Comments Add Comment

१३ जिल्लामा आमऔषधि कार्यक्रम सुरु, हात्तीपाइलेको औषधि कसले र कसरी खाने ?

प्रतीकात्मक तस्वीर

२५ माघ, काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका खातिर सरकारले आजदेखि राष्ट्रिय आमऔषधि सेवन कार्यक्रम सुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालयमातहतको इपिनिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशका विभिन्न १३ जिल्लामा आजदेखि यो कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रमअन्तर्गत झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने महाशाखाले जनाएको छ । त्यस्तै, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा पनि आजैबाट यो कार्यक्रम सुरु भएको छ ।

हात्तीपाइलेको औषधिले असर गर्ने हल्लाका कारण कतिपय सेवन गर्न डराउने गरेका छन् । तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निर्धक्क भएर औषधि सेवन गर्न आग्रह गरेको छ ।

चिकित्सकहरूले खाली पेटमा औषधि नखान र औषधि सेवनपछि टाउको दुख्ने, वाकवाकी लाग्ने तथा पेट दुख्नेजस्ता समस्या आउँदा नआत्तिन पनि सुझाएको छ । औषधिको असरले लामो समयसम्म असर कायम रहेमा भने स्वास्थ्य संस्था जानुपर्ने चिकित्सकको भनाइ छ ।

महाशाखाले दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरीले भने हात्तीपाइले रोगविरुद्धको औषधि खान नहुने प्रष्ट पारेको छ । यो औषधिले असर गर्ने भएकाले सिकिस्त प्रकृतिका बिरामीले पनि सेवन गर्न हुँदैन ।

के हो हात्तीपाइले रोग ?

लिम्फाटिक फाइलेरिया भनेर चिनिने हात्तीपाइले रोग सरुवा रोग हो । मसिनो धागो आकारको एक प्रकारको जुकाबाट यो रोग लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा यो रोग लाग्छ । तीन प्रकारका परजीवीबाट लाग्ने हात्तीपाइले रोग नेपालमा भने उच्चेरेरिया बाँन्क्रोˆटी परजीवीको संक्रमणबाटै हुने गरेको पाइएको छ ।

विशेषगरी, मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्र यस रोगका लक्षणहरु देखिने गर्दछ । यो रोग एक पटक देखिइसकेपछि फेरी निको पार्न सकिदैन । हात्तीपाइले रोग बाहिर नदेखिँदै वर्षमा एक पटकको दरले छ वर्षसम्म आम औषधी सेवन गरेको खण्डमा यो रोग सर्ने प्रकि्रयालाई पूर्णतया रोक्न सकिन्छ । साथै, रोगीहरुलाई अंगभंग हुनबाट जोगाउन सकिन्छ ।

हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामै यसलाई निको पार्न महाशाखाले यो रोगको जोखिम भएको सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सन् २००३ बाट यो कार्यक्रम सुरु गरिएसगै नेपालमा हात्तीपाइले रोगीहरुको विद्यमान दर १३ प्रतिशतबाट झरेर एक दशमलव ४७ प्रतिशतमा कायम भएको छ । नेपालबाट हात्तीपाइले रोग निवारण गर्नका लागि नेपालबाट हात्तीपाइले रोगको दर एक प्रतिशत भन्दा कम हुन आवश्यक छ ।

जटिल प्रकृतिको रोग भएकाले सरकारले यसको न्यूनीकरणका लागि अभियान चलाउँदै आएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, नेपालमा पटक–पटक गरी ११ करोडभन्दा बढी मात्रामा यी औषधि खुवाइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment