२३ कात्तिक, काठमाडौं । चितवनको सौराहामा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठकमा डा. तोसिमा कार्कीले पार्टी रिफर्मेसनका लागि चार बुँदे मार्गचित्र प्रस्तुत गरेकी छन् । उनले महाधिवेशनदेखि वैचारिक पुनर्संरचनासम्मका विषय समेटेर नेतृत्वलाई स्पष्ट निर्णयका साथ अघि बढ्न आग्रह गरिन् ।
कार्कीले पहिलो बुँदामा महाधिवेशनलाई पार्टीको ‘अक्सिजन’ भन्दै २०८२ मंसिरमै सम्पन्न गर्नुपर्ने प्रस्ताव राखिन् । उनका अनुसार महाधिवेशनले संगठन विस्तार, वैचारिक स्पष्टता र चुनावी तयारीमा नयाँ ऊर्जा थप्नेछ ।
दोस्रो बुँदामा उनले वर्तमान कार्यकारी नेतृत्व (पदाधिकारी तथा सचिवालय) भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नुपर्ने धारणा राखिन् । समितिमा जेनजी, वैकल्पिक शक्तिहरू र बौद्धिक वर्गको प्रतिनिधित्व हुनुपर्ने बताउँदै उनले समावेशीताको अभावबारे उठ्दै आएको आलोचनाबाट पार्टीले पाठ सिक्नुपर्ने उल्लेख गरिन् ।
‘महाधिवेशन आयोजक समिति घोषणापछि पनि केन्द्रीय सचिवालय र पदाधिकरी रहिरहनु र सचिवालय विस्तार समेत गरीनुको आधार स्पष्ट नभएको मेरो बुझाइ छ,’ उनले भनेकीछन्, ‘महाधिवेशनका लागि सकारात्मक वातावरण निर्माण गर्न पार्टीको मौजुदा कार्यकारी नेतृत्व (पदाधिकारी तथा सचिवालय) भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नु पर्दछ ।’
उनले महाधिवेशन आयोजक समितिमा जेनजी, विभिन्न वैकल्पिक शक्तिहरू एवं बौद्धिक वर्गलाई पनि समावेश गर्नु पर्ने प्रस्ताव राखेकी छन् । पार्टीको हालको कार्यकारी नेतृत्व समूह/सचिवालय समावेशी हुन नसकेको भनी आलोचना भइरहेको सन्दर्भ पनि उनले उठाएकी छन् । ‘महाधिवेशन आयोजक समिति र महाधिवेशनबाट गठन हुने केन्द्रीय समिति, सचिवालय तथा पदाधिकारीको संरचना नेपालको विविधतालाई वास्तविक प्रनिधित्व गर्ने गरी समावेशी बनाउनु पर्दछ,’ उनले भनेकी छन् ।
तेस्रो बुँदामा उनले विचार मिल्न सक्ने दलसँग घण्टी चुनाव चिह्न साझा राखेर एकता प्रक्रिया अघि बढाउने प्रस्ताव गरेकी छन् । ठूला–साना सबै खालका दललाई एकतामा स्वागत गर्न रास्वपाले उदारता देखाउनुपर्ने उनको भनाइ छ ।
चौथो बुँदामा उनले पार्टीलाई मध्यमार्गी राजनीतिक शक्तिका रूपमा उभ्याउँदै नयाँ वैचारिक ध्रुवीकरणको नेतृत्व गर्नुपर्ने धारणा प्रस्तुत गरिन् । वर्तमान वाम–दक्षिण ध्रुवीकरणले देशलाई परिणाममुखी दिशामा लैजान नसकेको उल्लेख गर्दै उनले आर्थिक र सामाजिक रूपान्तरणका एजेन्डा स्थापित गर्न रास्वपा अगाडि बढ्नुपर्ने बताइन् ।
कार्कीले विस्तारित बैठकलाई केवल औपचारिकता नभई वैचारिक र संगठनात्मक रिफर्मेसनको मोडालिटी तय गर्ने निर्णायक थलो बनाउनु आवश्यक रहेकोमा जोड दिएकी छन् ।
देशभरबाट आएका नेता–कार्यकर्ताका सुझावलाई समेटेर प्रस्तुत मार्गचित्र कार्यान्वयन गर्न सके रास्वपा नागरिक केन्द्रित, समावेशी र जिम्मेवार राजनीतिक शक्तिका रूपमा मजबुत हुने उनको निष्कर्ष छ ।
प्रतिक्रिया 4