Comments Add Comment

कश्मीर मुद्दामा राष्ट्रसंघको प्रस्ताव भारतद्वारा अस्वीकार

५ फागुन, काठमाडौं । पाकिस्तान भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले भारत र पाकिस्तानलाई संयम हुन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव बनेपछि पहिलोपटक पाकिस्तान आएका उनले दुई देशबीचको तनाव कम गर्न राष्ट्रसंघले कदम चालेको दाबीसमेत गरे ।

महासचिव गुटरेसले आइतबार इस्लामावादमा पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीसँग संयुक्त पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा उनले कश्मीरलाई लिएर पाकिस्तान र भारतबीच बढेको तनावप्रति चिन्ता व्यक्त गरे ।

‘हामीले दुवै देशबीच वार्ता गराउन प्रस्ताव राखेका छौं । यो त्यतिबेला मात्र सम्भव हुन्छ, जतिबेला दुवै देश तयार हुँदैनन्,’ गुटरेसले भने, ‘शान्ति र स्थिरता वार्ताबाट मात्र आउँछ ।’

उनले पाकिस्तान र भारत दुवैलाई संयम बन्न सुझाव दिँदै वार्ताका लागि मध्यस्थता गर्न तयार रहेको बताए । राजनीतिक सम्वादमार्फत शान्ति र स्थिरता ल्याउनका लागि राष्ट्रसंघ पहल गर्न तयार रहेको बताउँदै उनले भने, ‘तर, दुवै देश यसका लागि सहमत हुनुपर्छ ।’

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको भनाइलाई भारतले भने नकारेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रबीश कुमारले भनेका छन्, ‘भारतको अडान पहिलेको जस्तै छ । यसमा कुनै परिवर्तन भएको छैन । जम्मु–कश्मीर भारतको अभिन्न अंग हो, थियो र रहने छ ।’

उनले भने, ‘आवश्यकता त त्यो कश्मीरबारे कुरा गर्नुछ, जसलाई पाकिस्तानले जबरजस्ती कब्जा गरेको छ । अन्य कुनै मुद्दा हो भने द्विपक्षीय वार्ता हुन्छ र यसमा कसैको मध्यस्थता आवश्यक पर्दैन ।’

पाकिस्तानको सीमापारिबाट भारतमा आतंकवाद फैलाउने काम भइरहेको भन्दै उनले त्यसलाई रोक्नका लागि राष्ट्रसंघले पाकिस्तानलाई दबाब दिने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment