Comments Add Comment

बालुवाटारमा ओली–गौतम भेट, गौशालामा ओली पक्षधरको गोप्य बैठक

११ अर्ब विदेशी लगानी गैरकानूनी रूपमा भित्रिय

२८ माघ, काठमाडौं । पूर्वसचिव पत्नी हत्या प्रकरण आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक नेपाल भित्रिएको गैरकानूनी लगानी, ओली पक्षधर नेताको भेलालगायत प्रसंग पनि पनि अखबारहरूमा समेटिएका छन् ।

‘हत्यापछि आत्महत्या’ शीर्षक दिएर कान्तिपुरले पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको घरेलु कामदारबाट भएको हत्याबारे मुख्य समाचार बनाएको छ । पूर्वसचिवको घरका कामदार विजय चौधरी पनि झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । घटनाको विवरण छापे पनि यसको कारणबारे भने कान्तिपुर समाचारमा उल्लेख छैन ।

गैरकानूनी रूपमा भित्रिएको विदेशी लगानीमाथि पनि कान्तिपुरको नजर परेको छ । कान्तिपुरका अनुसार, हालसम्म ११ अर्ब रुपैयाँ विदेशी लगानी प्रक्रिया पूरा नगरी भित्रिएको भेटिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईको नेतृत्वमा गठित समितिले २७ कम्पनीले कानूनी प्रक्रिया पूरा नगरी ९ करोड ८५ लाख ९१ हजार ३ सय ४९ अमेरिकी डलर भित्रिएको फेला पारेको हो ।

पार्टी र सरकार आलोचित बन्दै गएपछि रक्षात्मक अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरूले रणनीतिक बैठक गरेको अर्को खबर पनि कान्तिपुरमा छ ।

काठमाडौंको गोशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा ओली पक्षधर नेताको छुट्टै भेला भएको हो । भेलामा सरकार र पार्टीको काम कसरी प्रभावकारी बनाउनेबारे छलफल भएको सहभागीलाई उद्धृत गर्दै कान्तिपुरले समाचार लेखेको छ ।

समाचार अनुसार, सरकारको नियमित काम, एमसीसी, यती होल्डिङ्ससँगको साइनोलगायत विषयमा सरकार र प्रधानमन्त्री ओलीलाई अनावश्यक घेराबन्दीमा पारिएको भन्ने मुद्दा छलफलका एजेन्डा थिए । सहभागी एक नेताको भनाइ कोट गर्दै लेखिएअनुसार सरकारका राम्रा कामको प्रचारप्रसारमा कमी भएको र पार्टीमा पनि आफ्नो पक्षभन्दा अरु पक्ष हाबी हुन खोजेको विषयमा गम्भीर समीक्षा भएको थियो ।

त्यस्तै ओली र वामदेव गौतमबीच भएको भेटबारे पनि पत्रपत्रिकाहरूले समाचार बनाएका छन् । नागरिकले पार्टीका शीर्ष नेताहरूलाई एक्लाएक्लै भेटेर आपसी सम्बन्ध कसिलो बनाउने प्रयासमा लागेका ओलीले वामदेव गाैतमलाई पनि भेटेको लेखेको छ ।

पूर्वसचिव पत्नी हत्याबारे मुख्य समाचार बनाएको अन्नपूर्णले लसुन आयातबारे पनि समाचार छापेको छ । समाचार अनुसार चालू आर्थिक वर्षको ६ महिनामा ६३ करोड ९१ लाख ६० हजार रुपैयाँको लसुन आयात भएको छ ।

नयाँ पत्रिकामा शिवपुरी राष्ट्रिय निकुञ्जको जग्गा पनि यतीको पकडमा रहेको लेखेको छ । गोकर्ण रिसोर्टदेखि नेपाल ट्रस्टको दरबारमार्गलगायतका जग्गा हडपेको यतीले शिवपुरीको जग्गामा पनि पडक जमाएको हो । समाचार अनुसार, २१६ रोपनी जग्गाको भाडा वार्षिक ४० हजार मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment