Comments Add Comment

८६ हजार घर पुनर्निर्माण गर्न विश्व बैंकले दियो २३ अर्ब ऋण

२३ माघ, काठमाडौं । विश्व बैंकले थप ८६ हजार ६ सय ८० वटा घरको पुनर्निर्माणका लागि नेपाल सरकारलाई २०० मिलियन डलर (२२ अर्ब ८२ करोड) रुपैयाँ प्रदान गरेको छ । ३२ जिल्लाका लाभग्राही भूकम्पपिडितको घर पुनर्निर्माणमा यो रकम खर्च हुने भएको छ ।

ऋण सहायता बिस्तार सम्बन्धमा विश्व बैंक र अर्थ मन्त्रालयबीच बिहीबार सम्झौता भएको छ । सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका कन्ट्री म्यानेजर फारिस एच हाडाड-जर्भोसले हस्ताक्षर गरेका छन् ।

यस अघि विश्व बैंकले १ माघमा नेपाललाई दिने २ सय मिलियन डलर  ऋण सहायता स्वीकृत भएको जनाएको थियो । विश्व बैंकले नेपालमा अर्थक्वीक हाउजिङ रिकन्स्ट्रक्सन्स प्रोजेक्ट (इएचआरपी) संचालन गरिरहेको छ । सोही परियोजनामार्फत पुनर्निर्माण भइरहेका घरधनीले अनुदानस्वरुप यो रकम प्राप्त गर्नेछन् ।

सरकारले भूकम्पबाट भत्किएका निजी आवास पुननिर्माणमा ३ लाख रुपैयाँ अनुदान दिएको छ । परियोजनाको दोस्रो चरणको कामका लागि नेपालले यो ऋण सहायता प्राप्त गरेको हो ।

विश्व बैंकले यसअघि सन् २०१५ मा ५५ हजार घरको पुनर्निर्माणका लागि ऋण सहायता उपलब्ध गराएको थियो । सन् २०१७ मा सहायता रकम बढाएर थप ९६ हजार घर पुनर्निर्माणमा साथ दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment