Comments Add Comment

किन परिवर्तन भयो ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति ?

फागुण २३ गतेलाई प्रदर्शन मिति तय गरेर छायांकनमा गएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति एक साता पछि सरेको छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता तथा निर्देशक सुदर्शन थापाले फागुण ३० गतेलाई प्रदर्शन मिति तय गरिएको जानकारी दिए ।

योसँगै, चलचित्रको प्रदर्शन मिति पछि सर्नुको कारणबारे विभिन्न तर्क हुन थालिएको छ । फागुणको २३ गते हिन्दी चलचित्र ‘बाघी ३’ पनि रिलिज हुँदैछ । हिन्दी चलचित्रको भयका कारण सुदर्शन र नायिका पूजा शर्माले यो चलचित्रको प्रदर्शन मिति एक साता पछि सारेको टिप्पणी हुन थालेको छ ।

तर, निर्देशक तथा निर्माता सुदर्शन थापाले भने वितरकहरुसँग सल्लाहा गरेर नै चलचित्रको प्रदर्शन मिति तय गरिएको बताए । उनले भने–‘हामी माघ २८ गतेसम्म पनि चलचित्रलाई फागुण २३ गते नै रिलिज गर्ने पक्षमा थियौं । यसका लागि ट्रेलरमा पनि फागुण २३ नै उल्लेख गरिएको थियो । तर, वितरकले माघ २९ गते बोलाएर हामीलाई डेट सार्न आग्रह गर्नुभयो ।’

सुदर्शनले हिन्दी र नेपाली चलचित्र एकसाथ आउँदा शोज बाँडिने र नेपाली चलचित्र चेपुवामा पर्ने घटना यसअघि पनि घटेको भन्दै यस्तो नहोस् भन्नका लागि प्रदर्शन मिति एक हप्ता पछि सारिएको बताए । उनले भने–‘सम्पूर्ण हलले दुबै चलचित्रलाई उत्तीकै महत्व दिएका छन् । तर, एकसाथ आउँदा शोज बाँडिन सक्छ । यस्तो अवस्थामा एक साता पछि सार्न वितरकले आग्रह गरेपछि हामी पनि तयार भएका हौं ।’

उनले, हरेक नेपाली दर्शक र पत्रकारमा पनि नेपाली चलचित्रले राम्रो व्यापार गरोस्, राम्रो शोज पाओस् भन्ने चाहना रहेको भन्दै यसैका लागि यो निर्णय गरिएको सुनाए ।

पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको यो चलचित्रको ट्रेलरलाई दर्शकले रुचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment