२ फागुन, काठमाडौं : थाइल्याण्डमा फागुन तेस्रो साता आयोजना हुने एसीसी इस्टनर्न रिजन टी २० क्रिकेट प्रतियोगिताको लागि १४ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
टिममा स्पीनर भुवन कार्कीले पुनारागमन गरेका छन् । यसअघि घोषणा गरिएको १८ सदस्यीय टोलीमा रहेका ४ खेलाडी भने अन्तिम टिममा अटाएनन् ।
आइसीसी क्रिकेट विश्वकप लिग २ मा घरेलु मैदानमा भएको ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजमा एक खेल खेलेका रोहितकुमार पौडेल र कमलसिंह ऐरी पनि टिममा अटाउन सकेनन् ।
यस्तै पहिलो पटक क्याम्पमा परेका शेर मल्ल पनि अन्तिम टोलीमा अटाउन सकेनन् । अर्का खेलाडी लोकेश बम पनि टिममा परेनन् ।
त्रिकोणात्मक सिरिजमा नपरेका पवन सर्राफ, सन्दिप जोरा, किशवर महतो र भुवन कार्की इस्टर्न रिजनका लागि टिममा परेका छन् । बाँकी १० खेलाडी भने सिरिज खेलेकै खेलाडी छन् ।
यस्तै सिरिज लगत्तै भारतीय प्रशिक्षक उमेश पटवाल राजीनामा दिएर गएपछि नेपाली टिमको प्रशिक्षक जगत टमाटाले सम्हाल्ने भएका छन् ।
इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगिता यही फागुन १५ देखि २३ गतेसम्म हुनेछ । एसिया कप टी२० को लागि अगष्टमा हुने क्वालिफायरका लागि एसीसीले इस्टर्न र वेस्टर्न रिजनबाट टोली छनोट गर्नेछ । त्यसका लागि इस्टर्न र वेस्टर्न प्रतियोगिता हुनेछ ।
इस्टर्न रिजनमा नेपालसहित, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया, सिंगापुर र थाईल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । यस्तै फागुन ९ देखि १६ सम्म ओमनमा हुने वेस्टर्न रिजनमा बहराइन, इरान, कुवेत, माल्दिभ्स, ओमान, कतार, साउदी अरबिया र यूएई छन् ।
दुवै रिजनबाट शीर्ष दुई टोली एसिया कप क्वालिफायरमा छनोट हुनेछ । क्वालिफायर अगष्टमा मलेसियामा हुनेछ । क्वालिफायरमा चार टीमबीच प्रतिस्पर्धा हुनेछ र विजेता टिम सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनोट हुनेछ ।
एसिया कपमा टेष्ट खेल्ने पाँच टिम भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित छनोटको विजेता गरी ६ टिमले प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल मल्ल, सुसन भारी, पवन सरार्फ, सन्दीप जोरा, किशोर महतो, भुवन कार्की
व्यस्थापक : माधव कुमार कर्माचार्य
प्रशिक्षक : जगत टमाटा
भिडियो एनालिस्ट : रमन शिवाकोटी
फिजियो : विक्रम न्यौपाने
प्रतिक्रिया 4