Comments Add Comment

कोरोना भाइरस : भ्रम, हल्ला र यथार्थ

२१ माघ, काठमाडौं । सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको शब्द सापटी लिएर भन्नुपर्दा अहिले नेपाल मात्र होइन, विश्व नै ‘कोरोना फोबिया’को सन्त्रासमा छ । सार्वजानिक बस होस् या चिया पसलमा होस्, चर्चा कोरोनाकै छ । कसैलाई रुघा लाग्यो कि अर्कोले आएर फ्याट्ट भनिदिन्छ, ‘कोरोना भयो कि क्या हो…।’

धेरैलाई थाहा छैन् वा थाहा भएर पनि विर्सिएका छन्, कोरोना संक्रमण हुन  संक्रमित क्षेत्रको हुनुपर्छ । त्यो नभए कोरोना प्रभावित क्षेत्रमा बसोबास गरेर आएको मानिस संगतमा हुनुपर्छ ।

डाक्टर पुन भन्छन्,  ‘रुघाँखोकी र ज्वरो कोरोना होइन,  रुघाखोकीलाई कोरोना भनेर मानिस झुक्किनुको कारण यी दुई भाइरसको प्रारम्भिक लक्षणहरु समान हुनु नै हो ।’

खासमा कोरोना भाइरसबारे विश्वभरका भाइरोलोजिस्टहरु अध्ययनकै क्रममा छन् । र, अहिले देखा परेको कोरोना नयाँ प्रकारको भएको बताइएको छ ।

सिभियर अक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) भाइरसका कारण सन् २००१ मा ७७४ जनाको मृत्यु भएको थियो भने ८ हजार ९८ जना यसबाट संक्रमित भएका थिए । तर कोरोनालाई सार्स जत्ति हानिकारक भाइरस मानिएको छैन । किनकि, विश्व स्वास्थ्य संगठनले कोरोना लागेका र मृत्यु भएकाको अनुपात ४ प्रतिशत भएको बताएको छ । अर्थात १०० जना संक्रमित भएकामा ४ जनाको मृत्यु हुनसक्छ ।

हल्ला, भ्रम र यथार्थ

तर अहिले विभिन्न माध्यमबाट जनमानसमा कोरोना भाइरसलाई लिएर धेरै भ्रम फैलिएको छ ।

तर चिकित्सकहरुले भनेका छन्, ‘भिडभाडामा नजानुस्, चीनबाट फर्किएकाहरु, जसलाई रुघाखोकी र ज्वरो आएको छ, उनीहरुबाट टाढै रहनुस् । कोरोनासँग डर मान्नु पर्दैन । डाक्टर पुन भन्छन्, ‘चिनियाँ सामान प्रयोग गरेर कोरोना सर्छ भन्नु भ्रम फैलाउने काम गर्नु हो ।’

 कोरोना भाइरस सार्ने चमेरो हो ?

अहिले सामाजिक सञ्जालमा चमेरोको मासु खाएर कोरोना भाइरस सरिएको भनिएको छ ।

तर चमेरोको मासु खाएर कोरोना प्रकोप फैलिएको पुष्टि भइसकेको छैन ।

विभिन्न अध्यनहरुले चमरो ‘निपा’ लगायत भाइरस सार्ने सम्भावित स्रोत भनेका छन् । तर त्यो सहजै पाइने परिकार होइन । त्यसैले वास्तविकता पहिचान गर्ने काम जारी छ र, चमेरोको कारण कोरोना संक्रमण भएको भनेर भन्न सकिँदैन ।

अध्ययनहरूले के चाहिँ भनेको छ भने कोरोना भाइरस गैरकानुनी रूपमा व्यापार गरिने वन्यजन्तुमार्फत वुहानको समुद्री खाद्यपदार्थ बजारबाट फैलिएको हुनसक्छ ।

कोरोनालाई उसिनेको लसुन पानीले ठीक गर्छ ?

सामाजिक सञ्जालमा उसिनेको लसुन पानीले ठिक गर्छ भन्दै भिडियोहरू पनि पोष्ट भएको भेटिएको छ । एक अध्यनअनुसार लसुन पानी साधारण रुघाँखोकीको घरेलु औषधी हो । तर लसुन पानीले कोरोना ठीक गर्छ भन्नुमा कुनै सत्यता छैन ।

कोरोना भाइरस योजनावद्ध प्रकोप हो ?

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा थुप्रै प्याटन्टसम्बन्धी कागजपत्र सार्वजनिक हुन थाले, जसमा कोरोना नयाँ भाइरस नभएर वर्षौ पुरानो र विज्ञहरुलाई थाहा भएको भनिएको छ । कागजात भाइरल भएपछि प्याटन्टसमबन्धी खोजी हुन थाल्यो र त्यसबाट थाहा भयो कि उक्त प्याटन्ट नयाँ कोरोना भाइरसबारे होइन ।

उक्त प्याटन्ट कोरोना भाइरस समूहकै एउटा सदस्य ‘एभीअन इन्फेक्स ब्रोङ्काइटिस भाइरसको थियो ।

सर्पको खाएको कारण कोरोना भएको हुनसक्छ ?

जर्नल अफ मेडिकल भाइरोलोजीमा जनवरी २२ सर्पको मासुको कारण कोरोना हुन सक्ने भनिएको थियो । त्यसको केही दिनमा कोरोना भाइरसको थप अध्यन गरेपछि उनीहरुले पहिलेको कुरा खण्डन गर्दै भने, ‘अहिले नै सर्पको कारण कोरोना भएको भन्न सकिन्न्, कोरोना संक्रमणको कारण अन्य हुन सक्छन् ।’

घर पालुवा जनावरले कोरोना सार्न सक्छ ?

अध्ययनअनुसार कुकुर र बिरालो जस्ता घर पालुवा जनावरहरु पनि मानिस जस्तै कोरोना भाइरस संक्रमणको खतरामा छन् । तर घर पालुवा जनावरले कोरोना सार्दैनन् । अहिलेसम्म घर पालुवा जनावहरुले कोरोना संक्रमण देखाएको पुष्टि भएको छैन ।

कोरोना संक्रमण फैलिनुको कारण के त ?

भाइरोलोजिस्टहरुले अझै पनि यदि कुनै जनावरमा नोभेल कोरोना भाइरस पत्ता लगाउन सकियो भने यो भाइरसलाई नियन्त्रणमा लिन धेरै सजिलो हुने कुराहरु भनिरहेका छन् ।

तर  कुन जनावर भन्नेमा उनीहरू नै  अनविज्ञ छन् । उनीहरूले समुद्रमा जाने स्तनधारी जनावरबाट कोरोना भाइरस मानिसमा सरेको हुनसक्ने अनुमानलाई पनि खण्डन गरेका छन् ।

कोरोना भाइरस जसलाई र जहिले पनि सर्नसक्छ ?

विश्व स्वास्थ्य संगठनले कोरोना जसलाई र जहिले पनि सर्नसक्छ भनेको छैन । संगठनकाअनुसार अहिलेसम्म चीन बाहिरका मानिसहरुलाई चीनबाट फर्किएका मानिसहरुको सम्पर्कमा पुगेपछि मात्र कोरोना संक्रमण भएको देखिएको छ ।

त्यसैगरि संगठनले भनेको छ, ‘चीन गएको र चीनबाट फर्किएको मानिससँग सम्पर्कमा रहेको १४ दिनसम्म कोरोना सर्न सक्छ । अरु मानिसहरु डराउनु पर्दैन ।

लक्षणहरु :

  • सुरुमा ज्वरो आउने
  •  सुक्खा खोकी लाग्ने
  • यस्तो भएको करिब एक सातापछि सास फेर्न गाह्रो हुने

उपचार सम्भव छ त ?

हालसम्म कोरोनाको कुनै औषधी वा खोप पत्ता लागेको छैन । अहिले मेडिकल साइन्टिस्टहरु कोरोना प्रतिरोधी औषधीबारे अनुसन्धानमा छन् । तर  कोरोना भाइरसको संक्रमणको कारण पत्ता नलागिसकेकाले औषधी पत्ता लगाउन सहज छैन ।

त्यसो भए बच्ने उपाय के छ त ?

  • मानिसहरूको जमघटमा कमी ल्याउने।
  • हात धुने र यसबाट बच्ने अन्य उपायबारे जनचेतना फैलाउने ।
  • सुरक्षित ड्रेसका साथ डाक्टरहरूले संक्रमित बिरामीलाई छुट्टै स्थानमा राखी उपचार गर्ने ।

मुख्यतः यस भाइरसबाट संक्रमित बिरामीलाई पहिचान गरी उनीहरूलाई सुरक्षित स्थानतर्फ सार्नु नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment