Comments Add Comment

सुदूरपश्चिमबाट घाम उदाउँछ … !

२७ माघ, महेन्द्रनगर । सुदूरपश्चिम नेपालकोे महेन्द्रनगरबाट भारतको राजधानी नयाँ दिल्ली ३४५ किलोमिटर मात्र टाढा छ ।

आफ्नो देशको राजधानी काठमाडौंको तुलना दिल्लीको नजिक रहेका सुदूरपश्चिमेलीलाई महेन्द्रनगरबाट सबभन्दा नजिकको नेपाली औद्योगिक क्षेत्र नेपालगञ्ज पुग्न १६२ किमी र भारतको ठूलोमध्येको एक सिदकुल औद्योगिक क्षेत्र पुग्न ६५ किमी यात्रा गरे पुग्छ ।

पारी उत्तराखण्डको खाटीसम्म रेल सेवा छ । खाटी–महेन्द्रनगर दूरी २६ किमी मात्र छ । यसरी नेपाल–भारतबीच गतिलो आर्थिक द्वार बन्ने सम्भावना बोकेर बसेको महेन्द्रनगरबाट सुदूरपश्चिम प्रदेशको प्रस्तावित राजधानी (वन क्षेत्र भएकोले बिबादित भए पनि) नजिक छ ।

महेन्द्रनगरबाट ४० किमी पूर्वमा रहेको अत्तरिया कर्णाली र सुपका पहाडी जिल्लाहरुको ‘लाइफलाइन’को रुपमा रहेको छ ।

हालको आर्थिक गतिविधि

कञ्चनपुर जिल्ला मुख्यतः तीन नाकाबाट भारतसंग जोडिएको छ । दक्षिणतर्फ चाँदनी दोधारा, पश्चिममा गड्डा चौकी र उत्तर–पश्चिममा टनकपुर । गड्डा चौकी नाकाबाट दुई देशबीच धेरथोर जति भए पनि व्यापार औपचारिक भइरहेको छ । अरु दुई नाकाबाट भने अनौपचारिक ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा कञ्चनपुरको औपचारिक भन्सारबाट ७० करोड रुपैयाँ बराबरको ब्यापार भएको छ । त्यसमध्ये आयात ६५ करोड ९२ लाख र निर्यात ४ करोड ११ लाख रुपैयाँको छ । गत आवमा नेपालको कुल वैदेशिक व्यापारमा कञ्चनपुरको हिस्सा ०.१ प्रतिशत मात्र छ ।

यद्यपी, सुपबाट केन्द्रीय मन्त्रिपरिषद्मा प्रतिनिधित्व गरेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सूर्य अस्ताउने सुपबाट अब आर्थिक समृद्विको घाम उदाउने बताउँछन् । पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिणतर्फ औद्योगिक करिडोर, विशेष आर्थिक क्षेत्र (सेज) र चाँदनी दोधरामा सुख्खा बन्दरगाह बनेपछि सुपबाट ‘घाम’ उदाउने उनले बताए ।

त्यस्तै, कञ्चनपुरबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने डा. दीपक प्रकाश भट्ट यसअघि सुदूरको सम्भावनामाथि केन्द्रको आँखा नै नपरेको बताउँछन् । त्यही कारण यो क्षेत्रमा दुई मुलुक जोड्ने गतिलो पूर्वाधार नबनेको उनले बताए । ‘केन्द्रको आँखा नपर्दा सुपमा ब्यापारिक नाका खोल्ने पहल भएन’, उनले भने, ‘अब भने दुई मुलुक जोड्ने पूर्वाधार प्राथमिकतामा परिसकेको छ ।’

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल गतिलो पूर्वाधारसहित भारतीय बजार नछोएसम्मसम्म सुपको प्रगति नहुने बताउँछन् । उनी भन्छन्, ‘अरु काम विस्तारै गरौंला, भारतीय बजारसंग जोडिने भन्सार, सडक, रेललगायतका पूर्वाधारमा चाहिँ लगानी गरिहाल्नुपर्ने भएको छ ।’

भइरहेका कामहरु

चाँदनी दोधारा जोड्न महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल सुपबाट विकासको सूर्य उदाउने पहिलो पूर्वाधार हो । पुलपछि चाँदनी दोधारामा बन्ने सुख्खा बन्दरगाह र एकीकृत भन्सार जाँच चौकीले नेपाल–भारत बृहत्तर ब्यापारको ढोका खोल्ने वाणिज्य सचिव डा. वैकुण्ठ अर्याल बताउँछन् ।

त्यस्तै, उद्योग सचिव यामकुमारी खतिवडा प्रस्तावित पूर्वाधारलाई उत्पादनसंग जोड्न सुदुरपश्चिममा औद्योगिक क्षेत्र, करिडोर र विशेष आर्थिक क्षेत्र निर्माणको प्रयास थालिएको बताउँछिन् ।

उनका अनुसार, कञ्चनपुरको दैजीछेलामा औद्योगिक क्षेत्र, कैलालीमा अत्तरिया–धनगढी औद्योगिक करिडोर, हरैयामा सेज र कैलालीको लालपुर डुँडेझारीमा औद्योगिक क्षेत्र निर्माणबारे अध्ययन भइरहेको छ । सचिव खतिवडा भन्छिन्, ‘यी पूर्वाधारबाट सुदूरपश्चिम मात्र नभई समग्र देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment