीति निर्देशन विपरित भएको भेटिए प्रदेश कमिटीका निर्णयहरु समेत बदर गर्ने अधिकार पाएको छ ।

दलको नेता हटाउने गृहकार्य

नेकपाको प्रदेश कमिटी र जिल्ला कमिटीमात्र होइन प्रदेशसभा संसदीय दलमा समेत ठूलो विवाद छ । प्रदेश कमिटी विवादको प्रभाव दलमा समेत देखिएको हो । प्रदेश इन्चार्ज मण्डल प्रदेशसभामा विपक्षी दलको नेता समेत छन् ।

पार्टीको विवाद चर्किदै जाँदा उनलाई संसदीय दलको नेताबाट हटाउने गृहकार्य समेत चलेको नेकपा स्रोतले जनाएको छ । सत्रुघन महतो, मन्जु यादवलगायतका नेताहरुलाई मण्डलले कारबाहीको धम्की दिएका थिए ।

मण्डललाई दलको नेताबाट हटाउन बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षर संकलनका लागि गृहकार्य भइरहेको एक नेताले बताए । प्रदेश २ को प्रदेशसभामा नेकपाका ३२ सांसद छन् । मण्डललाई हटाउन १७ सांसदको हस्ताक्षर चाहिन्छ ।

पूर्वमाओवादीभित्रको एउटा समूह पनि मण्डल हटाउन चाहान्छ । प्रचण्ड चुप लाग्ने हो भने मण्डललाई हटाउन आवश्यक संख्या पुग्ने दाबी अर्को पक्षको छ । तत्कालीन एमालेमा सत्रुघन महतोलाई पराजित गरेर मण्डल दलको नेता बनेका थिए ।

पार्टी एकतापछि प्रदेश इन्चार्ज समेत रहेकाले मण्डललाई नै दलको नेता कायम गरिएको थियो । प्रदेश २ मा सरकार ढालेर राजपासँग मिलेर मण्डल मुख्यमन्त्री बन्न खोजिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment