Comments Add Comment

ललिता निवास प्रकरणमा प्रधानमन्त्रीको प्रश्न : देखाउनेले दाग देखायो, किन रुवाबासी ?

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितानिवास जग्गा प्रकरणमा सरकारले कसैप्रति पनि आग्रह वा पूर्वाग्रह नराखेको स्पष्टीकरण दिएका छन् ।

ललितानिवासको १३६ रोपनी जग्गामाथि गरिएको जालसाजीविरुद्ध आफैंले छानविन समिति बनाएको तर प्रधानमन्त्रीले नै जग्गा बेचेर खाएछ भन्ने भान पर्ने गरी प्रचार गरिएको गुनासो गरे ।

सरकार गठन भएको दुई वर्ष पुरा भएको दिन शनिबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आयोगले छानविन गरुन्जेल केही मानिसले अधीरतापूर्वक सरकारलाई उत्तेजित पार्ने गरी खोई त कारबाही भनिरह्यो । आरोपितहरुविरुद्ध जब मुद्दा दायर भयो, देखिएका र सुनिएका प्रतिक्रिया ड्रागन प्रेमी युवाको जस्तै भयो ।’

प्रधानमन्त्री ओलीले अघि भने, एउटा गीत सम्झिन्छु म, ‘देखाउनेले दाग देखायो, किन रुवाबासी ….।’

सरकार कसैप्रति आग्रही वा पूर्वाग्रही नभएको उनले बताए । आग्रह र पूर्वाग्रह बेगर चर्चामा ल्याइएका वा चर्चामा रहेका सुन तस्करी, वाइडबडी, न्यारोवडी लगायतका विभिन्न प्रकरणको निश्पक्ष छानविन हुन्छ’ प्रधानमन्त्री ओलीले भने ।

ललितानिवास प्रकरणमा प्रधानमन्त्रीको भनाइ जस्ताको जस्तैः

बालुवाटारस्थित ललितानिवासको १३६ रोपनी जग्गामाथि गरिएको जालसाजीविरुद्ध मैले नै एउटा छानविन समिति बनाएँ । समिति बन्नुअघि र त्यसको प्रतिवेदन सरकारले सार्वजनिक गर्नुअघि सर्वत्र शान्ति देखिन्थ्यो । त्यसपछिका प्रतिक्रियाहरु रमाइला देखिए, सुनिए । ललितानिवास र प्रधानमन्त्री निवास दुबै बालुवाटारमै भएकाले प्रधानमन्त्रीले नै जग्गा बेचेर खाएछ भने जस्तो गरेर त्यस्तो भान पर्ने गरी बालुवाटार काण्डलाई प्रचारप्रसार र आक्रमणको कारण बनाइयो । लुटिएको जग्गा फिर्ता ल्याउने मेरैको कैफियत छ कि जसरी प्रचार प्रसार गरियो । यससन्दर्भमा केही साथीहरुको भूमिका एउटा चिनियाँ लोककथासँग मिल्दोजुल्दो जस्तो लाग्छ । त्यो लोककथामा एक जना ड्रागन मन पराउने मान्छे थियो । र, उसले घरको भित्ताभरी जतासुकै ड्रागनका चित्र लेख्थ्यो, ड्रागनको प्रार्थना गथ्र्यो, ड्रागनको प्रशंसा गथ्र्यो । उसको प्रशंसा र भक्तिभाव देखेर ड्रागन प्रशन्न भयो र एकदिन ड्रागन प्रकट भयो । विचराको भागारेभाग ड्रागन देख्दा । मलाई त्यस्तै लाग्छ जब ड्रागन आउन थाल्यो, समस्या बेग्दै देख्यो ।

ललितानिवास प्रकरणमा समितिले प्रतिवेदन दियो, त्यसलाई आवश्यक कारबाहीका लागि सरकारले संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठायो । आयोगले छानविन गरुन्जेल केही मानिसले अधीरतापूर्वक सरकारलाई उत्तोजित पार्ने गरी खोई त कारबाही भनिरह्यो । यो श्रृखला आरोपितविरुद्ध मुद्दा दायर हुने दिनसम्मै चलिरह्यो । छानविनको समयमा होस् वा त्यसपछि सरकारले छानविन गर्ने निकायलाई सहयोग गरिरह्यो । आरोपितहरुविरुद्ध जब मुद्दा दायर भयो, देखिएका र सुनिएका प्रतिक्रिया ड्रागन प्रेमी युवाको जस्तै भयो । एउटा गीत सम्झिन्छु म, ‘खाउन दाग देखायो, किन रुवाबासी ….।’ मेरो भनाइ यत्ति छ, भद्रगोलस्थित र प्रणालीविहीन अवस्थामा लडखडाइरहेको मुलुकलाई ट्र्याकमा ल्याउन हामी सबै संयम र सहयोगी बनौं । आरोपीहरु न्यायालयले फैसला नगरेसम्म दोषी हुन्नन् । हाम्रो लोकतन्त्रमा व्यवस्थापिका, कार्यपालिका र न्यायापालिकाबीच स्वतन्त्र र अन्तर सम्वन्धित सन्तुलन र नियन्त्रणको व्यवस्था यसै कारण गरिएको हो । संवैधानिक आयोगहरु हाम्रो लोकतन्त्रलाई स्वच्छ राख्न निर्मित स्वायत्त संस्था हुन्, तिनीहरु बलियो हुँदा प्रणाली दुरुस्त हुन्छ । प्रणाली दुरुस्त हुँदा लाइनमा नबसी टुंगोमा पुग्न पल्किएकाहरु बाहेक सबैलाई लाभ हुन्छ । म स्पष्ट पार्न चाहन्छु, सरकार कसैप्रति पनि आग्रही वा पूर्वाग्रही छैन र हुँदैन । आग्रह र पूर्वाग्रह वेगर चर्चामा ल्याइएका वा चर्चामा रहेका सुन तस्करी, वाइडबडी, न्यारोवडी लगायतका विभिन्न प्रकरणको निश्पक्ष छानविन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment