Comments Add Comment

काठमाडौंमा गरिँदैछ विजुलीको तार भूमिगत (भिडियोसहित)

५ फागुन, काठमाडौं । काठमाडौंका अधिकांश विद्युतका पोलमा थाम्नै नसक्ने तारको गुजुल्टो र दूरसञ्चार उपकरणहरु छन् । यसले शहरलाई कुरुप मात्रै बनाएको छैन, संघीय राजधानी नै विद्युतीय धरापमा परेको छ ।

त्यस्तो अवस्था हटाउन भन्दै सोमबारदेखि सरकारले तार भूमिगत गर्ने कामको थालनी गरेको छ ।

नेपाल विद्युत प्राधिरकरणले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा काठमाडौंमा तार भूमिगत गर्न सुरु गरेको हो, जसको महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् ।

प्राधिकरणको रत्नपार्क र महाराजगञ्ज विद्युत वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा हुन लागेको यो कामलाई पहिलो चरणको आयोजना भनिएको छ । एक वर्षभित्र काठमाडौंको बाँकी क्षेत्र समेट्ने गरी तार भूमिगत गर्न ठेक्का लगाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

पहिलो चरणको काम २०२१ अक्टोबरसम्म सक्ने गरी भारतको केईआई कम्पनीसँग ठेक्का सम्झौता भएको छ । पहिलो चरणमा तोकिएका क्षेत्रमा तार बिछ्याउन ७ अर्ब खर्च गरिँदैछ ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत बालुवाटार, बुढानीलकण्ठ, टोखा, गोंगबू, महाराजगञ्ज लगायतका क्षेत्रमा तार भूमिगत गरिनेछ । रत्नपार्क वितरण केन्द्र अन्तर्गतका रत्नपार्क, न्यूरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चावहिल, जोरपाटी क्षेत्रका तार पनि जमिनमुनि बिछ्याइनेछ ।

आयोजना अन्तर्गत ११ हजार भोल्टेजको करिब ४५० किलोमिटर र ४०० भोल्टेजको करिब ८०० किलोमिटर तार भूमिगत गरिनेछ । यसै क्षेत्रमा करिब ४५० किलोमिटर अप्टिकल फाइबर भूमिगत बिछ्याइनेछ ।

दोश्रो चरणअन्तर्गत काठमाडौंका बाँकी भाग, ललितपुर र भक्तपुरका मुख्य–मुख्य सडकमा तार भूमिगत गरिने कार्यकारी निर्देशक घिसिङले बताए ।

उनका अनुसार, पोखरा, भरतपुर लगायतका मुख्य शहरहरुमा समेत आयोजना विस्तार गर्न सर्भे भइरहेको छ । वितरण प्रणालीलाई स्वचालित बनाउन फिल्ड रिमोर्ट टर्मिनल युनिट पनि जोडिदैछ । त्यसलाई नियन्त्रण गर्न स्युचाटारमा वितरण नियन्त्रण कक्ष पनि बनाइनेछ ।

नयाँ प्रविधि प्रयोग हुँदै

तार भूमिगत गर्न र त्यसक्रममा भत्किने सडक पुनर्स्थापना गर्ने प्राधिकरणले सडक विभागसँग समझदारी गरेको छ । यो काम गर्दा सकेसम्म सडक कम भत्काउन प्रयास हुने प्राधिकरणले बताएको छ । त्यसकै लागि पहिलोपटक सडकमा न्युन क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गरिएको छ ।

सडक खन्दा सर्वसाधारणले धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइएको प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले बताए ।

उनकाअनुसार यो प्रविधि अपनाउँदा सय मिटरसम्मको दूरीमा दुई खाल्डा खनेर बीचमा तार राख्ने पाइप हालिन्छ । यसप्रकार तार बिछ्याइने सडकहरुमा कम्तीमा सय मिटरको दूरीमा २–२ लम्बाइ र चौडाइको खाल्डोहरु खन्नुपर्ने हुन्छ । बीचमा लाइनहरु निकाल्न पनि स–साना खाल्डा खन्नुपर्छ । एक भागबाट मेसिनले पाइप घचेट्दै २०० मिटर पर निकाल्छ । तारलाई पनि त्यसैगरी पाइपभित्र तानिन्छ ।

सडकमा तार बिछ्याउनुअघि गरिने जीपीएस एक्स–रेले जमिनभित्र पानीका पाइप, ढल, टेलिफोनका तार भए/नभएको देखाउँछ । र, त्यसमा क्षति नपुग्ने गरी तार बिछ्याइने सिलवालले बताए ।

उनका अनुसार, घुमाउरो भाग र मोडहरुमा भने सडक खन्नुपर्नेछ ।

१० दिनभित्र सडक दुरुस्तै !

सडक विभागका महानिर्देशक केशवकुमार शर्मा प्राधिकरणलाई एकैपटक सबैतिर सडक प्रगोग गर्न अनुमति नदिइएको उनी बताउँछन् । क्रमैसँग कामको प्रगति हेरेर थप अनुमति दिने उनको भनाइ छ ।उनले भने, ‘खाल्डा पारिने स्थानमा धुलो उडाउन नदिन रबर म्याटले छोप्नुपर्ने, व्यवस्थित ढंगले काम गर्नुपर्ने गरी समझदारी गरेका छौं ।’

बल्ल काठमाडौंको सडकको खाल्डा पुर्ने काममा प्रगति भएको भन्दै उनले फेरि तार भूमिगत गर्ने नाममा सबैतिर एकैपटक सडक धुलाम्य/हिलाम्य हुन नदिन विभाग सचेत रहेको बताए ।

यो परियोजना अन्तर्गत तार बिछ्याएर विजुलीका पोलहरु हटाइनेछ । प्राधिकरणले अहिले नै इन्टरनेट सेवा प्रदायकका लागि ठूलो क्षमताको अप्टिकल फाइबर पनि सडकमुनि बिछ्याइँदैछ ।

तार भूमिगत हुँदाको लाभ

यो प्रणाली जडान भएपछि विद्युत वितरणको काम अझ बढी प्रभावकारी र सुरक्षित हुने अपेक्षा छ । अहिले पोलहरुमा झुन्डिएका विजुली, टेलिभिजन, टेलिफोन र इन्टरनेटका तारको गुजुल्टोले शहरलाई जति अशोभनीय देखाएको छ, त्योभन्दा बढी दुर्घटनाको जोखिम बढाएको छ ।

तार भूमिगत हुँदा आगलागीलगायतका दुर्घटनाको जोखिम कम हुनको साथै शहरी सौन्दर्यमा टेवा पुग्छ ।

तार भूमिगत गरिएसँगै दुईवटा वितरण केन्द्र अन्तर्गतका ग्राहकका घरबाट स्मार्ट मिटर जडान थाल्ने प्राविधिकरणको योजना छ । त्यसबाट बेला–बेला लाइन जाने समस्या नहुने कार्यकारी निर्देशक घिसिङ बताउँछन् ।

उनका अनुसार, काठमाडौंभित्रको वितरण प्रणालीमा बढ्दो विद्युत माग धान्न ओभरहेड लाइनबाट अब सम्भव हुँदैन । घिसिङ भन्छन्, ‘भूमिगत लाइन निर्विकल्प भइसक्यो ।’

हेर्नुहोस् भिडियो

तस्वीर र भिडियो : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment