Comments Add Comment

अकुपाई टुँडिखेल अभियान : ‘हामी थाकेका छैनौं’

तीन महिनामा खुलामञ्च थोरै भए पनि खुला

२९ माघ, काठमाडौं । टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै शुरु गरिएको ‘अकुपाई टुँडिखेल अभियान’को घोषित तीन महिने कार्यक्रम सकिएको छ ।

सार्वजनिक सम्पत्ति संरक्षणका लागि भन्दै ३ महिनाका लागि यस अभियान घोषणा गरिएको थियो । अभियन्ताहरुले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई ज्ञापन पत्र बुझाएर पहिलो चरणको कार्यक्रम समापन गर्ने योजना बनाएको थियो ।

कात्तिक २३ गते मानव साङ्लो बनाएर शुरु भएको अभियान हरेक शनिबार विभिन्न कार्यक्रम गरेर खुला क्षेत्रका लागि अभियानले आवाज उठाउँदै आएको थियो ।

पहिलो चरणका लागि घोषण गरिएको ३ महिने कार्यक्रम समापन भए पनि अभियान भने समाप्त नभएको अभियन्ताहरुले बताएका छन् ।

‘हामी थाकेका छैनौं’

अभियानको घोषित कार्यक्रमअनुसार पहिलो चरणको ३ महिना सकिए पनि चुपचाप नबस्ने अभियानका अभियन्ताहरु बताउँछन् । अबको कार्यदिशा के कसरी हुन्छ टुँडिखेललाई अतिक्रमणबाट जोगाउने नै भएको अभियानका संयोजक विजय श्रेष्ठले बताए ।

उनले उपमेयरको अनुगमन प्रतिवेदन कार्यान्वयन गराउनका लागि दबाव दिइने बताए । उनले भने, ‘सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने दायित्व स्थानीय सरकारलाई दिएको छ,  सोहि अनुसार हाम्रा पिता पूर्खाले हस्तान्तरण गरेको पूर्ण टुँडिखेल कायम गर्न लगाउँछौं ।’

टुँडिखेलको अतिक्रमण गम्भीर मानव अधिकारको उल्लंघन भएकाले राष्ट्रिय मानव अधिकार आयोगमा डेलिगेसन गई तत्काल सरकारलाई सो अतिक्रमण हटाउन सिफारिस गर्न लगाउने समेत योजना अभियानको छ ।

युनेस्कोमा डेलिगेसन गई टुँडिखेलको मूर्त अमूर्त सम्पदा प्रति संवेदनशील हुन ध्यानाकर्षण गराउनुका साथै नागरिक समाज, राजनितिज्ञ, पत्रकारहरूबाट आएको सुझावलाई आत्मसाथ गर्दै मुक्त टुँडिखेलको लागि संघर्ष गर्ने अभियानले निर्णय गरेको छ ।

खुलामञ्च थोरै भए पनि खुला

अभियानको केही सकारात्मक प्रभाव देखिएको छ । लागुऔसध प्रयोगकर्ताहरुको अखडाजस्तै बनेको खुलामञ्च अभियन्ताहरुको सक्रियता पछि अहिले सामान्य कार्यक्रम भने गर्न सकिने भएको छ । छाटो अवधिमा भएका यी कामहरुलाई निकै उपलब्धीपूर्ण भएको अभियन्ता आलोक तुलाधर बताउँछन् ।

यो पनि पढ्नुहोस ‘टुँडिखेल कसको बिर्ता ? अब लिनेछ जनताले फिर्ता’

खुल्ला ठाउँको पक्षमा जनमत निर्माण गर्नुका साथै स्थानीय सरकारलाई झक्झक्याएर उत्तरदायी बनाउने प्रयास गरिएको उनले बताए ।

अभियानमा पूर्वप्रधानमन्त्री, मन्त्री, पूर्व मन्त्री लगायत प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका सांसद तथा राजनीतिक दलका नेताहरुको समर्थन जुटाउन सफल अभियानले महानगरको उपमेयर हरिप्रभा खड्गी लगायतबाट अनुगमन गराई वीर अस्पतालको भवन निर्माणको क्रममा राखिएको सामाग्री तथा कामदारको वासस्थान सो सरोकारवालासँगको सहकार्यमा हटाउन शुरु गराएको छ ।

अभियान्ताहरुको आग्रह पछि महानगरको वडा नं २८ ले सो क्षेत्रमा पार्किङ निषेध समेत गरेको छ । यस अवधिमा स्थानीय सरकारलाई उत्तरदायी बनाउन प्रयास गरे पनि असफल भएको अभियानले स्वीकार गरेको छ ।

‘स्थानीय सरकार संचालन ऐन, २०७४ ले दिएको अधिकार दायित्व बोध गराइ स्थानीय सरकारलाई उतरदायी  बनाउन सकेनौं’ अभियन्ता तुलाधरले भने ।

३ महिने अभियानमा के-के भयो ?

कात्तिक २३ गते मानव साङलो बनाई खुलामञ्चलाई घेरेर अभियानको उदघाटन गरिएको थियो । त्यसयता अभियानले हरेक साता (प्रत्येक शनिबार) विभिन्न कार्यक्रम गर्दै सार्वजनिक स्थानहरुको संरषणको आवाज उठाइरहृयो । जसअनुसार दोस्रो हप्ता खरीको बोट पुन:स्थापना गरेको थियो भने तेस्रो हप्ता साहित्यिक सम्मेलन आयोजना गरेको थियो ।

टुँडिखेललाई अतिक्रमण जोगाउनकै लागि अभियानले सम्पदाका महत्त्व र त्यसमा देखिएका विकृति प्रतिबिम्बित गर्ने सम्पदा लडाई नामक पुस्तकबारे छलफल चलाएको थियो । पाचौं हप्तामा खेलकुदको दृष्टिकोणले टुँडिखेलको महत्त्व प्रतिबिम्बित गर्न तेक्वान्डो प्रदर्शनी गरिएको थियो ।

छैठौँ हप्तामा खुलामञ्चमा जनताको डोजर लगेर सरसफाइको थालनी गरेको थियो । सातौं हप्तामा स्थानियको खुलामञ्चसँगको कथा र स्मृति वाचन गरिएको थियो । यसैगरी आठौं र नवौं हप्ताः खुलामञ्चमा चित्र निर्माण तथा सरसफाइ गरिएको । भने दशौं हप्तामा सवारी मुक्त खुलामञ्च बनाउने सुरुवात स्वरूप महानगरको वडा नं २८ को सहकार्यमा सूचनाहरू टाँसिएका थिए ।

एघारौं हप्तामा हामी नबिर्सौं भन्ने शीर्षकसहित खुल्ला ठाउँ, काठमाडौं, टुँडिखेल, खुलामञ्च लगायतका विषयवस्तु समेटेर फोटो प्रदर्शनी  गरेको अभियानले बाह्रौ हप्तामा वीर अस्पताल र दरबार हाई स्कुलका अधिकारीहरूसँग छलफल गरेको थियो ।

तेहौं हप्तामा भने आगामी योजनाबारे छलफल गरेर अभियान पहिलो चरणको समापन भएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment