Comments Add Comment

दोस्रो खेलको ‘कनेक्सन’ र नेपालको जित

काठमाडौं । शुरुमै सफलता पाउनु आफैंमा ठूलो सफलता हो, तर त्यसलाई कायमै राख्नु त्यसोभन्दा गाह्रो हो ।

यसलाई खेलकुदमा भन्ने हो भने सुरूदेखि नै राम्रो गर्नेले अन्तिमसम्म कायम राख्दा मात्र सफल हुन्छ । सुरुवाती सफलता जोगाउन सकेन भने त्यसले पछि नतिजा राम्रो दिँदैन । तर शुरुवात खराब रह्यो भने त्यहाँ भएको गल्तीबाट सिक्न सकिन्छ र पछि सुधार गर्दै राम्रो गर्न सकिन्छ ।

शनिबार नेपालले ओडीआई क्रिकेट म्याचमा अमेरिकालाई ३५ रनले हरायो । धेरै अर्थमा यो जित नेपालको लागि महत्वपूर्ण छ र धेरै पछिसम्म सम्झिरहनेछ ।

किनभने घरेलु मैदानमा नेपालले जितेको ओ पहिलो ओडीआई खेल हो । आर्इसीसी क्रिकेट विश्वकप लिग २ मा पनि नेपालको यो पहिलो जित हो । यो लिग २ सन् २०२३ मा भारतमा हुने ओडीआई विश्वकपको छनोट समेत हो । त्यसैले यो जित विश्वकप पुग्ने आधारमा एक इट्टा थप्ने काम समेत हो । यस्तै व्यक्तिगतमा रुपमा हेर्ने हो भने नेपालका युवा खेलाडी कुशल मल्लले विश्व कीर्तिमान नै कायम गरे ।

७ राष्ट्रि सम्मलिति लिग २ मा नेपालले खेलेको यो पहिलो सिरिज हो । अनि घरेलु मैदानमा भएको पनि पहिलो ओडीआई सिरिज । अमेरिकाविरुद्ध जितपछि नेपालले अक तालिकामा पहिलो अंक समेत थपेको छ । २ खेलबाट नेपालको २ अंक छ र अंक तालिकामा छैटौं स्थानमा छ ।

नेपालले पहिलो खेलमा ओमानसँग १८ रनको हार बेहोरेको थियो ।

१५ वर्षीय अलराउण्डर कुशलले यसै खेलमार्फत डेब्यू गरे । अर्धशतक बनाए । उनको अर्धशतक नेपालको जितमा काम लाग्यो । बलिङमा समेत उनले उत्कृष्ट प्रदर्शन गर्दै एक विकेट लिए । एक हिसावमा भन्ने हो भने युवा खेलाडीको अलराउण्ड प्रदर्शन । धेरैले उनलाई म्यान अफ दि म्याचको अवार्ड नदिएको आश्चर्य समेत जनाए ।

तर नेपालका मुख्य फास्ट बलर करण केसीले किफयाती बलिङ गर्दै ४ विकेट लिएकोले उनले म्यान अफ दि म्याचको अवार्ड पाए ।

कुशलको प्रदर्शन सामान्य थिएन । उनी ओडीआईमा अर्धशतक प्रहार गर्ने विश्वकै सबैभन्दा कान्छा खेलाडी बने । अनि त्यो पनि डेब्युमै अर्धशतक प्रहार गर्दै । कुशलले १५ वर्ष ३४० दिन हान्दा अर्धशतक प्रहार गरेका हुन् । उनले आफ्नै देशका रोहितकुमार पौडेलको कीर्तिमान तोडे ।

रोहितले गत वर्ष युएई भ्रमणमा युएईविरुद्ध १६ वर्ष १४६ दिन हुँदा अर्धशतक प्रहार गर्दै साहिद अफ्रिदीको कीर्तिमान तोडेका थिए । अनि कुशल अमेरिकाविरुद्ध उनै रोहितको स्थानमा पहिलो रोजाईँमा परेका थिए ।

कुशलले नेपालको इनिङ्स उकास्ने क्रममा विनोद भण्डारीसंग छैटौं विकेटका लागि अर्धशतकीय साझेदारी गरे । ४९-५ बाट नेपालको स्कोर उकास्न यो जोडीले ८० रनको साझेदारी गरेको थियो । कुशलले ५१ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए । उनी अर्धशतक बनाएलगत्तै आउट भएका थिए ।

यस्तै विनोदले पनि अर्धशतक प्रहार गरे । खेलपछि अमेरिकी कप्तान सौरभ नेत्रभाल्करले समेत कुशलको प्रशंसा गर्दै उनले बहादुरीपूर्ण इनिङ्स खेलेको प्रतिक्रिया दिए । यस्तै नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पनि कुशल र विनोदको जोडीले उत्कृष्ट खेलेको भन्दै तारिफ गरे ।

यी दुईको अर्थशतकमा नेपालले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो । त्यो स्कोर डिफेण्ड गर्दै नेपाललाई जित दिलाउन करण केसीले सर्वाधिक ४ विकेट लिँदा सुशन भारीले ३, सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिए । कुशलले १० ओभरमा १ मेडन राख्द ३० रन खर्चेर १ विकेट लिए । अमेरिकाका लागि इयान होल्याण्डले ७५ रन बनाएपनि जितसमम पुर्‍याउन सकेनन् । अमेरिका ४६.१ ओभरमा १५५ रनमा अलआउट भएको थियो । म्यान अफ दि म्याच करणले ७.१ ओभरमा १ मेडन राख्दै १५ रन मात्र खर्चेर ४ विकेट लिएका थिए ।

करणले अघिल्लो खेलमा पनि ओमानविरुद्ध ४ विकेट लिएका थिए । सिरिजमा उनको विकेट संख्या ८ पुगिसकेको छ । यस्तै अघिल्लो खेलमा ओमान विरुद्ध ओडिआईमा डेब्यु गर्दै ३ विकेट लिएका सुशनले पनि ६ विकेट पुर्‍याएका छन् । सन्दीपले भने अघिल्लो खेलमा विकेट लिन सकेका थिएनन् ।

ओमानविरुद्ध नै ओडीआईमा डेब्यु गरेका अभिनाश बोहराले भने दुई खेलमै विकेट लिन सकेनन् ।

नेपालले यस सिरिजमा दोस्रो खेल खेल्दा पहिलो जित हात पारेको हो । लिग २ को अंक तालिकामा शीर्ष स्थानमा रहेको अमेरिकाले लगातार दोस्रो हार बेहोरेको हो ।

दोस्रो खेल जित्ने कथा

नेपालले यसअघि दुई वटा ओडीआई सिरिज खेलिसकेको छ । दुवैमा एउटा समानता थियो, त्यो तेस्रो सिरिजमा पनि कायम भएको छ । नेपालले यसअघिका दुवै ओडीआई सिरिजमा पहिलो खेल हारेको थियो । त्यसपछि बाँकी खेल जित्यो । अनि अहिलेसम्म नेपालले सिरिज गुमाएको छैन । २०१८ मा जिम्बावेमा भएको ओडीआई वर्ल्डकप क्वालिफायरबाट नेपालले ४ वर्षको लागि अस्थायी ओडीआई मान्यता पाएको थियो ।

त्यही वर्ष अगष्टमा नेपालले नेदरल्याण्ड्ससँग उसैको मैदानमा खेलेको ऐतिहासिक ओडीआई सिरिजमा नेपालले पहिलो खेल हारेको थियो । तर दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पार्दै ऐतिहासिक सिरिज बराबरी गर्न सफल भएको थियो । यस्तै गत वर्ष जनवरी-फेब्रुअरीमा युएईमा भएको सिरिजमा नेपालले युएईसँग पहिलो खेल हार्‍यो । तर त्यसपछि बाँकी दुई खेल जित्दै सिरिज २-१ ले जितेको थियो । त्यही बेला युएईसँगै भएको टी२० आई सिरिजमा पनि नेपालले पहिलो खेल हारेको बाँकी दुई खेल जित्दै सिरिज जितेको थियो । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो, तर नेपालले दोस्रो खेल १४५ रन र तेस्रो खेल ४ विकेटले जितेको थियो ।

अहिले घरेलु मैदानमा भइरहेको विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पनि नेपालले पहिलो खेल गुमायो । घरेलु मैदान र दर्शकको साथ पाएपनि नेपालले ब्याटिङमा राम्रो गर्न नसक्दा ओमानसँग १८ रनको हार बेहोरेको थियो । तर दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गर्‍यो । यो लगातार तेस्रो सिरिजसम्म कायम रहेको छ । यसअघि दीपक्षीय सिरिज भएको र थोरै खेल हुँदा नेपालले पहिलो खेल गुमाएर पनि बाँकी खेल जितेको थियो ।

यस पटक त्रिकोणात्मक सिरिज भएको र एकआपसमा २-२ खेल खेल्नुपर्ने भएकोले नेपालले अझै २ खेल खेल्न बाँकी छ । नेपालले आइतबार ओमानसँग फेरि खेल्दैछ । यसअघि बेहोरेको हारको बदला लिने अवसर पनि नेपाललाई छ भने पहिलो खेल हारेपछि बाँकी खेल जित्ने शैली दोहोर्‍याउने अवसर पनि छ । साथै विश्वकप रोडम्यापको रुपमा रहेको यस सिरिजमा जितसक्दो धेरै अंक जोडेर शीर्ष ३ को दाबेदारको रुपमा खडा गर्ने अवसर पनि छ ।

सन् २०२२ सम्म चल्ने यस लिग २ बाट शीर्ष ३ स्थानमा रहने टिम सिधै विश्वकप छनोटमा पुग्नेछन् । लिग २ साइकलमा नेपालसहित सबै टिमले कूल ९ वटा सिरिज खेल्ने पाउनेछन्, जसमा ३६ ओडीआई खेल हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment