Comments Add Comment

कहाँ साट्ने माया ?

डेटिङ डेस्टिनेशन : लास्ट सिटमा मायालु एक जोडी

हरिया बगैंचा । रुखका बुट्यानहरु । हावामा बयेली खेलिरहेका फूलहरु । कलकल पानीमा पौडिरहेका माछाहरु । भुर्र-भुर्र उडिरहेका चराहरु । अनि बेपर्वाह आपसमा प्रेमलाप गरिरहेका जोडीहरु ।

संभवत केशव स्थापितको मगजमा यस्तै ‘डेटिङ स्पट’ फुरेको थियो । तत्कालिन काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्तको हैसियतमा उनले देखेका त्यो सपनाले मूर्त रुप लिन पाएन ।

संभवत प्रेमिल जोडीहरु प्रेममा उन्मुक्त बहकिने स्थानको खोजीमा थिए उनी । तर, धेरैले उनको कुरा पत्याएनन् ।

केहि बर्षअघि राजधानीका मन्दिर परिसरबाट दर्जनौ जोडी समातिए । पशुपतिनाथ लगायत मन्दिर आसपासमा लुकीछिपी प्रेम साटिरहेका जोडीहरु प्रहरीको फन्दामा परे । त्यो भ्यालेनटाइन डेको दिन थियो ।

जसै प्रेम जोडीहरु मन्दिरबाट समातिए, त्यसको पक्ष र विपक्षमा बहस चर्कियो । कतिले त्यसलाई अपराध भनी सदर गरिदिए । कतिले उन्मुक्त प्रेममा हस्तक्षेप भएको टिप्पणी गरे । खैर जे भएपनि त्यो डेटिङ डेस्टिनेशनको अभावले जन्माएको समस्या थियो ।

हो, धेरै जोडीका लागि अहिले मन्दिर परिसरलाई डेटिङ स्पट बनाएका छन् । दुनियाँको आँखा छल्दै उनीहरु मन्दिरको आडमा बसेर प्रेममा लिप्त भइरहेका हुन्छन् ।

त्यसो त हरिवंश आचार्यले गाएजस्तै ‘लास्ट सिटमा मायाको एक जोडी’ भेटिनेगर्छ । सार्वजनिक यातायातमा समेत मायालु जोडी प्रेम साटिरहेका हुन्छन् ।

कतिका लागि सिनेमा घर पनि डेटिङ डेस्टिनेशन बनेको छ । फिल्म हेर्ने बहानामा हल पुगेका उनीहरु आपसमा प्रेम साट्न हतारिरहेका हुन्छन् । साझा बस, मन्दिर, सिनेमाघरदेखि कफी सपसम्म प्रेमिल जोडीले आफ्नो अड्डा बनाउँदै आएका छन् । तर, बाग्लो चहलपहल हुने, कोलाहाल र भिडभाडमा जिन्दगीका मिठा-मिठा बात मार्ने कसरी ?

राजधानीमा केहि स्थान छन्, जसलाई प्रेम जोडीले आफ्नो कब्जामा राखेका छन् । यद्यपी त्यहाँ पनि उनीहरु सुरक्षित र उन्मुक्त भने छैनन् । बेलाबखत उनीहरुमाथि प्रहरी-प्रसाशनको दृष्टि परिहाल्छ ।

प्रेम जोडीहरु यस्तो ठाउँको खोजीमा हुन्छन्, जहाँ निस्फिक्री प्रेम साट्न पाइयोस् । त्यहाँ कुनै बाधा अड्चन नहोस् । प्राकृतिक सौन्दर्यमा हराउँदै आपसमा बाँधिएर सुदूर अतितको कल्पनामा डुबुल्की मार्न पाइयोस् ।

तर, शहरको भिडभाड, अस्तव्यस्त चहलपहल, कोलाहाल, धुँवा-धूलो, चर्को ध्वनीले प्रेम जोडीको एकान्त भंग गरिदिएको छ ।

राजधानीाको मध्यतिर एउटा पार्क छ । प्रदर्शनीमार्गसँगै जोडिएको उक्त पार्कमा प्रेम जोडीहरु पुग्ने गर्छन् । महाराजगञ्ज नजिकैको शंख पार्क, केशरमहलको गार्डेन अफ ड्रिम (स्वप्न बगैंचा), युएन पार्क, पुल्चोकको सदर चिडियाखाना, बालाजुको बाइसधारा बगैंचा, गोदावरी जस्ता केहि स्टेशन छन्, जहाँ प्रेम साट्नेहरु पुग्ने गर्छन् ।

केशरमहलहुदै ठमेल प्रवेश गर्ने मोडवाट वायाँतिर मोडिएपछि भेटिन्छ, गार्डेन अफ डि्रम । करिब एक सताब्दीअघि केशरसमशेरले निर्माण गरेको स्वप्न वगैंचा राजधानीका प्रेमजोडीले खोजेजस्तै डेटिङ डेस्टिनेशन हो ।

बगैंचामा हरिया चउर, फूलहरु, स-सना बुट्याउनहरु छ । कृतिम पोखरीमा रंगबिरंगी माछाहरु सल्बलाइरहेका देखिन्छ । ठाउँ-ठाउँमा चौतारो । विहान १० वजेदेखि राती १० वजेसम्म खुला हुने यो वगैंचामा प्रवेशका लागि भने शुल्क तिर्नुपर्छ, प्रतिव्यक्ति सय रुपैयाँ ।

राजधानीमा अरु थुप्रै पार्क छन् । जस्तो कि, भृकुटीमण्डपको अम्याजिङ पार्क, महारजगञ्ज नजिकैको शंखपार्क, शंखमुलको युएन पार्क डेटिङ डेस्टिनेसनको रुपमा स्थापित भइसकेका छन् । यद्यपी ति पार्कहरु व्यवस्थित र सुरक्षित भने छैनन् ।

जावलाखेलस्थित सदर चिडियाखाना खासमा थरीथरीका बन्यजन्तु अवलोकनका लागि संरक्षित क्षेत्र हो । तर, त्यस परिसरलाई ‘अघोषित डेटिङ स्पट’ भन्दा फरक नपर्ला ।

जुद्धसमशेर राणाको पालामा वनेको चिडियाखान र आसपासका वगैंचा प्रेम जोडीको निम्ति सुरक्षित डेस्टिनेसन वनेको छ । निश्चित सुल्क तिरेपछि प्रवेश पाइने चिडियाखानमा लुकीछिपी प्रेम साट्ने अनुकुलता मिल्छ ।

राजधानी खाल्डोबाट केहि माथि उक्लिएपछि भेटिने थानकोटको त्रिभूवन पार्क त डेटिङका लागि भरपर्दो स्थान नै हो । त्यहाँको हरियाली, एकान्त वातावरण, प्राकृतिक सौन्दर्यले प्रेममैत्री बनाएको छ ।

प्रेम जोडीका निम्ति अर्को सुरक्षित डेस्टिनेशन हो, गोदावरीस्थित वोटानिकल गोर्डेन । फूल वगैंचा र जंगलले घेरिएको यो वगैंचामा उनीहरु उन्मुक्त रमाउन सक्छन् ।

कुनैबेला नेपाली फिल्मको क्लाइमेक्स चोभारको डाँडामा पुगेर ह्याप्पी इन्डिङ हुन्थ्यो । अहिले त्यस आसपासको क्षेत्र प्रेमको उत्कर्षमा पुग्नेहरुको गन्तव्य बनेको छ । वाइकमा हुँइकिदै कति प्रेमजोडी चोभार डाँडामा पुग्छन् र उन्मुक्त प्रेमलाप गर्छन् । नगरकोट र धुलिखेलको सौन्दयले पनि प्रेमजोडीलाई आमन्त्रण गरिरहेको छ ।

तन्नेरीहरु मठमन्दिर पनि धाउने गर्छन् । भक्ति दर्शनले तानिएर होइन, प्रेम साट्ने सुरक्षित क्षेत्रको खोजी गर्दै । शहरीय तन्नेरीहरु मन्दिरको आडमा वसेर आपसमा प्रेमलाप गरिरहेका भेटिन्छन् । भक्तपुर दरबार स्क्वायर होस् वा नजिकै रहेको शिद्धपोखरीमा पनि त्यता जोडीहरु प्रशस्तै भेटिन्छन् । त्यस्तै, पशुपतिनाथ, स्वयम्भु, वौद्धनाथ जस्ता मठ मन्दिरलाई युगल जोडीले डेटिङ प्वाइन्टको रुपमा रुपान्तरण गरिरहेका छन् ।

पोखरा, प्राकृतिक रमणियताले भरिपूर्ण शहर । यहि शहरका थुप्रै स्पट छन्, जहाँ तन्नेरीहरु डेटिङ जान्छन् । त्यसमध्ये पनि वेगनास तालमा रमाउने प्रेमजोडी वग्रेल्ती देखिन्छन् ।

यता धरानवाट पहाडतिर उक्लिएपछि भेटिने भेडेटार प्रेमजोडीको रोज्जा डेटिङ स्पट हो । तराईको गर्मी छल्न मात्र होइन, प्रेमको तिर्खा मेट्न पनि थुप्रै तन्नेरी भेडेटार पुग्छन् । आसपासमा देखिने हिम ऋंखला, पूर्व पश्चिम फैलिएको चारकोसे झाडी, तराइका सुन्दर फाँट र गोधुली साँझको मनमोहक दृश्यल यो ठाउँलाई प्रेममैत्री वनाएको छ ।

राप्तीको किनारवाट सूर्यअस्तको दृश्य नियाल्दै प्रेम साट्न सौराह पुग्ने जोडीहरु पनि प्रशस्तै हुन्छन् ।  तन्नेरीका लागि लोभलाग्दो लभ प्वाइन्ट हो यो । राप्ती किनारमा कुम जोडेर प्रेमलाप गरिरहेका दृश्यहरु यहाँ निकै देखिन्छ ।

उता इलामको कन्याम पनि अघोषित डेटिङ डेस्टिनेसन हो । चियाको वुट्यानमा लुकामारी खेल्दै प्रेम साट्न प्रेमजोडीहरु कन्याम पुग्ने गर्छन् । थुम्का थुम्कीमा लगाइएको कलकलाउँदो चिया वगान, निरन्तर वहकिने सितल हावा अनि, हावाको झोंका ठोक्किएर सल्लाका रुखवाट निस्कने एकनासको आवाजले प्रेममय मनमा थप रौनकता भरिदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment