Comments Add Comment

कांग्रेसलाई सभामुखले भने : अदालत प्रवेश गरेको विषयमा संसद अवरुद्ध नगरिदिनुस्

२६ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाएको विषय संसदबाट संबोधन गर्न नसकिने भन्दै संसद सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा कांग्रेसले आइतबार पनि संसद अवरुद्ध गरेपछि सभामुख सापकोटाले संसद सञ्चालनमा सहयोग मागेका हुन् ।

यसअघि दुई पटकसम्म संसद अवरुद्ध गर्दा आफूले कांग्रेसको कुरा गम्भीरतापूर्वक सुनेको भन्दै सभामुख सापकोटाले संवैधानिक आयोगको निर्णय र अदालत प्रवेश गरिसकेको विषयमा संसद अवरुद्ध गरिरहनुको औचित्य नहुने बताएका हुन् ।

‘यो विषय अदालतमा गइसकेको छ । यहाँबाट निरुपण हुन सक्दैन भन्ने कुरा स्वत स्पष्ट’ उनले भने, ‘यो सर्वोच्च जनप्रतिनिधि संस्था भएकाले आफ्नो सरोकार दलका भनाइ राख्नु पनि पर्छ तर दुई दिनसम्म तपाईहरुले राख्नु पनि भएको छ । एउटा सन्देश गइ पनि सकेको छ ।’

जनप्रतिनिधिमूलक थलो संसदलाई गतिशील र चलायमान बनाइराख्नुपर्ने भन्दै सभामुख सापकोटाले कांग्रेसलाई आफ्नो सरोकार संसदको विशेष समयमा राख्न पनि सुझाव दिए ।

सभामुख सापकोटाले आइतबार कांग्रेस सांसदहरुलाई बोल्न समय पनि दिएनन् । कांग्रेस सांसदको अवरोधकै बीच नेकपा सचेतक शान्ता चौधरीले पनि बोल्न समय मागेकी थिइन्, तर सभामुख सापकोटाले समय दिएनन् ।

सभामुखको आग्रहपछि पनि कांग्रेस सांसदहरु आफ्नो सिटमा नबसी संसद अवरुद्ध गरेपछि सापकोटाले संसद बैठक माघ २८ गतेसम्म स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment