Comments Add Comment

कुशल मल्लको ‘ड्रिम डेब्यु’मा कीर्तिमानी प्रदर्शन

२५ माघ, काठमाडौं । युवा अलराउन्डर कुशल मल्लले नेपाली राष्ट्रिय टिमका लागि ओडीआई (एक दिवशीय क्रिकेट ) मा ड्रिम डेब्युसहित कीर्तिमानी प्रदर्शन गरेका छन् । १५ वर्षीय कुशलले नेपालको लागि ओडिआईमा डेब्यु गर्दै विश्व कीर्तिमानी अर्धशतक बनाए भने बलिङमा १ विकेट समेत लिए ।

नेपालमा भइरहेको आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा उनले अमेरिका विरुद्ध डेब्यु गर्दै कीर्तिमान बनाएका हुन् ।

अघिल्लो खेलमा पहिलो रोजाईँमा खेलेका रोहित कुमार पौडेलको स्थानमा अमेरिकाविरुद्ध पहिलो रोजाईमा परेका कुशलले कसैलाई निराश पारेनन् । उनले ४९-५ को अवस्थामा रहेको नेपालको इनिङ्स उकासन विनोद भण्डारीसँग ८४ रनको साझेदारी गरे । कुशलले ५१ बल खेल्दा ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए । कुशल र विनोदको अर्धशतक मदद्तमा नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो ।

बलिङमा समेत उत्कृष्ट प्रदर्शन गरेका कुशलले १० ओभरमा १ मेडन राख्दै ३० रन मात्र खर्चेर १ विकेट लिए ।

यसअघि नै टी२० अन्तर्राष्ट्रियमा नेपालको लागि डेब्यु गरिसकेका कुशलले यसै सिरिज मार्फत पहिलोपटक ओडीआई टिममा स्थान बनाएका थिए । नेपालले ओमान विरुद्ध पहिलो खेल खेल्दा उनी पहिलो रोजाईँमा थिएनन् । तर दवस्रो खेलमा भने उनले आफूलाई चयन गर्नुको प्रमाणित गरेर देखाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment