Comments Add Comment

मोटोपन घटाउने सरल काइदा

मोटोपन अहिले धेरैको निम्ति टाउको दुखाईको विषय बनेको छ । अनियन्त्रित खानपान, ऐश-आरमको बसोबासले मोटोपनको समस्या बढाएको छ । मोटोपन यसकारण समस्या हो कि, यसले शरीरलाई भद्दा देखाउने मात्र होइन रोग समेत निम्त्याउँछ ।

मोटो शरीर हुनु भनेको शरीरमा अतिरिक्त बोसोको भण्डार हुनु हो । यसले रक्तनलीहरुलाई थप साँघुरो बनाउँछ । मुटु, कलेजो, मृगौलाको कार्य-संचालनमा अवरोध पुर्‍याउँछ । यसले अनेक किसिमको रोग निम्त्याउँछ । जस्तो कि, उच्च रक्तचाप, मधुमेह, कोलोस्टोर आदि ।

मोटोपन हुनुको सबैभन्दा ठूलो बेफाइदा भनेकै संभावित रोगको भय हो ।

मोटोपनले रोगलाई जन्म दिन्छ । अहिले अधिकांशलाई यसको हेक्का छ । त्यसैले ज्यान बढाउने होइन, घटाउने चक्करमा लागेको देखिन्छ । अर्थात शरीरलाई चुस्त र छरितो बनाउने ध्याउन्नमा लागेको देखिन्छ ।

तर, यसका लागि समुचित तरिका के हो त ?

किनभने मोटोपन घटाउने चक्करमा कतिपयले आफ्नो खानामा कटौती गरिरहेका हुन्छन् । खाना नखाएपछि मोटो भइदैन । एक हिसाबले कुरा ठिक हो । तर, शरीरलाई विभिन्न किसिमको पोषण तत्व आवश्यक हुन्छ । ति पोषक तत्वको स्रोत भनेकै खानेकुरा हुन् । यदि खानेकुरा नै नखाने हो भने शरीरमा पोषण पुग्दैन । त्यसले अर्को रोग निम्त्याउँछ ।

मोटोपन घटाउनका लागि व्यायाम गर्नेहरु पनि छन् । मोटोपन घटाउन मात्र होइन, शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्न व्यायाम अनिवार्य छ । यद्यपी व्यायाम गर्ने भन्दैमा जथाभावी व्यायाम गर्नु उचित हुँदैन । आफ्नो शरीरको अवस्था, उमेर आदिलाई ख्याल गरेर उचित किसिमको व्यायाम गर्नुपर्छ ।

मोटोपन घटाउने चक्करमा कतिपयले औषधी सेवन गर्छन् । कतिपय विज्ञापनको पछि लागिरहेका छन् । उपचारद्वारा मोटोपन घटाउने भन्दै शहरका गल्ली गल्लीमा क्लिनिकहरु खुलेका छन् । त्यस्तै कतिपय उत्पादन बजारमा ल्याइएको छ । यसले मोटोपन घटाउने होइन, बरु शरीरलाई थप रोगको शिकार बनाउन सक्छ ।

कसरी घटाउने त ?

कुनैपनि समस्याको निदान खोज्नुअघि त्यसको कारण खोज्नुपर्छ । के कारणले मोटोपन बढेको हो ?

कतिपयको मोटोपन वंशानुगत हुन्छ । बाबुबाजे मोटा छन् भने छोराछोरीमा त्यसको गुण सर्छ । कतिपयलाई थाइराइड जस्ता रोगको कारण मोटोपन बढ्छ । कतिपय औषधीको सेवनले पनि मोटोपन बढ्छ ।

अहिलेको आम समस्या भनेको गलत खानपान र निस्क्रिय दिनचर्या हो । विभिन्न किसिमको प्रशोधित खानेकुरा सेवन गर्ने, शारीरिक श्रम नगर्ने हाम्रो प्रवृत्ति नै मोटोपनको कारण बनिरहेको छ ।

कसरी घटाउने मोटोपन ?

मोटोपन घटाउनका लागि सन्तुलित, स्वस्थ्य र अनुशासित जीवनशैली पहिलो सर्त हो ।

१. खाना घटाउने होइन । बरु, स्वस्थ्य एवं पोषणयुक्त खानेकुरा सेवन गरौं । ताजा र मौसमी फलफूल, सागसब्जीमा जोड दिनुपर्छ । यस्ता खानेकुराले शरीरलाई आवश्यक पोषण प्रदान गर्छ । शरीर स्वस्थ्य हुन्छ ।

२. बजारमा पाइने प्रशोधित खानेकुरा, जंकफूड, चिल्लो-चाप्लो खानेकुराले मोटोपन बढ्छ । यस्ता खानेकुरा पूर्ण रुपमा त्यागौं ।

३. दिनमा एक वा दुई छाक मात्र खाने होइन । दिनभरमा तीन/चार छाक खानेकुरा खाने । तर, हरेक पटकमा थोरै थोरै खाने गरौं । एकै पटकमा धेरै खानेकुरा सेवन गर्दा त्यसले मोटोपन बढाउँछ ।

४. सकेसम्म तारेको, भुटेको, मसलेदार खानेकुरा होइन, उसिनेको खानेकुरा सेवन गरौं । सागसब्जी उसिनेको खान सकिन्छ । सागसब्जीको रस सेवन गर्न सकिन्छ । फलफूल वा सलादको मात्रा बढाउन सकिन्छ । मोटोपन घटाउने प्रभावकारी उपाय हुन् यी ।

५. दिनचर्या सन्तुलित हुनुपर्छ, अनुशासित हुनुपर्छ । बिहान चाडै उठ्ने, व्यायाम गर्ने गरौं । बेलुकी चाडै सुत्ने गरौं । राती लामो समयसम्म बस्दा भोक लाग्छ । खानेकुरा खाइन्छ । त्यसले शरीरमा अतिरिक्त खानेकुरा भण्डारण हुनुपुग्छ, जो मोटोपनको कारण बन्छ ।

६. शारीरिक श्रम गरौं । एकै ठाउँमा लामो समय बस्ने नगरौं । केही न केही शारीरिक क्रिया गरौं । कार्यलय वा घरमा बस्दा पनि उठ्ने, हिँड्ने गरौं ।

७. विहानको समयमा व्यायामको लागि छुट्याउनुपर्छ । बिहान ३५ मिनेटदेखि ४५ मिनेटसम्म निरन्तर व्यायाम गरौं । हिँडौं ।

८. मदिरापान र त्यससँग गरिने स्न्याक्सले मोटोपन बढ्छ । यस्ता खानेकुरा त्यागौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment