Comments Add Comment

कांग्रेसलाई नेम्वाङको प्रश्न : कहाँ सहयोग गर्नुपर्‍यो हामीले ?

२६ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले संसद अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई गच्छदारको मुद्दा प्रकरणमा सरकारसँग के माग राखेको भनी प्रश्न गरेको छ ।

आइतबार संसद बैठक स्थगित भएपछि संसद भवनमा पत्रकारसँग कुरा गर्दै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले लगातार तीन पटक कांग्रेसले संसद अवरुद्ध गरे पनि अरुबेला जस्तो सरकारसँग कुनै माग नै नराखेको बताए ।

संवैधानिक अंगले दायर गरेको मुद्दामा सत्तापक्ष कहीँ पनि नजोडिएको बताँदै नेम्वाङले भने, ‘कहाँ सहयोग गर्नुप¥यो हामीले भनिरहेका छौँ । तर त्यो कुरा आएको छैन ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपक्षीय रुपमा मुद्दा दायर नभएको भन्दै नेम्वाङले संवैधानिक अंगले चलाएको मुद्दामा सत्तापक्ष वा अर्को पक्ष भन्ने नहुने बताए । ‘अदालतमा प्रवेश गरेको मुद्दामा संसदमा प्रश्न समेत गर्न पाईंदैन’ उनले भने ।

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले भने अख्तियारको छानबिनको प्रकृया गलत भएको भनेर विरोध गरिएको बताए । संसदमा छलफल गरेर टुंगिने विषय नभएको आफूहरुलाई थाहा भए पनि अदालतमा मुद्दा पुर्‍याउने प्रक्रिया निष्पक्ष र कानूनसम्मत नभएको उनले बताए ।

कानून सबैलाई समान हुने भए पनि एउटै कानूनलाई फरक फरक ढंगले ब्याख्या गरेर मुद्दा अगाडि बढाउने विषय आपत्तिजनक भएको उनले बताए ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद लक्ष्मणलाल कर्णले अख्तियारले भेदभावपूर्ण रुपमा निर्णय गरेको भन्दै लगातार संसद बैठक अवरुद्ध हुनु राम्रो नभएको भन्दै यो विषयलाई गम्भीरतापूर्वक छलफल गरेर टुंगो लगाउनुपर्ने बताए ।

आइतबारका लागि बोलाइएको संसद बैठक पनि कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो । ललिता निवास प्रकरणमा अख्तियार दुरुपोग अनुसन्धान आयोगले भेदभावपूर्ण तरिकाले मुद्दा दायर गरेको भन्दै लगातार तेस्रो पटक संसद अवरुद्ध गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment