Comments Add Comment

फागुन १ देखि रुपन्देहीको गैडहवामा ताल महोत्सव

२६ माघ, बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा रहेको गैडहवा ताल क्षेत्रको पर्यटन प्रवर्द्धननका लागि पहिलोपटक ताल महोत्सव आयोजना हुने भएको छ । यो ताल रुपन्देहीको सबैभन्दा ठूलो ताल हो । ८४ बिघा क्षेत्रफलमा फैलिएको तालको ५० बिघा जलाशय क्षेत्र छ  । लुम्बिनी भ्रमण वर्ष र नेपाल भ्रमण वर्षको अवसर पारेर गैडहवा गाउँपालिकाको आयोजनामा आगामी फागुन १ गतेदेखि ताल महोत्सव आयोजना गर्न लागिएको हो ।

बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकलाई गैडहवा ताल क्षेत्रमा आकर्षित गर्न फागुन १ गतेदेखि महोत्सव आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले बताए । लुम्बिनीबाट १२ किलोमिटर दुरीमा रहेको गैडहवा ताल सिमसार क्षेत्रमा सूचीकृत ताल हो । ताल महोत्सवमा पर्यटन, कृषि र स्थानीय उत्पादनका एक सय बढी स्टल रहने अध्यक्ष केवटले बताए । महोत्सवमार्फत तालको प्रचार प्रसार र सिमसार क्षेत्रको संरक्षणका लागि संरक्षणको लागि गाउँपालिकाले यो वर्ष ३० लाख बजेट विनियोजन गरेको अध्यक्ष केवटले बताए ।

महोत्सवमा एक लाख दर्शकलाई अवलोकन गराउने र एक करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य छ । महोत्सवमा आउने दर्शकलाई मनोरञ्जनका लागि राष्ट्रिय तथा स्थानीय कलाकार कलाकारको प्रस्तुति र बाल उद्यान समेत रहने प्रचार प्रसार संयोजक भरत रानाले बताए । पर्यटन मन्त्रालयले गरेको अध्ययन अनुसार तालमा दुईसय प्रजातिका चराचुरुङ्गी, घस्रने २० प्रजातिका जनावर र नेपालका अन्य ठाउँमा नपाइने ‘इन्डियन आइटटल’ पनि तालमा पाइन्छन्  । ताललाई प्रदेशकै नमूना जल पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित एक अर्ब १७ करोड लागतको गुरुयोजना बनाइएको अध्यक्ष केवटले बताए ।

गुरुयोजनाअनुसार उक्त ताल क्षेत्रमा व्यवस्थित पाकिङ, स्वागतद्वार, फुटपाथ, मोनोरेल, २ वटा पुल, एउटा झोलुंगे पुल, एउटा स्विमिङ पुल, ताल व्यवस्थापन समितिको कार्यालय र कफ्रेन्स हल जस्ता भौतिक संरचना बनाइनेछ ।

तीनतिरबाट जंगलले घेरेको तालको उत्तरपट्टि जटायु रेस्टुराँ छ  । त्यसमा हिमाली गिद्ध, सुन, राज, सानो खैरो, खैरो, गोब्रे लगायत लोपोन्मुख गिद्ध संरक्षण गरिएको छ । ताल आसपासका चौधरी र मगर बस्तीमा होमस्टे सञ्चालन गर्ने तयारी पनि छ । तालमा साइबेरियाली चरा, सारस र बकुल्ला लगायत प्रजातिका चराहरुको बासस्थान छ । गैडहवा तालको उचित व्यवस्थापन नुहँदा विभिन्न क्षेत्रबाट अतिक्रमण समेत भइरहेको छ । सामुदायिक बनले ताल क्षेत्रको ७ सय ३७ दशमलव ४ हेक्टर क्षेत्रफल अतिक्रमण गरेको छ । यसैगरी ५९ दशमलवब २ हेक्टरमा घाँसे मैदान छ । ३ हजार ४ सय ५४ दशमलव ५ हेक्टर क्षेत्रफलमा स्थानीयले खेतीपाती गर्दै आएका छन् । ९८ दशमलव ५ हेक्टर क्षेत्रफलमा घर बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment