Comments Add Comment

राजनीतिज्ञ तथा पूर्व प्रशासक बाबुराम पौडेलको निधन

२४ माघ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व मुख्य सचिव तथा पूर्व प्रशासक बाबुराम पौडेलको ७९ वर्षको उमेरमा बिहीवार निधन भएको छ । लामो समयदेखि बिरामी रहेका पौडेलको टंगालस्थित निवासमै निधन भएको हो ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँमा विसं १९९७ सालमा जन्मिएका पौडेलले तत्कालिन राजा महेन्द्रको पालामा भूमिसुधार अधिकारीका रुपमा सरकारी सेवा प्रवेश गरेका थिए । उनी पञ्चायतकालको अन्त्यमा धनुषाको प्रमुख जिल्ला अधिकारी थिए ।

२०४८ सालमा कांग्रेसको सरकार बनेपछि पौडेलसहित तत्कालिन केही प्रशासकलाई सेवाबाट बर्खास्त गरिएको थियो । उनीसँग बर्खास्तीमा परेकाहरु अदालतबाट मुद्दा जितेर नेपाल सरकारको सचिव भएपनि पौडेल भने सहसचिवबाटै राजिनामा दिएर २०५० देखि राप्रपाको राजनीतिमा लागेका थिए ।

उनी २०५६ सालको आम निर्वाचनमा रामेछाप क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार थिए । लामो समय राप्रपाको केन्द्रीय सदस्य र मुख्य सचिव भएका पौडेलले केही समय कानून व्यवसाय समेत गरेका थिए ।

उनका हजुरबुबा दधिराम पौडेल राजा त्रिभुवनको पालामा युवराज महेन्द्रको गुरु थिए । पौडेलका श्रीमती र ५ छोरा छन् । पौडेलको विहिवारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो । राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमसेर जबरा,पूर्वमन्त्री माधव पौडेल लगायतले आर्यघाट पुगेर श्रद्धान्जली दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment