Comments Add Comment

जनयुद्ध : नेकपाको दराजमा सजाउने सुनौलो किताब

“जनताको बहुदलीय जनवाद अबलम्बन गर्दै आएको नेकपा(एमाले) र माओवाद एवं एक्काईशौं शताब्दीको जनवाद अवलम्बन गर्दै आएको नेकपा(माओवादी केन्द्र) बीचको एकताबाट निर्मित यो पार्टी संविधानको सर्बोच्चता, विधिको शासन, मानवअधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुल्ला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरुद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य—मान्यतामा प्रतिवद्ध छ ।”

नेकपाको विधानमा यसरी उल्लेख गरिएको छ । २०२८ मा शुरु गरिएको झापा सशस्त्र विद्रोहबाट उदाएको तत्कालीन नेकपा (एमाले) र २०५१ मा शुरु जनयुद्धबाट उदाएको तत्कालीन माओवादीको एकता पछिको औपचारिक घोषणा हो यो ।यसबाट बुझिन्छ, नेकपा माओवादी ह्याङ्ओभरबाट मुक्त भएर मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको विशेषता मानेर अघि बढ्ने विन्दुमा आइपुगेको छ ।

तर, पनि युद्धको विविषिकाबाट लामो फड्को मारेको नेकपाको अन्तरिम विधान र प्रतिवेदनले जनयुद्ध एक ऐतिहासिक घटनाको रुपमा स्वीकार गरेको छ । तर, फागुन १ गते नेकपाभित्र अझै लयमा आउन नसकेको मिति बनेको छ ।

तत्कालीन माओवादीले आफ्नो पात्रोमा सबैभन्दा बढी हाइलाइट गरेको मिति, अर्थात् जनयुद्ध दिवस । तत्कालीन माओवादीले यो दिवसलाई धुमधामसँग मनाउँदै आएको थियो । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आइसकेपछि, चुनाब जितेर सत्तामा पुगेपछि पनि “महान जनयुद्ध —जिन्दावाद !” “जनयुद्ध जारी छ” जस्ता नारा सो दिवसमा घन्काइन्थ्यो ।

यो क्रम एमाले—माओवादी एकता हुनु ठीक अघिसम्म चल्यो । अहिले पनि कतिपय व्यक्तिले आफ्ना फेसबुकका भित्तामा “महान जनयुद्ध —जिन्दावाद !” रङ्गाइरहेछन् ।

नेपाली भाषाको अलिकति ज्ञान हुनेलाई थाहा हुन्छ— “जिन्दावाद”शब्द फारसी भाषाको ‘जिन्द’ शब्द र अरबी भाषाको ‘आवाद’ शब्द मिलेर बनेको हो । जसको अर्थ हुन्छ—बाँचिरहोस् वा बाँचिरहुन्, अमर रहोस् वा अमर रहुन्, पृथ्विीलाई धेरै दिनसम्म सुशोभित पारोस् वा पारुन् ।

जनयुद्धको स्मरणलाई चिरस्थायी बनाउन सकिएला, तर युद्ध बाँचिरहोस् भनेर अहिले कोही नेकपाले नारा घन्काउन मिल्दैन । जसरी जन्ती जाँदा एकोहोरो शङ्ख बजाउन मिल्दैन ।

जनयुद्ध,घटना एक, नेता कार्यकर्ताको बुझाइ फरक–फरक । कसैलाई यो सयका सय ठीक लाग्छ, कसैलाई पचास प्रतिसत ठीक र पचास बेठीक लाग्छ । र, कसैलाई सयका सय बेठीक लाग्छ ।

अनि कसैलाई यो दिवश विगतमाझैं हर्षोल्लासका साथ मनाउन पाए हुन्थ्यो भन्ने लागेको छ । किनभने, त्यसैमा आफ्नो जीवन छ । र, कसैलाई यो देख्दै, सुन्दै ऐंठन हुन्छ किनभने त्यहाँ उसको जीवन थिएन, छैन र हुनेछैन ।

जनयुद्ध निरपेक्ष हिंसा थियो कि निरपेक्ष क्रान्ति ? यो प्रश्नको उत्तर सहज छैन । यो प्रश्नको उत्तर न्यायाधीशको किस्सा जस्तो सधैं बनाउन सकिदैन, हुदैन । न्यायाधीशको किस्सा यस्तो छ ः एउटा मुद्धामा बहस चल्दै थियो । एक दिन न्यायाधीशको घरमा सोही मुद्दाका वादी वकिल आए र आफ्नो दलील पेश गरे । अन्त्यमा, न्यायाधीशले भनेः “तिम्रो कुरा ठीक !”

एकछिन पछि प्रतिवादी वकिल आएर आफ्नो दलील पेश गरे । न्यायाधीशले अन्त्यमा भने  “तिम्रो कुरा ठीक !”

वकिल गइसकेपछि खाना खाँदै गर्दा न्यायाधीशकी श्रीमतीले कुरा कोट्याइछिन् “हैन हजुरले वादी–प्रतिवादी दुबैलाई “तपाईंको कुरा ठीक भनेर पठाइदिनुभयो । एउटा मुद्दामा वादी प्रतिवादी दुबै त ठीक नहोलान् नि !”न्यायाधीशले श्रीमतीलाई उही उत्तर दोहोर्‍याए “तिम्रो कुरा ठीक !”

हो, जनयुद्धलाई हेर्ने मामिलामा नेकपामा एउटै बुझाई अपेक्षित छ । आफूले विगतमा कमाएर ल्याएको नेकपाको यो सम्पत्ति जत्ति हो त्यत्तिकै हिसाब–किताब कुनै बेला होला । त्यतिबेला हाल जनयुद्धलाई अनावश्यक बढाई चढाई गर्नेहरु र यसलाई विलकुलै अवमूल्यन गर्नेहरुले पराजय ब्यहोर्नु पर्ने होला । जनयुद्धको अति मोह र त्यसप्रतिको अति पूर्वाग्रह दुवै त्याज्य छन् ।

पूर्वीय महान द्रष्टा चाणक्यले विगत, वर्तमान र भविश्यबारे कालजयी धारणा व्यक्त गरेका छन् । उनी भन्छन्ः

“गते शोक नकर्तव्यं भविष्य नैव चिन्तयत् ।

वर्तमानेन कालेन प्रवर्तन्ते विचक्षणा ।।”

जनयुद्ध नेकपाको विगत हो, वर्तमान होइन । विगतले वर्तमानलाई अनावश्यक प्रभाव पारिरह्यो भने भविष्यको यात्रा नराम्ररी प्रभावित हुन्छ । विगतमा फरक फरक पार्टी अस्तित्वमा हुँदाका मान्यतामै अडिएर कहीं पुगिँदैन । असम्भव झैं लाग्ने कैयौं वैचारिक, सैद्धान्तिक र सांगठानिक भिन्नतामा डोजर चलाएर यहाँसम्म आइपुगेको सत्तारुढ नेकपाभित्र जनयुद्धका बारेमा दुई किनारामा उभिरहनुचाहिँ “हात्ती छि¥यो पुच्छर अड्क्यो” जस्तो मात्र हुन्छ ।

“शान्तिपूर्ण प्रतिपर्धात्मक”बाटोमा हिँड्ने पार्टीको आधिकारिक लाइनले यस्ता कुरामा आउने विवादलाई समाधान दिन्छ, दिनुपर्छ । कम्युनिष्टलाई अरुसंग फरक बनाउने धेरै विषय छन् । ती मध्ये सबभन्दा प्रमुख हो ः तिनीहरु द्वन्दवादी हुन्छन् । उनीहरु हरेक वस्तु, घटना र प्रक्रियालाई विभिन्न कोणबाट विश्लेषण गर्छन् । सकारात्मक र नकारात्मक पक्ष केलाउछन् र निक्र्योल गर्छन् । नेकपाभित्र जनयुद्धलाई हेर्ने दृष्टिकोणमा एकरुपता ल्याउन द्वन्दवादको प्रयोग नगरी सुखै छैन । कोही नेता–कार्यकर्ताले जनयुद्धलाई महान् भने भीरबाट खस्ने र अरु कोहीले विरोध गरे पहिरोमा फस्ने परिस्थितिबाट मुक्त पार्नु आवश्यक छ ।

नेकपा सैद्धान्तिक, वैचारिक, सांगठानिक र व्यवहारिक संक्रमणबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा फरक पार्टी हुँदाका कैयन् अभ्यासहरु स्वतः निलम्वित हुनेछन् । अवश्यमेव जनयुद्धसँग जोडिएका बुझाइ र व्यवहार त्यही कोटीमा पर्दछन् ।

झापा सशस्त्र विद्रोहका प्रमुख नायक प्रधानमन्त्री र नेकपाको कार्यकारी अध्यक्ष भएको तथा १० बर्षे जनयुद्धका प्रमुख नायक नेकपाका अर्का कार्यकारी अध्यक्ष भएको बेला नेकपाले फागुन १ गतेलाई जनआन्दोलन र जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली कार्यक्रम गर्ने जुन निर्णय ग¥यो, यो उचित, समन्वयकारी र संक्रमणकालीन निर्णय मान्न सकिन्छ । निःसन्देह, यो कार्यक्रममा विगतका कुनै विद्रोह वा जनयुद्धको विगतमा गरिनेजस्तो जयजयकार गरिने छैन, बरु सामन्तवादको उच्छेद गर्ने शान्तिपूर्ण र सशस्त्र विद्रोहमा साहदात प्राप्त गर्ने पार्टीका सहिदको स्मरण हुनेछ, श्रद्धान्जली हुनेछ ।

जनयुद्धको सिलसिलामा क्रुरतापूर्वक हत्या गरिएका सुरेश वाग्लेलाई मात्र होइन, यदु गौतम र चक्र डगोरा चौधरीलाई पनि नेकपाले उत्तिकै सम्मानका साथ स्मरण गर्नेछ । यो तत्कालीन माओवादीले बसालेको परम्परामा आएको क्रमभङ्गता हो ।

नेकपा एकताका सबै आयामहरुको पूर्णतापछि स्वतःयो दृष्टिकोणमा आएको भिन्नताको समस्या पनि समाधान भईहाल्छ । जनयुद्ध नेकपाको दराजमा सजाउने सुनौलो इतिहासको किताब हो । तर, वर्तमानका लागिचाहिँ पल्टाइरहन पर्दैन, हुँदैन ।

(भट्टराई नेकपा नेता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment