Comments Add Comment

चौथो निर्वाचन दिवसको अवसरमा मतदाता शिक्षा अभियान

६ फागुन, काठमाडौं । निर्वाचन आयोगले ‘लोकतन्त्रको सवलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने नाराका साथ मतदाता शिक्षा अभियान प्रारम्भ गरेको छ ।

आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र आफूले इच्छाएको उम्मेदवारलाई मत दिन सक्षम बनाउने उद्देश्यले चौथो निर्वाचन दिवसका अवसरमा अभियान सुरु गरिएको हो ।

आयोगले मंगलबार निर्वाचन शिक्षा सम्बन्धी स्रोत पुस्तिका समेत सार्वजनिक गरेको छ । युएनडिपी इएसपीको सहयोगमा १७ प्रकारका निर्वाचन शिक्षा सम्बन्धी पुस्तिका सार्वजनिक गरिएको हो ।

समुदायमा आधारित संघ—संस्था मार्फत निर्वाचन तथा मतदाता शिक्षालाई अगाडि बढाउन पहिलो तहका लागि रातो रंगमा मतदान, मतदाता नामावली, लोकतन्त्र, समावेदशीता र निर्वाचन गरी पाँच वटा पुस्तक प्रकाशन गरिएको छ ।

त्यसैगरी दोस्रो तहका लागि प्याजी रंगमा ६ वटा पुस्तक प्रकाशन गरिएको छ । निर्वाचनको महत्व, मतदानको महत्व, मतदाता नामावलीमा नाम दर्ता, निर्वाचन र राजनीतिक दल, समावेशी निर्वाचन, परिवर्तन र निर्वाचन सम्बन्धी संवैधानिक व्यवस्था शीर्षकमा पुस्तक प्रकाशित गरिएको छ ।

यस्तै तेस्रो तहमा निलो रंगमा ६ वटा पुस्तकहरु निर्वाचन विवाद र विवाद निरुपण, निर्वाचन र सामुदायिक संस्थाको भूमिका, नेपालको निर्वाचन प्रणाली, निर्वाचन र निर्वाचन चक्र, लोकतन्त्रका लागि निर्वाचन र समावेशीकरण शीर्षकका पुस्तिका प्रकाशन गरिएको छ ।

प्रकाशित पुस्तिकाहरुले निर्वाचन र नागरिक शिक्षामा क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । निर्वाचन शिक्षा र निर्वाचनको महत्व आम नागरिकलाई बुझाउन नसकिएको भन्दै आलोचना भइरहेका बेला पुस्तिकाहरु प्रकाशित गरिएको उनले बताए ।

आयोगले निर्वाचन र मतदाता सम्बन्धी विषयमा जानकारी गराउन र आफ्नो मताधिकार र मतको महत्व बोध गराई निर्वाचनमा आफ्नो सहभागिता जनाउन ‘एक भोट’ नामक लघु चलचित्रको निर्माण गरी प्रशर्दन पनि थालेको छ । लघु चलचित्रले निर्वाचनका समयमा हुनसक्ने अवाञ्छित कृयाकलापहरुबाट निर्वाचनलाई के कसरी प्रभावित गर्न सक्दछ र त्यसबाट सजग र सचेत कसरी रहने भन्ने सन्देश प्रदान गर्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment