Comments Add Comment

नयाँ पुस्तालाई संस्कृति र खेलसँग जोड्दै रुपा

१ फागुन, पोखरा । रुपा गाउँपालिका– १ मा बोटे समुदायको बाक्लो बसोबास छ, तर बोटेकै सन्ततिले उनीहरुको संस्कृति रहनसहन र परम्परा बिर्सिदै जान थाले । वडा नम्बर २ मा अधिकांश दलित बस्ती छ ।

वडा नम्बर ३ मा कमाल समुदाय धेरै छन् । उनीहरुको जीवनशैली, रहनसहन र संस्कृति हराउँदै जाँदा अरुले त्यसको महत्व थाहा पाउन सकेनन् ।

७ वटा वडा रहेको रुपा गाउँपालिकामा फरक फरक समुदायको बसोबास छ । वडा नम्बर ४ मा ठकुरी, ५ मा गुरुङ र नेवार, ६ मा मुस्लिम र वडा नम्बर ७ मा नेवारको बाहुल्यता र विशेष बसोबास छ । यी सबै वडा जाति विशेषका संस्कृति, रहनसहन र परम्परालाई एकै ठाउँमा ल्याउने र नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने अभियान गाउँपालिकाले थालेको छ ।

गएको वर्षदेखि नै रुपा गाउँपालिकाले सबै जातिका संस्कृति र परम्परालाई झाँकीमार्फत प्रदर्शन गर्ने काम थालेको हो । यो वर्ष पनि फागुन २४ गते नयाँ पुस्ताको अनिवार्य सहभागितामा झाँकी प्रतियोगिता गर्न लागेको अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

वडाअनुसार बसोबास गर्ने जातिको सहभागिता अनिवार्य गराउँदै अन्य जातिलाई पनि समेटर समूहमा झाँकी प्रदर्शन हुने छ । ३० जनाको एउटा समूह बन्ने छ भने प्रत्येक समूहमा कम्तीमा ५ जना ३० वर्षभन्दा कम उमेरका व्यतिmलाई सहभागी गराउनुपर्ने गाउँपालिलकाले नियम राखेको छ ।

‘हाम्रा संस्कृति, परम्परा र रहनसहन हराउँदै जान थाले । नयाँ पुस्ता आफ्नै संस्कृतिसँग टाडिँदै छन् । त्यसैले संस्कृतिको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तालाई जोड्ने काम स्थानीय सरकारले गर्न लागेको छ,’ अध्यक्ष ओझाले भने, ‘संस्कृति रहे पो रहन्छ समाज । नयाँ पुस्तालाई पनि हाम्रो संस्कृति र सांस्कृतिका मूल्य रहे पो हामी रहन्छौं भन्ने बुझाउने छौं ।’

पालिकाभित्रका सबै जातिका संस्कृति, परम्परा झल्किने गरी झाँकी प्रदर्शन र प्रोत्साहन गर्ने उनले बताए । झाँकी लिएर आउने प्रत्येक समूहले ५ हजार रुपैयाँ प्रोत्साहन रकम पाउने छन् भने प्रथम हुने समूहले ४० हजार रुपैयाँ पुरस्कार पाउने छ । त्यसै गरी दोस्रो र तेस्रो हुने झाँकीको समूहले ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने गाउँपालिकाले जानकारी दिएको छ ।

उर्वर भूमिमा स्थानीय तहबीच भलिबल प्रतिस्पर्धा

कास्कीकै सानो स्थानीय तह रुपा गाउँपालिकामा फाँटहरु छन् तर ठूला खेल मैदान छैनन् । रुपाका गाउँहरुमा फूटबल, क्रिकेट खेलिँदैन । रुपाका गाउँहरुको खेल भनेकै भलिबल हो । कुनै चाडपर्व होस् वा कुनै मेला, महोत्सव र कार्यक्रम, रुपामा भलिबल प्रतियोगिता टुट्दैन ।

बर्षौं पहिलेदेखि रुपाका गाउँहरुमा भलिबल प्रतियोगिताको लहर नै चल्थ्यो । रुपाले भलिबलको गतिविधिमात्रै बढाएन, देशकै प्रतिनिधित्व गर्ने खेलाडी जन्मायो । राष्ट्रिय भलिबल टिमका क्याप्टेन इमानसिंह थापा रुपाकोटकै हुन् । साविकका गाविसहरुबाट स्थानीय सरकार बनेपछि रुपा गाउँपालिकाले भलिबलको यही उर्भर भूमिलाई अझ मलजल गर्न थालेको छ ।

ऐतिहासिक खेललाई प्रवद्र्धन गर्दै रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशका अन्तर स्थानीय तह भलिबल प्रतियोगिताको आयोजना गरेको छ । ‘रुपाको विशेषता भनेकै भलिबल हो । भलिबलको गतिविधि भइरहने गाउँहरुमा स्थानीय सरकारले नै त्यसको प्रवर्द्धन र विकास गर्नुपर्छ भनेर गण्डकी प्रदेशका स्थानीय तहबीच भलिबल प्रतियोगिता गर्न लागेका हौं,’ गाउँपालिका अध्यक्ष ओझाले भने, ‘गण्डकी प्रदेशका स्थानीय तहबीचको प्रतियोगिताले रुपा उत्सवमय बन्ने छ ।’

फागुन २४ गतेदेखि सञ्चालन हुने गरी अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा सम्बन्धित स्थानीय तहबाट राष्ट्रिय खेलाडीहरुले पनि खेल्न पाउने छन् ।

‘रुपाको पहिचान, सबै क्षेत्रमा समृद्धिको अभियान’ नारासहित काम गर्दै आएको गाउँपालिकाले ‘युवालाई खेलकुदतर्फ आकर्षित गरांै, स्वस्थ र समुन्नत समाजको निर्माण गरौं’ भन्ने उद्घोषका साथ खुल्ला भलिबल प्रतियोगिता गर्न लागिएको अध्यक्ष ओझाले जानकारी दिए । प्रतियोगितामा यो वर्ष कम्तीमा २५ स्थानीय तहले भाग लिने अध्यक्ष ओझाको विश्वास छ ।

प्रतियोगितामा प्रथम हुने स्थानीय तहले १ लाख २० हजार, दोस्रोले ९० हजार, तेस्रोले ६० हजार र चौथोले ३० रुपैयाँ प्राप्त गर्ने छन् । विभिन्न उत्कृष्ट खोलाडीहरुले पनि प्रोत्साहन रकमको साथमा पुरस्कार पाउने छन् ।

रुपा डान्स आइडल

यो वर्षदेखि पालिकाभित्रका प्रतिभा पहिचान गर्ने अर्को कार्यक्रम पनि रुपाले थालनी गर्न लागेको छ । पालिकाले पहिलो पटक रुपा डान्स आइडल गर्न लागेको हो । पालिकाभित्र बसोबास गर्ने जो सुकैले पनि भाग लिन पाउने गरी डान्स आइडल गर्न लागिएको छ ।

आइडलमा प्रथम हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । द्वित्तीय, तृतीय र उत्कृष्ठ गरी क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । आइडलका लागि बिहीबारदेखि नै अडिसन सुरु भइसकेको छ ।

स्थापना दिवसका अवसरमा ४ दिनसम्म गाउँपालिकाको केन्द्र भीरचोकमा उत्सव चल्ने उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिइन् । कार्यक्रम सम्पन्न गर्नका लागि वडा नम्बर ६ का अध्यक्ष नारायण गुरुङको संयोजकत्वमा खेलकुद मूल समिति र अन्य ८ उपसमिति गठन गरेर तयारी थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment