Comments Add Comment

सम्पादकसँग प्रधानमन्त्री : एक ब्याटिङमा रिसाउन भएन !

'मैले बोलेका कुराले बिझाएको भए क्षमाप्रार्थी छु'

२१ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार र सरकारवीचको आलोचना-प्रतिआलोचनालाई बलिङ र ब्याटिङको संज्ञा दिएका छन् । घरमा पनि कहिलेकाँही यस्तो हुने बताउँदै प्रधानमन्त्रीले भने- मैले बोलेका कुराहरुले बिझाएको भए क्षमाप्रार्थी छु ।

सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले बालुवाटारमा मंगलबार साँझ सम्पादकहरुसँग भावना साटासाट गरे । प्रधानमन्त्रीले भने, ‘कहिलेकाहीँ अतिशयोक्ति साहित्यमा हुन्छ । मान्छेले रीस उठ्दाखेरि ‘मार्दिन्छु तँलाई’ भन्छ । तर, त्यो साँचो भन्या होइन ।’

बालुवाटारमा निम्त्याइएका २५ सम्पादकसँगको भेटमा प्रधानमन्त्रीले सरकार प्रेसप्रति असहिष्णु नरहेको बताउँदै मिडियाबाट सहयोगको अपेक्षासमेत गरे । उनले भने, ‘को-अपरेट गर्न आग्रह गर्न चाहन्छु । तपाईहरुको सहयोगको अपेक्षा गर्न चाहन्छु ।’

आफूले बोलेका कुराहरु पत्रकारलाई नबिझाउन् भन्दै आफूलाई आएको गालीको अलिअलि जवाफ दिएको प्रधानमन्त्री ओलीले बताए । यस्ता विषयलाई सामान्य रुपमा लिनुपर्ने उनले औंल्याए ।

‘अलिकति जवाफ हामीले पनि दिनुपर्ने हुन्छ । कमेन्ट गर्नुपर्ने हुन्छ । बलिङ गरेपछि अलिअति ब्याटिङ त गर्नैपर्ने हुन्छ’ प्रधानमन्त्रीले भने, ‘तपाईहरु बलिङ दिएको दियै गर्ने, मैले एक ब्याटिङ दिँदा रिसाउन भएन । हामी सबैको उद्देश्य एउटै हो । तपाईहरुका सुझाव मैले गम्भीरताका साथ सुनेको छु ।’

प्रधानमन्त्रीको भनाइको सारसंक्षेप उनकै शब्दमा-

तपाईहरु अलिअलि बढ्ता भएको पनि हो । बढ्ता हुनु ठीक हो, स्वाभाविक हो । किनभने, लडेर डेमोक्रेसी ल्याएको छ, लडेर स्वतन्त्रता ल्याएको छ, यसरी ल्याएको फि्रडम भएपछि अहिलकति मान्छेले इन्जोय त गरिहाल्छन् ।

जेलबाट छुट्नेवित्तिकै म गोसाइँकुण्ड गएँ । फ्रिडम इन्जोय गर्न गएको, अर्थोक केही होइन । भर्खर जेलबाट छुटेको, गोसाइँकुण्ड जाँदा झण्डै नमर्‍या ! १४ वर्ष जेल बसेर कुँजिएको मान्छे, गोसाइँकुण्डतिर लागेपछि अमरसिंह थापाजस्तो झण्डै नभाको !

डेमोक्रेसीमा अलिअलि यस्ता कुराहरु हुन्छन् । मचाहिँ अन्डस्ट्यान्ड गर्छु यी कुराहरुलाई । तपाईहरुलाई मैले बोलेका कुराहरुले बिझाएको भए क्षमाप्रार्थी छु । नबिझाउन् । कहिलेकाहीँ यस्तो घरमा पनि चल्छ नि ।

सरकार असहिष्णु होइन, हुन सक्दैन । कहिले-कहिले मैले पनि भन्छु । तपाईहरु कत्ति असहिष्णु, मैले केही भन्नै नपाउने ? अरुलाई चाहिँ सहिष्णु हुनुपर्छ, सुन्नैपर्छ, सुन्नै नसक्ने भन्ने, मैलेचाहिँ तपाईहरुको अलिकति राम्रा कुराको प्रशंसा गर्ने मुटु छैन ? भन्दाखेरि उत्पात मच्चाउने ? किन त्यस्तो असहिष्णुता ? अलिअलि त तपाईहरु पनि सहिष्णु हुनोस् न कहिले कहिले हौ ! एउटा गीत गाउँछन् नि, केही भन्नै हुन्न गाँठ्ठे… ! केही भन्नै नहुने ।’

तपाईहरुले चाँहि लेख्न हुने, छाप्न हुने, भन्न हुने, व्यंग्य पनि, चित्र पनि बनाउन हुने, कविता पनि कोर्न हुने, लेख पनि देख्न हुने, जे पनि छाप्न हुने । हामीले हैन, अति नै पो गरे हौ साथीहरुले त भनेर भन्यो भने लौ.. यो त भनेर फेरि… । अलिअलि त हामीले पनि यसो भन्न पाउनुपर्छ नि । थोरैतिनै यसको पनि त संरक्षण गर्दिनोस् ।

सरकार असहिष्णु हुनै सक्दैन । हामी सानोतिनो मूल्य तिरेर यहाँ आइपुगेका छैनौं । हामी सबैलाई थाहा छ, स्वतन्त्रताका हकहरु, यो प्रणाली, स्वतन्त्रताको हक पनि जान सक्दैन, प्रेस स्वतन्त्रता पनि जान सक्दैन । यो सबैलाई थाहा छ । सरकारले चाह्यो भने पनि जान सक्दैनन् । यो त सिंगो समाजको बनोटको कुरा हो ।

हामी एउटा स्वतन्त्र समाजमा छौं । स्वतन्त्र समाजमा बाँचिरहेका छौं र यस्तो खतरा केही पनि छैन । पहिलो कुरा त प्रेस स्वतन्त्रताको सन्दर्भमा, मिडियाको स्वतन्त्रताको सन्दर्भमा म सरकारका तर्फबाट तपाईहरुलाई पूर्णरुपमा आश्वस्त हुन आग्रह गर्न चाहन्छु । कुनै प्रकारको प्रेस स्वतन्त्रतामा किञ्चित पनि बन्देज हुँदैन । र, प्रेस स्वतन्त्रतालाई सीमित गर्ने, या स्वतन्त्रताका हकहरु, कुनै पनि, प्रेस, वाक, प्रकाशन, मुभमेन्ट आदि विभिन्न स्वतन्त्रताका हकहरु कुनै पनि कुण्ठित गरिँदैन ।

म आफैं ५५ वर्षस्वतन्त्रताको निम्ति लडेँ । मानवअधिकारका निम्ति मैले लडेको छु । मानवअधिकारको अभाव र स्वतन्त्रताको अभाव अवस्था कस्तो हुन्छ, साथीहरुले अलि बढी देख्नुभएको छ, मैले धेरै भोगेको छु । त्यसकारण म साथीहरुलाई फेरि पनि भन्न चाहन्छु, यसमा साथीहरुले आशंकित हुनुपर्ने वा चिन्ता लिनुपर्ने अवस्था होइन, छैन ।

कुनै हिसाबले कुनै कुरा छलफलका क्रममा गलत भएको छ भने त्यसलाई सच्याउन नसकिने कुरा छैन । पूर्ण प्रेस स्वतन्त्रता हुन्छ ।

केही केही कानुन, केही केही कुराहरु सभ्य समाजका निम्ति भन्नुपर्ने, राख्नुपर्ने हुन्छ । हामी एउटा सभ्य समाज निर्माण गर्न चाहन्छौं । मैले आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अर्को व्यक्तिको स्वतन्त्रताको हनन हुन भएन । मैले आफ्नो सम्मानको कुरा गर्दा अर्कोलाई अपमान गरिन भएन । मैले आफ्नो अधिकारको कुरा गर्दा अर्काको अधिकारको अपहेलना हुन भएन । यी कुराप्रति हाम्रो सजगता आवश्यक छ । यो चाहिँ प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने विषय होइन । प्रमाणित र एउटा जिम्मेवार ढंगले सभ्य प्रस्तुती होस् भन्ने एउटा आकांक्षा हो ।

कसैको वैयक्तिक जीवन, कसैको पारिवारिक जीवन, कसैको कारोबार अनुचित ढंगले क्षति पुर्‍याउने हिसाबमा पुर्‍याइयो भने त्यस्तोमा के गर्ने ? त्यसलाई सच्याउने बाटो होला, अथवा त्यस्तो नगर्नु भनेर रोक्नुपर्ने अवस्था होला । बाटोमा हिँड्ने अधिकार त हामी सबैलाई हुन्छ, तर बाटोमा कसरी हिँड्ने भन्ने त सभ्य समाजमा आउँछ नि ।

दुईवटा विकसित देशलाई हेर्दा एउटा विकाससँगै सभ्यतामा गर्व गर्छ, अर्को विकासमा मात्रै । म देशका नाम नलिऔं । एउटामा शालीनता छ, विनम्रता छ । कुरा गर्दाखेरि झुकेर कुरा गर्छन् । अर्कोमा त्यो छैन । एउटामा सामाजिक मूल्यहरु माथि हुन्छन् भने अर्कोमा कम हुन्छन् ।

हामीले सभ्य समाज बनाउन खोज्या हौं । हामीले नेपाललाई समृद्ध मात्रै बनाउन खोजेका होइनौं, सभ्य, मानवीय भावनायुक्त, पारस्पारिक सहयोगात्मक सम्बन्ध भएको समाज निर्माण गर्न खोजेका हौं हामीले । त्यतापट्टी हामी सबैका प्रयासहरु केन्दि्रत हुनुपर्छ । यसमा प्रेस स्वतन्त्रताजस्तो कुरालाई कुण्ठित गरेर हुने भन्ने होइन । यसलाई प्रेस स्वतन्त्रताको संकुचनसँग जोड्ने अथवा अझ लगेर स्वतन्त्रताका हकहरुको संकुचनतर्फ लगेर अथवा लोकतन्त्रसँग लगेर…।

कहिलेकाहीँ अतिशयोक्ति साहित्यमा हुन्छ । मान्छेले रीस उठ्दाखेरि ‘मार्दिन्छु तँलाई’ भन्छ । त्यो साँचो भन्या होइन । कहिलेकाहीँ पत्रकारहरुले त्यस्तै गर्दिनुहुन्छ ।

तर, के नेपालमा तानाशाही छ र ? त्यहाँ पुग्यो र देश ? के हामी साँच्चै त्यहीँ छौं त ? देश के हामी घुम्न हिँड्ने बेला भयो त ? अथवा त्यस्तै बन्द समाज त्यस्तै कर्फ्यु छ र ? अहिलेको सरकार लोकतान्त्रिक आन्दोलनबाट आएको हो । जनताले सबभन्दा विश्वास गरेको सरकार हो । यो सरकार जनताप्रति उत्तरदायी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment