
२५ माघ, जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङ, अनि यसै जिल्लाका पाँच गाउँपालिकामध्ये एक हो “घरपझोङ गाउँपालिका” । घरपझोङ गाउँपालिकाको केन्द्र जोमसोम बजारदेखि दक्षिण पश्चिम करीब २ किलोमिटर दूरी पार गरेपछि मनोरम ठिनी गाउँ पुग्न सकिन्छ ।
ठिनी गाउँबाट पश्चिम करिब १ किलोमिटर दूरीमा छ – अनुपम प्रकृतिको उपहार “ढुम्बा ताल” ।
ढुम्बा तालको उत्तरतर्फ नीलगिरी हिमाल, पश्चिमतर्फ कुछपतेरङ गुम्बा, पूर्वतर्फ प्रशिद्ध घरपझोङ किल्ला पर्छ । यसै किल्लाको नामबाट गाउँपालिकाको नाम राखिएको हो । तालको उत्तरतर्फ कालीगण्डकी नदी पर्दछ ।
यस तालको पुरातात्विक सम्बन्ध नजिकै रहेको कुछपतेरङ गुम्बासँग पनि रहेको छ । परापूर्व कालदेखि यही तालको शुद्ध जलको प्रयोग गरी गुम्बामा पूजाआजा गर्ने गरेको स्थानीय जानकारहरू बताउँछन् ।
ताल हेर्न दिनहुँ सयौं देशी तथा विदेशी पर्यटक आइपुग्छन् । हिउँदमा चिसोका कारण पर्यटकको संख्या केही घटे पनि गर्मीयाममा उल्लेख्य देखिन्छ ।
पर्यटकको सहजताका लागि तालको नजिकै एउटा क्याफे पनि सञ्चालन गरिएको छ । तालको नजिकै रहेर मनोरम प्राकृतिक छटाको मज्जा लिनको लागि सहजता होस भनेर आर्म चेयर, पिङ तथा फोटो चेयरहरू समेत राखिएको छ । ती चियरहरूमा बसेर तथा पिङको आनन्द लिँदै पर्यटकले तालको पृष्ठभूमिमा फोटो खिच्ने गरेका छन् ।
हिउँदको समयमा यस तालमाथि २ फिटसम्म हिउँ जम्ने गरेको छ । जमेको हिउँले रङ पनि फेर्ने गरेको छ । हिउँ जमेको बेला पर्यटकले तालमाथि पैदल हिँडेर मनोरञ्जन लिने गर्छन् ।
यस तालको प्रचार प्रसार तथा पूर्वाधार निर्माण गर्नको लागि घरपझोङ गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाले यस ताललाई आफ्नो गौरवका आयोजनाको सूचीमा समेत राखेको छ ।
घरपझोङ गाउँपालिकाका अलावा यस तालको प्रवर्द्धन, प्रचार प्रसार तथा पूर्वाधार विकासमा गण्डकी प्रदेश सरकारले समेत विशेष महत्व दिएको छ । गण्डकी प्रदेश सरकारका १०० पर्यटकीय गन्तव्यको सूचीमा यसलाई राखेको छ ।
तपाईँ पनि यदि जोमसोम/ मुस्ताङको भ्रमण गर्ने योजनामा हुनुहुन्छ भने यो तालको अवश्य भ्रमण गर्नुहोला ।
प्रतिक्रिया 4