Comments Add Comment

डढेलो नियन्त्रणका क्रममा मृत्यु भएका स्वयमसेवकका परिवारलाई विशेष सम्मान

क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अग्नि नियन्त्रणमा खटेर मृत्यु हुने स्वयमसेवकका परिवारलाई राजधानी क्यानबेरामा सम्मान गरेका छन् ।

मंगलबार अस्ट्रेलियाको संसदमा आयोजित विशेष शोकसभामा लामो तथा भाबुक मन्तब्य दिदै उनले यो वर्षको आगलागीको मौसमलाई ‘कालो समर’को संज्ञा दिएका छन् ।

उनले कालो समरमा अस्ट्रेलियाले आगलागीबाट ३३ जना होनहार सन्तति गुमाएको र झन्डै ३ हजार घरहरु गुमाएको बताएका छन् ।

प्रधानमन्त्री मरिसनले आफ्नो शोक मन्तब्यमा अस्ट्रेलियाले व्यहोरिरहेको दु:खद घडीमा ७० देशले सहयोगको बचन दिएको र विभिन्न देशका तीन सय अग्नि नियन्त्रकहरु अस्ट्रेलियामा आएर सहयोग गरिरहेकोमा सबै सहयोगी देशहरु तथा स्वयमसेवकहरुलाई धन्यबाद पनि दिएका छन् ।

उनले अस्ट्रेलियाका ६ हजार ५ सय सैनिकहरु र तीन हजार स्वयमसेवकहरु दिन रात आगोबिरुद्ध लडिरहेका बताएका छन् ।

‘आगोले हाम्रा पहाडहरुको उचाइ छोएको छ र समुद्री किनाराहरुको लम्बाइ पार गरेको छ तर हाम्रा पच्चिस मिलिएन जनताको हामीलाई साथ छ,’ प्रधानमन्त्री मरिसनले संसद्को विशेष समारोहमा भने, ‘हाम्रा जनताको जीवन र सम्पत्ति जोगाउदै गर्दा ज्यान गुमाउनेका आदरणीय परिवारहरु आज यहाँ हुनुहुन्छ, उहाँहरु सबैप्रति हाम्रो उच्च सम्मान छ ।’

उनले आगो नियन्त्रणको काम सकिएपछि अस्ट्रेलियाले संकटकालीन अवस्थामा जोखिमपूर्ण काम गर्नेहरुलाई दिइने विशेष पदक कानूनमा संशोधन गरेर यो वर्षको अग्नि नियन्त्रणमा जीवन गुमाउने सबै वास्तविक नायकहरुलाई मरणोपरान्त पदक दिइने बताए ।

उनले डढेलोमा खटेका स्वयमसेवकहरुका लागि आर्थिक सहयोग गर्ने सबै जनता, साना र ठूला व्यवसायी, स्कूले नानीहरु, सामाजिक संस्थाहरु, च्यारिटी संस्थाहरु सबैलाई बिशेष धन्यबाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment