+
+
Shares

वुहान पुगेर फर्किएको जहाज पनि क्वारेन्टाइनमा !

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते २०:३३

४ फागुन, काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपालीहरुलाई काठमाडौंसम्म ल्याउने जिम्मेवारी नेपाल एयरलाइन्सले पाएको थियो । तर एयरलाइन्सको जिम्मेवारीमा जहाज र क्रु मेम्बरको व्यवस्थापन मात्र थियो ।

जहाजलाई सुरक्षित बनाउने, चीनमा रहेका नेपालीलाई जहाजसम्म राख्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेपछि जहाजमा आएका नेपालीलाई विमानस्थलबाट खरिपाटीसम्म लैजाने व्यवस्थापनको सम्पूर्ण जिम्मा भने नेपाली सेनाले लिएको थियो ।

सेनाले चिकित्सकहरुको सल्लाहमा यस्तो व्यवस्थापन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए । ‘सबै उडान अवतरण सम्पन्न भइसकेका कारण विमानस्थल खाली थियो, सबै व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको थियो’ उनले भने ‘आइतबार बिहान नियमित रुपमा विमानस्थल नखुल्दै करीव २ घण्टामा सबै यात्रुलाई बसमा राखेर खरिपाटीको क्वारेन्टाइनमा लैजाने काम भयो ।’

४८ घण्टासम्म जहाज पनि क्वारेन्टाइनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनले वुहानबाट नेपालीहरुलाई लिएर आएको जहाजलाई ‘रिमोर्ट पार्किङ वे’मा राखेको छ । यो पार्किङ वे आपतकालीन अवस्थामा प्रयोग गर्न बनाइएको हो ।

खासगरी विमान अपहरणमा परेको बेला आपतकालीन अवतरण गर्न तथा सरुवा रोगका बिरामी बोकेको जहाजलाई अन्य जहाज र यात्रुभन्दा टाढा राख्नुपर्ने अन्तर्राष्ट्रिय प्रावधान अनुसार गत वर्ष मात्र यो पार्किङ वे बनाइएको हो । यहाँ नेपाल एयरलाइन्सको जहाज ४८ घण्टासम्म रहनेछ ।

अधिकारीहरुकाअनुसार वुहान उड्नुअघि वाइडबडी जहाजका हरेक सीटलाई ‘र्‍याप’ गरेर सुरक्षित बनाइएको थियो । चिकित्सकको निगरानी तथा पर्यटन तथा स्वास्थ्य मन्त्रालयका अधिकारीको उपस्थितिमा जहाजलाई सुरक्षित पारिएको थियो । जहाज अवतरण भइसकेपछि चिकित्सकहरुले नै जहाजमा गर्नुपर्ने आवश्यक प्रक्रिया पुरा गरेका थिए ।

त्यसपछि जहाजका सीट ‘र्‍याप’ गरेको वस्तुसहित प्रयोग भएका सबै बाह्य वस्तुहरु नष्ट गर्ने काम नेपाली सेनाले गरेको छ । यो जहाज ४८ घण्टाको क्वारेन्टाइन अवधि पुरा भइसकेपछि नियमित उडानमा जानेछ ।

२४ सै घण्टा चल्यो त्रिभुवन विमानस्थल

दैनिक २१ घण्टा संचालनमा रहेको त्रिभुवन विमानस्थल आइतबार भने २४ सै घण्टा खुला रह्यो । शनिबार राति निर्धारित सबै उडान–अवतरण सम्पन्न भइसकेपछि वाइडबडी जहाज काठमाडौं अवतरण गरेको थियो ।

बिहान काठमाडौंबाट हुने उडान–अवतरण प्रारम्भ नहुँदै वाइडबडीबाट यात्रु खरिपाटी लैजाने प्रक्रिया सकिएको विमानस्थलका महाप्रवन्धक केसीले जानकारी दिए । ‘बाहिर अफवाह फैलियो, विमानस्थल बन्द छ,’ उनले भने, ‘तर विमानस्थल २४ सै घण्टा खुला थियो, सेड्यूल फ्लाइट एउटा पनि रद्द वा डाइभर्ट नगरी यो काम सम्पन्न भयो ।’

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?