Comments Add Comment

मुनाको हत्या गरेर आधा घन्टापछि आत्महत्या गरेका थिए चौधरीले

१ फागुन, ललितपुर । पूर्वसचिव अर्जुन कार्की पत्नी मुनाको हत्या गरेर आधा घन्टापछि कामदार दाङका २२ वर्षीय विजय चौधरीले आत्महत्या गरेको हुनसक्ने प्रहरीले निष्कर्ष निकालेको छ ।

घटना सम्बन्धी प्राविधिक पक्षको विश्लेषण र क्लोज सर्किट (सीसी) क्यामरा फुटेजको आधारमा यो निश्कर्ष निकालिएको हो ।

ललितपुर प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले अनलाइनखबरसँग भने, ‘घटनाक्रम हर्दा हत्याको आधा घन्टापछि आत्महत्या गरेको देखिन्छ ।’ उनलाई भुइँमा लडिरहेको अवस्थामा पहिलो पटक सोमबार ११ः२० बजे पूर्वसचिव कार्कीले देखेका थिए ।

कार्की र चौधरीको पाटन अस्पतालमा पोष्टमार्टम भइसकेको छ । यद्यपि, रिपोर्ट आइसकेको छैन । तर, प्रारम्भिक जाँचपछि घाँटीमा डोरीले कसेपछि मुनाको मृत्यु भएको देखिएको छ ।

यो पनि पढ्नुहोस आत्महत्याअघि कामदारले किन गरे मुनाको हत्या ?

यसअघि उनले घरमा भएको पिर्का मुनाको टाउकोमा प्रहार गरेका थिए । ‘पिर्का प्रहारबाट मात्रै मृत्यु हुने खालको अवस्था थिएन’, एसएसपी राई भन्छन्, ‘सुरुमा पिर्का प्रहार भए पनि घाँटीमा डोरी कसेपछि मात्रै उहाँको मृत्यु भएको देखिएको छ ।’

यो घटनाको चिकित्सकीय व्याख्या भने फरेन्सिक रिपोर्टमा खुल्ने बताइएको छ ।

मोबाइल फरेन्सिक ल्याबमा

प्रहरीले घटनाको अनुसन्धानका क्रममा मुना र विजयको मोबाइललाई फरेन्सिक जाँचका लागि पठाएको छ । प्रहरी प्रधान कायालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पठाएर विश्लेषण थालिएको हो ।

ल्याबले मोबाइलबाट हटाइएका तथ्य पनि निकाल्नेछ । अनुसन्धानका क्रममा प्रहरीले घरमा कार्यरत महिला कामदार मीना कोइराला र प्लम्बर रमेश क्षेत्रीको पनि बयान लिइसकेको छ ।

बुबा ५० वर्षीय जानकी चौधरीले प्रहरीसँग बयान दिँदै विजयलाई ७ वर्षअघि गाउँबाट पठाइएको बताएका छन् । त्यसबीचमा उनी पाँच पटक मात्र घर गएको बुबाको भनाइ छ ।

‘गाउँमा ६ कक्षा पढेर छाडेको थियो, ठूलो मान्छे कहाँ गएपछि जागिर पाउँछ भनेर पठाएका थियौं’, उनले भनेका छन्, ‘केही दिनअघि फोन गरेर ५ लिटर तोरीको तेल र मुसुरोको दाल पठाइदिनु भनेको थियो ।’

उनका अनुसार विजयले कामबारे कहिल्यै असन्तुष्टि पोखेका थिएनन् । ‘कामबारे सोध्दा राम्रो छ भन्थ्यो’, जानकीले प्रहरीसँग भनेका छन् ।

घरमा पैसा भने एकदमै कम मात्र पठाउने गरेको उनले भनेका छन् । ‘धेरै भनेको पछिल्लो पटक २० हजार रुपैयाँ पठाएको हो’, उनी भन्छन् ।

कोइरालाले विजय प्रायः नबोल्ने स्वाभावको भएको बताएका छन् । आफूसँग भेट हुँदासम्म सामान्य व्यवहार गर्ने उनलाई एक्कासी के भयो थाहा नभएको उनले उल्लेख गरेकी छन् ।

प्लम्बर क्षेत्रीले घटना भएको दिन बिहान पानीको पाइप विग्रिएकाले पुगेको बताएका छन् । तर, उनी सामान्य मर्मतसम्भारपछि फर्किएका थिए । ‘बनाउने वेला छतमाथि चढेर मलाई पनि सहयोग गरेको थियो’, उनले भनेका छन्, ‘पाइप बनाएपछि साउनीलाई भेटेर फर्किएको थिएँ ।’

फर्किँदा विजयको व्यवहार सामान्य नै रहेको क्षेत्रीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment