Comments Add Comment

नारायणहिटीमा होटल बन्दैन, कफी सपसम्म बन्न सक्छ : पर्यटनमन्त्री भट्टराई

२२ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नारायणहिटी दरबारमा होटल सञ्चालन नगर्ने स्पष्टिकरण दिएका छन् ।

बुधबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले नारायणहिटीमा होटल बनाउन नलागिएको स्पष्टिकरण दिएका हुन् । ‘नारायणहिटी दरबारमा कुनै होटल बन्दैनन् । कफी सपसम्म हुन सक्छ । त्यसलाई होटल भन्न नमिल्ला । संग्रहालयको मान्यताअनुसार नै जान्छ । होटल रिसोर्ट बनाउने होइनु उनले भने ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० मा चीनबाट मात्र ५ लाख पर्यटक ल्याउने लक्ष्य भए पनि कोरोना भाइरसको संक्रमणका कारण सम्भव नहुने देखिएको बताए ।

उनले चीनबाट हुने घाटा पूर्ति अर्को पर्यटन बजारबाट खोजिने पनि बताए । ‘त्यताबाट हुने घाटा पूर्ति गर्नका लागि अन्त हेर्दैछौं, वैकल्पिक प्वाइन्ट खोजिरहेका छौं’ मन्त्री भट्टराईले भने ।

नेपाल कोरोना भाइरसमुक्त रहेको भन्दै मन्त्री भट्टराईले संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको पनि बताए । ‘नेपालमा कोरोना भाइरस छैन, हामीले उच्च सतर्कता अपनाएका छौं, आइसोलेसन कक्ष निर्माणका लागि काम गरिरहेका छौं, नेपाल कोरोना भाइरस फ्री जोन हो, यसले सकारात्मक प्रभाव पारेको छ ।’ उनले भने ।

मन्त्री भट्टराईले काठमाडौंको त्रिभुवन विमानस्थल चाहेजस्तो विस्तार गर्न नसकिने भन्दै उपत्यकाबाहिर अर्को ठूलो विमानस्थल बनाउनुको विकल्प नभएको बताए । उनले भैरहवाको गौतमवुद्ध विमानस्थल ३/४ महिनामा सकिने र पोखरा विमानस्थल समयभन्दा ६ महिना पहिला नै सकिने दावी गरे ।

‘गौतमवुद्ध विमानस्थल निर्माण गलत दिशामा जाँदैन, निर्माणको काम २–४ महिना वरपर जाला तर सक्छौं, पोखरा विमानस्थल पनि निर्धारित समयभन्दा ६ महिना पहिला नै सम्पन्न हुन्छ’ उनले भने ।

मन्त्री भट्टराईले देशभरका विमानस्थलको अवस्था के छ भनी सार्वजनिक गर्ने र विमानस्थल सदृढ गर्ने पनि बताए । तराईका राजविराजबाहेक सबै विमानस्थल रात्रीकालीन सेवाका लागि तयार रहेको पनि उनले जानकारी गराए । चितवन, भरतपुर र सुर्खेत विमानस्थल पनि छिट्टै स्तरोन्नति सुरु गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment