Comments Add Comment

भारतीय लिग खेलेर सावित्रा स्वदेश फर्किइन्

काठमाडौं । भारतमा सम्पन्न इन्डियन वुमन्स लिग (आईडब्लुएल) खेलेर नेपाली महिला फुटबलरद्वय सावित्रा भण्डारी र अनिता बस्नेत स्वेदश फर्किएका छन् ।

सावित्राको टिम गोकुलम केरला एफसीले चौथो संस्करणको उपाधि जित्दा अनिता बस्नेत सम्मलित टिम सेथु एफसी सेमिफाइनलबाटै बाहिरिएको थियो ।

गत वर्ष सावित्रा र अनिता दुवैले सेथुबाट खेल्दै उपाधि जितेका थिए । सावित्राले गत सिजन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । यस सिजन नयाँ टिम गोकुलममा गएपनि उनले उक्त लय कायम राख्दै गोकुलमलाई उपाधि जिताउन सफल भइन् ।

यस पटक गोकुलम छनोट चरण खेलेर लिगमा पुगेको थियो । सावित्राले छनोटमा २ गोल गरिन् । त्यसपछि लिगमा सर्वाधिक १६ गोल गरिन् । जसमा दुई ह्याट्रिक समेत थियो । बैंगलुरस्थित बैंगलोर फुटबल स्टेडियममा भएको फाइनलमा गोकुलमले क्रिस्पालाई ३-२ ले पराजित गर्दा सावित्राले निर्णायक गोल समेत गरेकी थिइन् ।

अनिताले भने लगातार दोस्रो सिजन सेथु एफसीबाटै खेलिन । सावित्राकै टिमसंग पराजित भएपछि अनिताको यात्रा सेमिफाइनलबाट अगाडि बढ्न सकेन ।

सावित्रा र अनितासँगै महिला टिमका पूर्व प्रशिक्षक हरी खड्कापनि स्वदेश फर्किएका छन् । उनी फाइनल खेल हेर्न भारत गएका थिए ।

सावित्रा, अनिता र हरी खड्कालाई एन्फा महिला कमिटिका अध्यक्ष पेमा लामा लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment