Comments Add Comment

निवर्तमान सभामुख महराको आज अन्तिम सुनुवाइ

फाइल तस्वीर

४ फागुन, काठमाडौं । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे आइतबार अन्तिम सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो ।

अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले सम्भवतः आइतबारै फैसला आउने अनलाइनखबरलाई बताए । उनले भने, ‘बहस सकिए आजै फैसला आउँछ ।’

यसअघि ३ पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पनि सदर गरेको थियो । तर, उनको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको थियो ।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए ।

यस्तो थियो घटना

प्रतिनिधिसभाका तत्कालीन सभामुख महरामाथि १२ असोजको साँझ संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको थियो । आफूले प्रतिवाद गर्दा कुटपिट गरेको दाबी गर्दै उनले प्रहरी कन्ट्रोलको १०० मा फोन गरेर गुहार मागेकी पनि थिइन् । उनको फोनका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली उनको कोठामा पुगेको थियो ।

त्यसको भोलिपल्ट यो घटना बाहिर आयो । तर, महरा र उनको सचिवालयले भने आरोप अस्वीकार गरेको थियो । त्यसवेला महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रिस पोखिएको दाबी गरेका थिए ।

तर महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकालेको थियो ।

१४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो । लगतै महराले सभामुख पदबाट राजीनामा दिए । यद्यपि सांसद पदबाट भने राजीनामा दिएनन् ।

उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको नयाँ भिडियो सार्वजनिक भयो, जसमा बोली फेर्दै उनले महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरिन् । जिल्ला अदालत, काठमाडौंमा पनि पीडित भनिएकी महिलाले बलात्कार नभएको दाबी गरेकी थिइन् ।

तर, उपलब्ध प्रमाणका आधारमा महरालाई कसूरदार होइनन् भनी मान्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । त्यसयता उनी डिल्लीबजार कारागारमा सजाय भुक्तान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment