Comments Add Comment

शरीरको अंगले ठाउँ छोडेपछि !

बिहानको खान बनाउँदै थिएँ, अचानक रिंगटा लाग्यो । अडिन खोज्दाखोज्दै भान्छाको भुईंमै ढलें । आजसम्म बेहोस भएको थाहा नपाएकी म के भएको हो, नबुझेर हैरान भएँ । आँखा खुल्दा लमतन्न परेर भान्छाको भुईंमा सुतिरहेकी थिएँ ।

छारेरोग लागेर डङ्लङ्गै लडेर रगतै भएको छिमेकी देखेकी थिएँ । बर्तालु, बिरामी, घाइतेहरु बेहोस भएर ढलेको देखेकी थिएँ । तर, आफ्नै लागि चाहिँ नितान्त नौलो अनुभव थियो ।

म उठेर फेरि खाना पकाउन थालें । निहुरिँदा रिङगटाले झ्याप्प झ्याप्प पारिरह्यो । आफ्ना रहर, ईच्छा चाहना र महत्वकांक्षा हुट्टिट्याउँले आकाश थामेझैं थाम्नुपर्ने परिवार, घर, सहकारी र साहित्य दिमागलाई न ओभरडोज भयो कि ? मनमा नयाँ विषयले प्रवेश पायो ।

सिस्नु खाँदा नशालाई फाइदा पुग्छ । वर्षको दुईपटक खानुपर्छ भन्ने लागिरहने यो वर्ष खाने जोग मेसो मिलेको थिएन । अस्ति बल्लतल्ल भेटेर ल्याएकी थिएँ । आज पकाउनका लागि पखालपुखुल पारेको, रिङटा लागिरहने र लड्ने गर्दा ढिलो भयो ।

हरियो सिस्नु मसिनो गरेर काटेर ग्राण्ड गरेर कराहीमा झ्वाइँ पारें । मजाले पाकाएर खान दिँदा उहाँ यसरी पकाएको मलाई मन पर्दैन भनेर गनगन गर्नुहुन्छ । कति मेहनतले घर आएर कचौरामा आएको सिस्नुको अवहेलना नहोस् भनेर फकाउँदै खुवाएँ ।

आफ्नो टाउको रिँगाउन छाडेको होइन ! कसलाई भन्ने ? अष्ट्रेलियामा भएकी दिदीजस्तो जान्ने कोही छैन भन्ने लागे पनि र दिदीसँग अरुनै कामको शिलशिलामा कुरा भै रहे पनि मैले यो रिङटा लागेको विषय दिदीलाई सुनाइनँ । भाइ डा. सुरेश सापकोटालाई फोन गरें । भलाकुसारीपछि उसले नै सोध्यो–स्वास्थ्य के छ दिदी ?

छोरी न्युरो अस्पतालमा काम गर्थी । उसको आज साँझको ड्युटी थियोे । भाइसँग भएका सबै कुरा उसलाई सुनाएँ र उसँगै अस्पताल गएँ । ऊ ड्युटीतर्फ लागी, म भाइको फोनको प्रतिक्षामा अस्पताल परिसरमा कुरुवाहरुसँगै घाम तापेर बसें ।

अस्पतालमा आउँदा सधैं कसै न कसैको पछि लागेर सुरुसुरु डाक्टरलाई देखाउने र खुरुखुरु फर्कने गरेर बानी खत्तम भएको रहेछ । आज एकजना पनि चिनारु भेटिएन र देखिएन ।

ढोकामा बस्ने केटाको फुर्ती हेरीसाध्य थिएन । जाँच्न आएकी एउटी महिला बेहोसै भइन् तर पनि उसले भित्र जान दिएको होेइन । मेरो कुरा त के र । पौने बाह्र बजे पुगेकी म, दुई बजेसम्म यस्सै भयो ।

माघको चिसो महिना । बाहिर घाम मलिनै सही, छन त थियो । बाहिर जाँदै थिएँ, काउन्टर नजिकै पुग्दा एकजना मान्छे गीता भन्ने मान्छे खै भन्दै आए । मैले म हुँ भनेपछि नजिकै रहेकी नर्सले टिकट चेञ्ज गर्न अर्थ्याइन् ! मैले टिकट सोही डाक्टरका नाममा बनाएँ र जचाँए ।

आफ्ना कुरा भन्दै गर्दा डाक्टरले सोधे तपाईं लडेको कसैले देख्यो ?

म फिस्स हाँसे ।

हँ !

यहाँ पनि चस्मदित गवाह चाहिने रहेछ कि ?

भान्सामा भएकाले मलाई देख्ने कोही थिएन भने ? मन फेरि चिसियो । उनले सबै हेरिसकेर भने ‘एकपटक एमआरआई गर्नुस् र कानको डाक्टरलाई देखाउनुहोस् ।’

तपाईंको कानमा ढुंगा छ, त्यही ढुङ्गा बगेकाले यसरी रिंगटा लागेको हो । ‘म अलमलमा परें । कानभित्र कस्तो ढुङ्गा होला ? के आएर त्यसलाई बगाउला ?

म अलमल अलमलमै डाक्टरसँग बिदा भएँ ।

जाँदै गर्दा डाक्टरले भने, तपाईंका भाइ डा.सुरेश मेरा मिल्ने साथी हुन् ! एमआरआई चाहिँ गर्नु ल ?

कानको डाक्टर तीन बजेमात्रै आउने रहेछन् । छोरीले फोन गरिरहेकी छ । एमआरआई गर्नु भन्छे । त्यो एमआरआई गर्दाको अनेकथरी आवाजले मलाई वाक्कै पारेको छ, म अहिले गर्दिनँ बरु आउ, खाजा खाँउ भनें ।

वाकवाकी लाग्ने र रिङटा लाग्ने क्रम बढिरहेको छ ।

मनले हो कि जाडोले, शरीर चिसो भएको छ । पिरो र तातो चिज केही खाएर चिसो भगाउन तल क्यान्टिनतिर लागें ! घामको तातो अझै रहेछ ।

माथि आफ्नै छोरी काम गरिरहेकी छ । उसको आफ्नै रुटिङ छ । ब्रेक नभई उ निस्कन पाउँदिन । बिरामीको हेरचाह गर्नु उसको कर्तव्य हो । परिवारलाई प्राथमिकतामा राख्न उसले लिएको सपथले दिँदैन । बिरामी तल–माथि हुनेवित्तिकै स्वास्थ्यकर्मी बिरामीका आफन्तका मारमुङ्ग्रीमा पर्छन् । कति विरक्तलाग्दो छ सम्झँदा । म यो अस्पतालमा एक्लै कहिल्यै भएकी थिइनँ । आज एक्लै खाजा खाएँ र माथि उक्लिएँ ।

डाक्टरको कोठामा डाक्टरसँगै पसें । डाक्टर ‘सुरेशको दिदी हो तपाई ?’ भन्दै के भएको कसो भएको सोध्न थालिन् । उनले पनि कानका ढुङ्गा झर्ने र त्यसले यसरी रिंगटा लगाउने भनेपछि मैले हैन भन्ने कुरै भएन ।

बेडमा सुताएर उनले उपचार गर्दा यसरी फुनुनु पार्‍यो कि बेडबाट खस्छु भनेर डाक्टरको पाखुरामा समातिरहें ! उनले सम्झाउँदै आफ्नो काम सकिन् ।

रिङटा अझै लाग्ने र वाकवाकी हुने हुँदा औषधी खान सुझाइन् ।

म बिदाबादी भएर बाहिरिएँ । अघि बेहोस भएकी महिलाको रिपोर्ट राम्रो आएकोमा उनकी आमाजु खुशी भइरहेकी थिइन् भने ह्विल चियर समाइरहेकी महिला ‘यो डिप्रेसन हो, डिप्रेसन’ भनिरहेकी थिइन् । बिरामीको बोल्न सक्ने अवस्था थिएन । डाक्टरले एक्लै नहिँड्न सुझाइरहेकी थिइन् ।

औषधी किनेर म बाहिरिएँ । विस्तारै बाटोमा निस्किएँ । ठूलो बस आयो, त्यसैमा चढें ।

कानमा ढुङ्गा भएको र ढुङ्गा बगेको कुराले मलाई अचम्मित पारिरहेको थियोे । राति छोरीलाई सोधें, कानभित्र कस्तो ढुंगा हुन्छ ? अनि के आएर बगाउँछ ? खोलै आउँछ कि ? बगाएको बगायै भए के गर्ने ? आमाछोरीको हाँसो मजाक भयो एकैछिन !

उसले भनी, हेर्नु त यति जाबो कानको गेडी यताउता हुँदा कस्तो भयो ? अझ कान र गालाको हड्डीको बीचमा खाली ठाउँ हुन्छ, नशामात्र । त्यो नशाले काम गरेन भने हरै चल्दैन ।

दिमाग र मुटुले दुई/तीन मिनेटमात्र काम गरेन भने के हुन्छ ? फोक्सोले हाम्रा लागि मात्र काम गर्छ । आँखाले हाम्रै लागि मात्र हेर्छ ।

‘कुल मामु कुल ! आफैंप्रति गौरव गरौं र खुशी हौ’ भनेर हाँस्दै छोरी कोठातिर लागिन् । म शरीरका अंगहरुलाई एक–एक नियाल्दै भाँडा मस्काउन थालें ।

हो त । केटीका कुरा सही त हुन् । १० वर्ष अगाडि नै डाक्टरले फेर्नुपर्छ भनेका घुँडा ८० किलोको शरीर बोकेर गोसाइँकुण्ड र लाङटाङ यात्रामा निस्कन्छन् ।

दम भएको फोक्सो कालिञ्चोको हिँउ र हिमालपारि मुक्तिनाथ पुर्‍याएर मलाई सकुशल घर ल्याउँछ । फेरि यो मन आफैंलाई गौरव गर्न छोडेर किन अरुतिर बरालिँदो हो ? अरुले गरेको माया र सहानुभूतिले मन त भरिएला । तर, आफ्नै शरीरका अंगले ठाउँ छोडे के होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment